ताजा समाचार

वडा अध्यक्षले लिए ६ डोम बालबालिकाको शिक्षाको जिम्मेवारी

  • कार्तिक २३, २०८३
  • ३५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कान्तिबजार/ महोत्तरी, २२ कार्तिक । महोत्तरीको गौशाला नगरपालिका-१२ लाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना तथा अनिवार्य र निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएको वडा घोषणा गरिएको छ। घोषणा कार्यक्रमकै अवसरमा वडा अध्यक्ष कुशेश्वर सिंहले विद्यालय शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका डोम समुदायका ६ जना बालबालिकालाई उच्च माध्यमिक तहसम्म पढाउने जिम्मेवारी लिएका छन् ।

वडा अध्यक्ष सिंहले गौशाला नगरपालिका-१२, पडरिया प्रतिटोलमा करिब ६८ वर्षीया सावित्री मल्लिकले पालनपोषण गर्दै आएका उनका नाति नातिना रितेश मल्लिक (३), काजल मल्लिक (११), मधु मल्लिक (५), मनिका मल्लिक (४), दीपक मल्लिक (३) र अनुष्का मल्लिक (९) को शिक्षाको सम्पूर्ण खर्च व्यक्तिगत रूपमा व्यहोर्ने सार्वजनिक घोषणा गरेका हुन् । 

आर्थिक अभाव तथा पारिवारिक अवस्थाका कारण विद्यालय शिक्षाबाट वञ्चित हुन सक्ने अवस्थाका बालबालिकाको जिम्मेवारी स्थानीय जनप्रतिनिधिले नै लिनुलाई कार्यक्रममा सहभागीहरूले सकारात्मक र अनुकरणीय कदमका रूपमा लिएका थिए । गौशाला नगरपालिका-१२ का वडा अध्यक्ष सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख डा. दीपेन्द्र महतोले शतप्रतिशत बालबालिका विद्यालयमा ल्याउने अभियान बालमैत्री नगरपालिका निर्माणको महत्वपूर्ण आधार भएको बताए ।

नगरभित्र कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले रणनीतिक योजना बनाएर कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै नगर प्रमुख महतोले वडा अध्यक्ष सिंहले विपन्न डोम परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण गरेको कार्यको प्रशंसा गरे । “बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो,” कार्यक्रममा नगर प्रमुख महतोले भने, “विपन्न र असहाय बालबालिकाको शिक्षाको जिम्मेवारी लिनुभएको वडा अध्यक्षको पहल गौशाला नगरपालिकाका लागि गौरवको विषय हो ।”

वडा नम्बर १२ मा तीन वटा सामुदायिक विद्यालय रहेका छन् । वडाभरीको सेवाक्षेत्र भित्रका विद्यालयबाहिर रहेका बालबालिकाको अवस्थाबारे तथ्याङ्क संकलन, घरधुरी सर्वेक्षण, स्थलगत अनुगमन तथा समुदायसँग छलफल गरेपछि वडा घोषणा गरिएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN), बर्दिवासले विगत पाँच बर्षदेखि सञ्चालन गरिरहेको समुन्नति कार्यक्रम अन्तर्गत वडा कार्यालयको आयोजनामा वडा घोषणा गरिएको शिक्षा कार्यक्रम संयोजक राधेश्याम रामले जानकारी दिए ।

उनका अनुसार विद्यालयबाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी तयारी तथा अनुगमन समितिले वडाका सबै टोलमा पुगेर स्थलगत निरीक्षण, अनुगमन र समुदायसँग छलफल गरेको थियो । अनुगमनका क्रममा वडाका बालबालिकाहरू विद्यालयको पहुँचमा रहेको तथा विद्यालयबाहिर रहेका बालबालिकाको अवस्था नरहेको निष्कर्ष निकालिएको थियो । अनुगमन समितिका सदस्य-सचिव तथा वडा सचिव रामकुमार यादवले विद्यालय भर्ना मात्रै नभई बालबालिकालाई विद्यालयमा निरन्तर टिकाइराख्न नगर कार्यपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, सामुदायिक विकास तथा पैरबं मञ्च नेपाल बर्दिवास र १२ नम्बर वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

स्थानीय तहको तथ्याङ्क, स्थलगत अनुगमन तथा समुदायसँगको छलफलबाट प्राप्त निष्कर्षका आधारमा प्रचलित नीति तथा निर्देशिका अनुसार वडा घोषणा गरिएको यादवले जानकारी दिए । वडा घोषणा कार्यक्रममा सचिव रामकुमार यादवले घोषणा प्रतिवेदन प्रस्तुत गरे पश्चात नगरप्रमुख डा दीपेन्द्र महतोले शत्त प्रतिशत बालबालिका विद्यालय भर्ना भएको घोषणा गरेको जनाईएको । कार्यक्रममा पैरवी मञ्च नेपालका उपाध्यक्ष सोमबहादुर कार्कीले शतप्रतिशत बालबालिका विद्यालय भर्ना तथा अनिवार्य र निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गर्ने अभियानमा पैरवी मञ्च निरन्तर सहकार्य र सहयोगका लागि तयार रहेको बताए ।

वडा घोषणा कार्यक्रममा नगर प्रमुख महतोले वडा कार्यालयलाई सम्मानपत्र प्रदान गरेका थिए । बालबालिकाको शतप्रतिशत विद्यालय भर्ना तथा बालमैत्री नगरपालिका निर्माणमा योगदान पुर्‍याएको भन्दै साझेदार संस्था CDAFN, वडा कार्यालय तथा सम्बन्धित संस्था र सामाजिक अगुवा हरूलाई समेत प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

गौशाला-१२ लाई शिक्षा सुनिश्चित वडा घोषणा गरिनु स्थानीय तहको शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भए पनि अब विद्यालयमा भर्ना भएका बालबालिकाको नियमित उपस्थिति, सिकाइ उपलब्धि, विद्यालयमा निरन्तरता र माध्यमिक तहसम्मको शिक्षा पूरा गराउने विषयलाई योजना सहित प्राथमिकतामा राखिएको बताउनु भएको छ । वडा अध्यक्ष सिंहले ६ जना डोम बालबालिकाको उच्च शिक्षासम्मको जिम्मेवारी लिएको घोषणाले भने शिक्षा सबै बालबालिकाको अधिकार हो भन्ने सन्देशलाई थप बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानका मुसहर बस्तीमा ...

ओम प्रकाश यादव, लहान, २२ कात्तिक । वर्षौंदेखि खुला ठाउँमा दिसापिसाब गर्न बाध्य लहानका मुसहर बस्तीका ...

खडक नगरपालिकाबाटै सव ...

लहान, २२ कात्तिक । सप्तरीको खडक नगरपालिकाका नागरिकले अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ...

लहान क्षेत्रका विद्य ...

लहान, २१ कात्तिक । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नेपालले लहानका दुई विद्यालयमा अध्ययनरत दलित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤