ताजा समाचार

लहानको विरनगर मुसहर बस्तीमा शौचालयको चरम अभाव, ३५ घरधुरीमध्ये एउटामा मात्रै निजी चर्पी

  • कार्तिक २९, २०८३
  • ४४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २८ कात्तिक । सिरहाको लहान नगरपालिका–१५ ढोढना विरनगरस्थित मुसहर बस्तीका स्थानीय अझै पनि आधारभूत सरसफाइ सुविधाबाट वञ्चित छन्। बस्तीमा करिब ३५ घरधुरी मुसहर समुदायको बसोबास रहे पनि एउटा घरमा मात्रै निजी शौचालय रहेको छ। आर्थिक अभाव, बेरोजगारी र खानेपानीको समस्याका कारण अधिकांश परिवार खुला ठाउँमा दिसापिसाब गर्न बाध्य छन्।

'श्रीमान् दैनिक ज्यालादारी काम गर्न जानुहुन्छ, चार–पाँच सय रुपैयाँ कमाएर ल्याउनुहुन्छ। त्यो पनि कहिले काम पाइन्छ, कहिले पाइँदैन। पाँच जनाको परिवार छ। एक जनाको कमाइले पेट पाल्नै पुग्दैन, चर्पी कसरी बनाउनु ? भगवान् भरोसामा हाम्रो जीवन चलिरहेको छ,' स्थानीय कौशलिया सदायले आफ्नो बाध्यता सुनाउँदै भनिन्।उनका अनुसार दैनिक गुजारा चलाउनै कठिन भइरहेका बेला शौचालय निर्माणका लागि आवश्यक रकम जुटाउनु परिवारका लागि सम्भव भएको छैन। शौचालय बनाउने इच्छा भए पनि आर्थिक अवस्थाका कारण खुला ठाउँमै दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

बस्तीमा शौचालयको मात्रै नभई खानेपानीको समस्या पनि उत्तिकै गम्भीर छ। करिब ३५ घरधुरीका लागि एउटा मात्रै चापाकल रहेकाले स्थानीयले दैनिक पानीको जोहो गर्नसमेत कठिनाइ भोगिरहेका छन्। पर्याप्त खानेपानीको अभावले सरसफाइ र स्वास्थ्यमा समेत असर परिरहेको स्थानीयको भनाइ छ।स्थानीय सोनी सदायका अनुसार बस्तीका मुख्य समस्या खानेपानी, रोजगारी र जग्गाको लालपुर्जासँग सम्बन्धित छन्। आधारभूत आवश्यकता पूरा गर्नै कठिन भइरहेको अवस्थामा शौचालय निर्माणका लागि रकम जुटाउनु निकै चुनौतीपूर्ण बनेको उनले बताइन्।

'हामीलाई खानेपानी, रोजगारी र लालपुर्जाको समस्या छ। यस्तो अवस्थामा चर्पी बनाउन पैसा कहाँबाट ल्याउनु ? नगरपालिकाले रिङ, प्यानलगायत सामग्री सहयोग गर्ने कुरा गरिरहेको छ। सामग्री पाए आफ्नै श्रम लगाएर भए पनि चर्पी बनाउँछु,' उनले भनिन्, 'हामीलाई पनि चर्पी प्रयोग गर्ने इच्छा छ।'शौचालयको अभावले बस्तीका महिला तथा बालबालिका बढी जोखिममा परेका छन्। स्थानीय जिरादेवी सदायका अनुसार खुला ठाउँमा दिसापिसाब गर्न जाँदा सर्प तथा अन्य जनावरको डर रहने गरेको छ। बालबालिकालाई दिसापिसाबका लागि सुरक्षित स्थान खोज्नुपर्ने र बाटोमा कुकुरले लखेट्नेसम्मका समस्या भोग्नुपरेको उनले बताइन्।

खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यताले विभिन्न रोग तथा संक्रमणको जोखिमसमेत बढाएको स्थानीयको गुनासो छ। विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई शौचालय नहुँदा दैनिक जीवनयापनमा कठिनाइ भइरहेको छ। व्यक्तिगत गोपनीयता, सुरक्षा र सम्मानसँग जोडिएको शौचालयको अभावले उनीहरूको जीवन थप कष्टकर बनेको छ।यता लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले आर्थिक अवस्था कमजोर भएका विपन्न तथा मुसहर समुदायका अति विपन्न परिवारलाई शौचालय निर्माणमा सहयोग गर्दै आएको बताएका छन्। अझै पनि शौचालय निर्माण गर्न नसकेका बस्तीको अवस्था पहिचान गरी आवश्यक सामग्री उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए।

उनका अनुसार शौचालय निर्माणका लागि आवश्यक सामग्री व्यवस्थापन गरी विपन्न परिवारलाई आफ्नै श्रम लगाएर चर्पी निर्माण गर्न प्रोत्साहित गरिनेछ। यसबाट आर्थिक रूपमा कमजोर परिवारलाई शौचालय निर्माणमा सहज हुने नगरपालिकाको अपेक्षा छ।लहान नगरपालिकाले खुला दिसामुक्त अवस्थालाई व्यवहारमै स्थापित गर्न शौचालय निर्माणसँगै त्यसको नियमित प्रयोग गर्ने बानीको विकासमा समेत ध्यान दिनुपर्ने देखिन्छ। तर विरनगरजस्ता बस्तीमा आर्थिक विपन्नता, खानेपानीको अभाव र जग्गासम्बन्धी समस्यालाई सम्बोधन नगरी सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चुनौतीपूर्ण देखिन्छ।

स्थानीयको भनाइअनुसार उनीहरू शौचालय निर्माण गर्न इच्छुक छन्, तर आर्थिक स्रोत र आवश्यक सामग्रीको अभावमा समस्या भोगिरहेका छन्। त्यसैले नगरपालिकाले गरेको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै आवश्यक रिङ, प्यानलगायत सामग्री बस्तीमै पुर्यागउनु आवश्यक छ। शौचालय निर्माणसँगै खानेपानीको सहज व्यवस्था, रोजगारीका अवसर र जग्गासम्बन्धी समस्याको समाधानतर्फ पनि सम्बन्धित निकायले ध्यान दिन सके मात्रै विरनगरका मुसहर समुदायको सरसफाइ, स्वास्थ्य र जीवनस्तरमा सुधार आउने अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा रास्वपाको ...

रहमुल, लहान, २८ कार्तिक । सिरहाको भगवानपुर गाउँपालिका–स्थित प्राथमिक उपचार केन्द्र (भवानपुर अस ...

लहान नगरपालिकाद्वारा ...

लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकाले आर्थिक रूपमा विपन्न परिवारका छठ व्रतालु महिलाहरूलाई लक्ष ...

जसपा नेपाल लहान–२३ द ...

शियाराम यादव,लहान कार्तिक २६।  जनता समाजवादी पार्टी (जसपा) नेपाल वडा इकाई कमिटी लहान–२३ क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤