वीरगंज १६ कात्तिक । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं.–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले प्रेस चौतारी नेपाल पर्साका सदस्य एवं फेमस नेपाल सन्देश पत्रिकाका प्रकाशक शैलेश साह कानुलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिट गर्ने धम्की दिएको प्रति प्रेस चौतारी नेपाल पर्साको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रद्धारा सोमबार जारी विज्ञप्तीमा गत कातिक १३ गते शुक्रबारका दिन पोखरिया नगरपालिकाको ११औँ नगरसभाको खुला मञ्चबाट वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पोखरिया–४, सतवरिया स्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयको कर्मचारी नियुक्ति तथा व्यवस्थापन सम्बन्धी विषयमा समाचार प्रकाशन गरेको भन्दै पत्रकार शैलेश साह कानु माथि अपशब्द प्रयोग गर्दै कुटपिट गर्ने धम्की दिएकोमा घोर भत्र्सना गरिएको उल्लेख रहेको छ ।
पत्रकारले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु आफ्नो व्यावसायिक धर्म र संवैधानिक अधिकार हो । समाचार प्रति कुनै असहमति वा आपत्ति भए त्यसको खण्डन गर्ने, प्रमाणसहित आफ्नो धारणा सार्वजनिक गर्ने तथा कानुनी उपचार खोज्ने वैधानिक बाटाहरू हुँदाहुँदै सार्वजनिक कार्यक्रममै पत्रकारलाई अपशब्द प्रयोग गर्ने तथा कुटपिटको धम्की दिने कार्य प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मान्यता विपरीत रहेको हाम्रो ठहर रहेको विज्ञप्तीमा उल्लेख छ ।
प्रेस चौतारी नेपाल सम्बन्धित निकाय सँग घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, पत्रकार शैलेश साह कानुको सुरक्षाको प्रत्याभूति गर्न तथा दोषी माथि प्रचलित कानुन अनुसार आवश्यक कारबाही गर्न जोडदार रुपमा माग समेत गरिएको छ । प्रेस चौतारी पर्साले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्भीक र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न सबै जनप्रतिनिधि तथा सरोकारवालालाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved