ओम प्रकाश यादव लहान, ३ मंसिर । सप्तरीको खडक नगरपालिकाका बासिन्दाले विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.मा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। नगरवासीलाई सहज, सुलभ र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खडक नगरपालिका र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको हो।
सम्झौतामा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरी र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार खडक नगरपालिकाका सबै बासिन्दाले अस्पतालबाट प्राप्त गर्ने विभिन्न स्वास्थ्य सेवामा वर्षभरि विशेष छुट पाउनेछन्। जसअनुसार प्याथोलोजी, रेडियोलोजी तथा अन्य जाँचमा १५ प्रतिशत, सामान्य बेड शुल्कमा १० प्रतिशत छुट उपलब्ध हुनेछ। त्यसैगरी एमआरआई, सीटी स्क्यान तथा एन्जियोग्राफीमा ५ प्रतिशत, शल्यक्रियामा ५ प्रतिशत तथा आईसीयू र भेन्टिलेटर सेवामा ५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
सम्झौतामा अस्पतालले शनिबार विभिन्न जाँचमा दिँदै आएको ५० प्रतिशत छुटलाई समेत निरन्तरता दिने उल्लेख छ। तर सामाजिक सुरक्षा कोष, विपन्न नागरिक स्वास्थ्य सुविधा, स्वास्थ्य बीमा तथा तेस्रो पक्ष भुक्तानीमार्फत हुने सेवामा भने सम्झौताअनुसारको छुट लागू नहुने स्पष्ट पारिएको छ। यसैगरी खडक नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले नगरवासीलाई उपलब्ध गराइने छुटबाहेक थप ५ प्रतिशत छुट प्राप्त गर्नेछन्। यस व्यवस्थाले नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिलाई समेत स्वास्थ्य उपचारमा आर्थिक सहुलियत पुग्ने अपेक्षा गरिएको छ।
सम्झौतामा नगरपालिकाको अनुरोधमा अस्पतालले वर्षमा कम्तीमा एकपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यवस्था पनि समेटिएको छ। यसबाट नगरपालिकाका विभिन्न वडाका नागरिकलाई स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ। त्यस्तै, अस्पतालले सञ्चालन गर्ने स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्देश तथा कार्यक्रमलाई नगरपालिकाले आफ्नो क्षेत्रभित्र प्रवर्द्धन र प्रचारप्रसारमा सहयोग गर्नेछ। अस्पतालका सचेतनामूलक सन्देश प्रसारण तथा प्रचारप्रसारका लागि नगरपालिकाले विज्ञापन करमा छुट दिने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ।
सम्झौताअनुसार दुवै पक्षबीच भएको सहकार्यको अवधि दुई वर्ष रहनेछ। यस अवधिभर अस्पतालले सम्झौतामा उल्लेख गरिएका सर्तअनुसार खडक नगरपालिकाका बासिन्दालाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउनेछ। नगर प्रमुख जय प्रकाश चौधरीको पहलमा भएको यस सम्झौताले नगरपालिकाभित्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न आर्थिक रूपमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी जटिल रोगको परीक्षण, शल्यक्रिया, एमआरआई, सीटी स्क्यान तथा आईसीयूजस्ता महँगा स्वास्थ्य सेवामा छुट उपलब्ध हुने भएपछि आर्थिक भार कम गर्न मद्दत पुग्ने देखिन्छ।
स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीच भएको यो सहकार्यले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै स्वास्थ्य उपचारलाई थप सहज र किफायती बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved