रहमुल, लहान २० कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभा हलमा दलित बालबालिकाको शिक्षामा पहुँच विस्तार तथा शैक्षिक अवसर सुनिश्चित गर्ने उद्देश्यले सहभागितामूलक योजना प्रक्रियासम्बन्धी समन्वयात्मक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लहान, सिरहाद्वारा सञ्चालित ‘नेपाल छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत आयोजित उक्त गोष्ठी स्थानीय सरकार तथा शैक्षिक सरोकारवालाबीच समन्वय, सहकार्य र साझा प्रतिबद्धता अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिएको हो। संस्थाका अध्यक्ष मोहन पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, अभिभावक, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गोष्ठीमा दलित तथा विपन्न समुदायका बालबालिकाले शिक्षामा भोग्दै आएका समस्या, विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः शिक्षाको मूलधारमा ल्याउने उपाय, छात्रवृत्तिको प्रभावकारी कार्यान्वयन तथा शिक्षामा समान पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले अतिविपन्न, गरिब तथा जेहेन्दार दलित समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। यस कार्यक्रमबाट आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विद्यार्थीहरू लाभान्वित हुँदै आएका छन्। विशेषगरी विद्यालय शिक्षाबाट बाहिर रहेका किशोरीहरूलाई पुनः शिक्षाको पहुँचमा ल्याउन कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइएको छ।
संस्थाका अध्यक्ष मोहन पासवानका अनुसार छात्रवृत्ति कार्यक्रमले आर्थिक अभावका कारण पढाइलाई निरन्तरता दिन नसक्ने जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउँदै आएको छ। शिक्षाबाट वञ्चित तथा अवसरको अभावमा रहेका दलित बालबालिका र किशोरीहरूलाई शिक्षाको मूलधारमा ल्याउनु संस्थाको प्रमुख प्राथमिकता रहेको उहाँले बताउनुभयो। कार्यक्रममा स्थानीय सरकार, विद्यालय, अभिभावक तथा अन्य शैक्षिक सरोकारवालाबीच प्रभावकारी समन्वय कायम गरी लक्षित समुदायका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। साथै, छात्रवृत्ति कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको विषयमा जोड दिइएको थियो।
दलित तथा विपन्न समुदायका बालबालिकालाई शिक्षाको समान अवसर उपलब्ध गराउँदै उनीहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यले सञ्चालित यस कार्यक्रमले स्थानीय तहमा शैक्षिक पहुँच विस्तार गर्न सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। उक्त कार्यक्रम Save the Children र NADSWO को सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, लहान, सिरहाद्वारा आयोजना गरिएको हो।
प्रतिक्रिया दिनुहोस
दलित बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न स्थानीय सरकार र सरोकारवालाबीच अन्तरक्रिया गोष्ठी सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved