ताजा समाचार

लहान–२२ मा सडक पूर्वाधार विकासले गति लिँदै, मत्स्यफर्मदेखि जहदीसम्म १ करोड ६३ लाखभन्दा बढीको लागतमा कालोपत्रे हुँदै

  • कार्तिक २१, २०८३
  • ७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २० कार्तिक। सिरहाको लहान नगरपालिका २२ स्थित मत्स्यफर्मदेखि जहदीसम्मको सडक कालोपत्रे हुने भएको छ। लामो समयदेखि सडक समस्याका कारण सास्ती भोग्दै आएका स्थानीयवासीका लागि राहत पुग्ने गरी उक्त सडक निर्माण कार्यको बुधबार लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले शिलान्यास गरेका छन्।

१ करोड ६३ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण हुन लागेको उक्त सडकको शिलान्याससँगै यस क्षेत्रको सडक पूर्वाधार विकासले गति लिने अपेक्षा गरिएको छ। सडक निर्माण सम्पन्न भएपछि वर्षौंदेखि धुलाम्मे र हिलाम्मे सडकका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीय बासिन्दाले सहज यातायात सुविधा पाउने विश्वास गरिएको छ। सडक कालोपत्रे भएपछि स्थानीयवासीको दैनिक आवागमन सहज हुनुका साथै किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‍याउन, दैनिक उपभोग्य सामग्रीको ढुवानी गर्न तथा स्थानीय व्यापार व्यवसायलाई प्रवर्द्धन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख चौधरीले लहान नगरपालिकाभित्रका सडक, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम अघि बढाइएको बताए। नगरका ग्रामीण तथा दुर्गम क्षेत्रलाई सहज यातायातको पहुँचमा पुर्‍याउने उद्देश्यले सडक निर्माण, स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिइने उनको भनाइ थियो। नगरप्रमुख चौधरीले निर्माण कार्यलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै आगामी मंसिर १५ गतेभित्रै सडक निर्माण सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन्।

यस सडकको निर्माणले लहान–२२ का स्थानीय बासिन्दाको आवागमनमा सहजता ल्याउनुका साथै यस क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। विशेषगरी ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सलहेस फूलबारी पर्यटकीय क्षेत्रसँग जोडिएको यस सडक कालोपत्रे भएपछि पर्यटक तथा दर्शनार्थीलाई आवतजावतमा सहज हुने र पर्यटकीय क्षेत्रको सौन्दर्य तथा आकर्षण थप बढ्ने स्थानीयवासीले बताएका छन्।

लामो समयदेखि सडक पूर्वाधारको सुधारको अपेक्षा गर्दै आएका स्थानीयका लागि यो आयोजना महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सडक निर्माण समयमै सम्पन्न भएमा लहान–२२ को समग्र विकाससँगै स्थानीयको जीवनस्तर सुधारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिसवनीमा प्रथम भेट्र ...

रहमुल, लहान, २० कार्तिक। सिरहाको लहान नगरपालिका २२ स्थित सिसवनीमा बुधबारदेखि प्रथम भेट्रान फुटबल प्र ...

यादव सेवा समाज कतारद ...

लहान कार्तिक १८ । यादव सेवा समाज कतारको आयोजना तथा ग्लोबल कलेज प्लस टुको सह–आयोजनामा सिरहाको ल ...

अधिकृत रामसुन्दर महत ...

रन्जित चौरसिया वीरगंज १८ कातिक । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤