रहमुल, लहान, २८ कार्तिक । सिरहाको भगवानपुर गाउँपालिका–स्थित प्राथमिक उपचार केन्द्र (भवानपुर अस्पताल) को सभाहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भगवानपुर गाउँपालिका समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
सिरहा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय बब्लु गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्रभरिका पार्टीका नेता, कार्यकर्ता, युवा तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको विशेष पक्ष पछिल्लो समय सांसद गुप्ताले सार्वजनिक बिदा तथा फुर्सदको समयलाई सदुपयोग गर्दै आफ्नो निर्वाचन क्षेत्रका गाउँ, टोल र बस्तीमा पुगेर आम नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आउनुभएको देखिएको छ। उहाँले जनतासँग भेटघाट गर्दै पार्टीका नीति, सिद्धान्त, उद्देश्य तथा आफूले गरेका कामबारे जानकारी गराउनुका साथै स्थानीय नागरिकका समस्या, अपेक्षा, सुझाव र गुनासोसमेत सुन्ने प्रयास गरिरहनुभएको छ।
सांसद गुप्ताको पछिल्लो सक्रियताले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउन तथा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। राजनीति केवल चुनावका बेला मत माग्ने माध्यम नभई जनताको सुखदुःखमा साथ दिने, उनीहरूको आवाज संसद् तथा सम्बन्धित निकायसम्म पुर्याउने र विकास निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्ने माध्यम हुनुपर्ने सन्देशसमेत यस प्रकारका कार्यक्रमले दिएको छ।
त्यसैगरी, पार्टी संगठन विस्तार र युवा सहभागिताका दृष्टिले पनि कार्यक्रम उत्साहजनक देखिएको थियो। कार्यक्रममा सहभागीमध्ये उल्लेख्य संख्यामा शिक्षित, ऊर्जाशील, सक्षम तथा सम्भावना बोकेका युवाहरूको उपस्थिति देखिनुले राजनीतिमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको संकेत गरेको छ। युवा वक्ताहरूले आफ्नो धारणा राख्दै देशमा सुशासन, पारदर्शिता, जवाफदेहिता र राजनीतिक सुधारको आवश्यकता औँल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य उद्देश्य परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले देशमा सुशासन कायम गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु, सार्वजनिक सेवामा सुधार ल्याउनु, योग्य र सक्षम नेतृत्वलाई प्रोत्साहन गर्नु तथा नागरिकलाई राज्यप्रति जिम्मेवार र विश्वासिलो अनुभूति गराउनु हो।
साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास र समान अवसरको सुनिश्चिततामार्फत समुन्नत तथा समृद्ध राष्ट्र निर्माण गर्ने पार्टीको घोषित राजनीतिक उद्देश्य रहेको छ। कार्यक्रममा सहभागी वक्ताहरूले जनताले परिवर्तनको अपेक्षासहित घण्टी चुनाव चिह्नमा मतदान गरेको उल्लेख गर्दै जनताको विश्वासलाई व्यवहारमा उतार्नु पार्टी नेतृत्व तथा कार्यकर्ताहरूको प्रमुख जिम्मेवारी भएको धारणा राखेका थिए। निर्वाचनका बेला जनताले देखाएको विश्वासलाई कायम राख्न पार्टीभित्र अनुशासन, एकता, पारदर्शिता र जिम्मेवारीबोध आवश्यक रहेको उनीहरूको भनाइ थियो।
पछिल्लो समय केही नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधिका कारण पार्टीप्रति आशा र भरोसा राखेका कतिपय मतदातामा असन्तुष्टि देखिन सक्ने अवस्थाप्रति पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइएको छ। जनताको मत केवल राजनीतिक शक्ति प्राप्त गर्ने माध्यम नभई जनताप्रतिको जिम्मेवारी र विश्वासको प्रतीक भएकाले त्यसको सम्मान गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिकाबाट सहभागी युवा नेता पिन्टु यादव, रमेश यादव, दिपेश यादव, गंगा प्रसाद यादव, योगेन्द्र झा, उमेश यादव, परवीन यादव लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। साथै भगवानपुर गाउँपालिका सहित निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका विभिन्न स्थानबाट आएका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रमका विभिन्न वक्ताहरूले सिरहा क्षेत्र नं. १ को समग्र विकास, जनताको आधारभूत आवश्यकता सम्बोधन, पार्टी संगठनलाई थप सुदृढ बनाउने, योग्य तथा इमानदार युवाहरूलाई राजनीतिमा अवसर दिने र पार्टीभित्र आवश्यक सुधार तथा शुद्धीकरण अभियानलाई प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले पार्टी बलियो बनाउने आधार केवल सदस्य संख्या र राजनीतिक गतिविधि मात्र नभई जनताको विश्वास, इमानदार कार्यशैली, सकारात्मक व्यवहार र जनमुखी काम भएको उल्लेख गरेका थिए। समग्रमा, भगवानपुरमा सम्पन्न शुभकामना आदान–प्रदान कार्यक्रमले आपसी सद्भाव, संगठनात्मक एकता, युवा सहभागिता र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने सन्देश दिएको छ। अब पार्टीले जनतामाझ व्यक्त गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सुशासन, विकास र राजनीतिक शुद्धीकरणको अभियानलाई कति प्रभावकारी रूपमा अघि बढाउँछ भन्ने विषय नै आगामी दिनमा जनताको विश्वास कायम राख्ने मुख्य आधार बन्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved