ओम प्रकाश यादव, लहान, कात्तिक १६ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित आधारभूत अस्पतालमा आकस्मिक (इमर्जेन्सी) स्वास्थ्य सेवाको औपचारिक शुभारम्भ गरिएको छ। सोमबार एक विशेष समारोहका बीच नगर प्रमुख जय प्रकाश चौधरीले आकस्मिक सेवाको उद्घाटन गरेका हुन्। सेवा सञ्चालनमा आएसँगै खडक नगरपालिकाका स्थानीय बासिन्दालाई आकस्मिक स्वास्थ्य उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शक्ति शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर प्रमुख जय प्रकाश चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रममा अस्पताल प्रशासन शाखा प्रमुख तथा सिनियर अहेव सजनलाल साहलगायतको उपस्थिति रहेको थियो। अतिथिहरूलाई अस्पताल प्रशासन शाखा प्रमुख सजनलाल साह स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार ठाकुर अस्पतालकी नर्सिङ इन्चार्ज सि.अ.न.मि. रिता कुमारी ठाकुर, लेखा प्रमुख अहेव राजकुमार चौधरी, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक सञ्जीव भोग्टीलगायतको सहभागिता थियो।
त्यसैगरी वडा नं. २ का अध्यक्ष हरेराम मण्डल, वडा नं. ३ का अध्यक्ष देवनारायण चौधरी, वडा नं. ६ का अध्यक्ष मोहम्मद कलामउद्दिन, वडा नं. ७ का अध्यक्ष राकेश कुमार साह, वडा नं. ८ का अध्यक्ष बिन्दुलाल चौधरी, वडा नं. १० का अध्यक्ष राजेन्द्र प्रसाद चौधरी र वडा नं. ११ का अध्यक्ष रामकृष्ण चौधरीसहित कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अस्पतालका ल्याब शाखा प्रमुख विधानन्द चौधरीले गरेका थिए। आकस्मिक सेवा सञ्चालनमा आएसँगै अब खडक नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकले स्वास्थ्य समस्या देखिँदा नजिकैको आधारभूत अस्पतालबाट आकस्मिक उपचार सेवा लिन सक्नेछन्। यसअघि सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थाका बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाले स्थानीयलाई समय र आर्थिक दुवै दृष्टिले समस्या हुँदै आएको थियो।
सेवा शुभारम्भलाई नगरपालिकाले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। विशेषगरी दुर्घटना, अचानक बिरामी पर्ने अवस्था तथा अन्य आकस्मिक स्वास्थ्य समस्यामा समयमै उपचारको पहुँच सुनिश्चित गर्न यस सेवाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नगरपालिकाले स्वास्थ्य सेवालाई सहज, सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यसहित आधारभूत अस्पतालको स्तरोन्नति तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। आगामी दिनमा अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र उपचार सुविधालाई थप व्यवस्थित गर्दै नागरिकलाई आफ्नै नगरभित्र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। आकस्मिक सेवाको शुभारम्भसँगै कल्याणपुर आधारभूत अस्पताल स्थानीय नागरिकका लागि स्वास्थ्य उपचारको थप महत्वपूर्ण केन्द्र बन्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved