ताजा समाचार

लहानका मेयर चौधरीद्वारा कार्यकालका १०१ काम सार्वजनिक, स्थलगत अनुगमन गर्न पत्रकारलाई आग्रह

  • मंसिर २, २०८३
  • ३५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, १ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले आफ्नो कार्यकालमा सम्पन्न तथा निर्माणाधीन रहेका १०१ वटा प्रमुख कामको फेहरिस्त सार्वजनिक गर्दै ती कामको स्थलगत अनुगमन र निष्पक्ष मूल्याङ्कन गर्न पत्रकारहरूलाई खुला निमन्त्रणा दिएका छन्।

लहान नगरपालिका नगरसभा हलको बाहिरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख चौधरीले आफ्नो कार्यकालमा भएका विकास निर्माण, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, सामाजिक सुरक्षा तथा लक्षित समुदायका लागि सञ्चालन गरिएका कार्यक्रमहरूको विवरण सार्वजनिक गरेका हुन्। उनले नगरपालिकाले जनताको चाहना र आवश्यकताअनुसार हजारौँ काम गरेको भए पनि विशेष महत्वका १०१ वटा कामलाई छनोट गरी सार्वजनिक गरिएको बताए।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताको नेतृत्वमा करिब दुई दर्जन पत्रकारको उपस्थिति रहेको थियो। नगर प्रमुख चौधरीले सार्वजनिक गरेका कामको विवरणबारे पत्रकारहरूबाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै आफूले गरेका कामको वास्तविक अवस्था बुझ्न सम्बन्धित स्थानमै पुगेर अनुगमन गर्न आग्रह गरे। उनले भने, “मैले गरेका कामको विवरण सार्वजनिक गरेको छु। यी काम कागजमा मात्रै छन् कि व्यवहारमै सम्पन्न भएका छन् भन्ने कुरा पत्रकार साथीहरू आफैँ स्थलगत रूपमा पुगेर हेर्नुस् र मूल्याङ्कन गर्नुस्।” 

नगर प्रमुख चौधरीले आफ्नो कार्यकालका प्रमुख उपलब्धिका रूपमा नगर अस्पताल सञ्चालन, आर्यघाट निर्माण, २५० भन्दा बढी मुसहर परिवारका लागि आवास निर्माण, क्रिकेट रंगशाला निर्माणको सुरुवातलगायतका कामलाई प्रस्तुत गरे। त्यसैगरी सिंग्राही–तीनकोनी पार्क सडक कालोपत्रे, ६५ फिटे सडक निर्माण, गुदिगाउँ–बस्तिपुर सडक, बिरनगर चोकदेखि राजदेवी मन्दिरसम्मको सडक निर्माणलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे। नगरपालिकाका विभिन्न वडामा तीनदेखि पाँच किलोमिटरसम्म सडक ढलान गरिएको उनको भनाइ थियो।

तरेगना वनदेखि गाउँसम्मको सडक कालोपत्रे, ग्रामीण चोकको उत्तरतर्फको सडक कालोपत्रे, ग्रामीण क्षेत्रदेखि हुलाकसम्मका विभिन्न सडक निर्माण, थाना–कटहा सडक कालोपत्रे तथा गोधुली होटलदेखि कुम्हार टोलसम्मको सडक कालोपत्रे गर्ने काम पनि आफ्नो कार्यकालमा अघि बढाइएको उनले जानकारी दिए। लहान–२२ को माछा फार्मदेखि जहदीसम्म सडक निर्माण, नयाँ बजार स्तरोन्नति तथा सडक नम्बर १ र २ को स्तरोन्नतिलगायतका योजनालाई पनि नगर प्रमुख चौधरीले उपलब्धिको सूचीमा समेटेका छन्। 

नगर प्रमुख चौधरीले विकास निर्माणसँगै सामाजिक न्याय र विपन्न समुदायको जीवनस्तर सुधारलाई पनि प्राथमिकता दिएको बताए। उनका अनुसार नगरपालिकाले २५० भन्दा बढी मुसहर परिवारका लागि आवास निर्माण गरेको छ। गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण, मुसहर समुदायलाई राहत सहयोग तथा परिवारमा मृत्यु हुँदा दाहसंस्कारका लागि पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

त्यसैगरी गरिब तथा विपन्न परिवारलाई श्राद्ध कर्मका लागि प्रतिपरिवार एक क्विन्टल चामलसहित आवश्यक दाल, तेल, नुनलगायत खाद्यान्न सहयोग गरिएको जानकारी दिए। हालसम्म २०० भन्दा बढी परिवारले यस्तो सहयोग प्राप्त गरिसकेको उनको भनाइ थियो। छठ पर्वका अवसरमा दुर्गा मन्दिरमा चढाइएका साडी संकलन गरी गरिब, दलित तथा मुसहर समुदायका महिलालाई वितरण गरिएको पनि उनले बताए। विपन्न तथा दलित परिवारलाई खानेपानीको धारा जडानमा अनुदान उपलब्ध गराइएको उनको भनाइ थियो। 

शिक्षा क्षेत्रको सुधारका लागि चारवटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए। विभिन्न विद्यालयमा भवन तथा शौचालय निर्माण, सार्वजनिक शौचालय निर्माण, वडा कार्यालय भवन निर्माण तथा स्वास्थ्य चौकी स्थापना र स्तरोन्नतिका कामसमेत गरिएको उनले बताए। यसैगरी दुर्गा मन्दिर निर्माण, पुरानो नगरपालिका कार्यालय रहेको स्थानमा व्यावसायिक भवन निर्माण तथा अन्य सार्वजनिक संरचनाको विकासलाई पनि आफ्नो कार्यकालका महत्वपूर्ण कामका रूपमा प्रस्तुत गरे। 

पत्रकार सम्मेलनमा पत्रकारहरूले नगरपालिकाको विकास निर्माणसँगै प्रशासनिक पारदर्शिता र सुशासनका विषयमा समेत प्रश्न उठाएका थिए। नेपाल पत्रकार महासंघ सिरहाका पूर्वअध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले नगरपालिकाका केही कर्मचारीले दोहोरो जिम्मेवारी सम्हाल्दै दोहोरो तलब लिइरहेको भन्ने चर्चाबारे नगर प्रमुख चौधरीसँग जिज्ञासा राखेका थिए। जवाफमा नगर प्रमुख चौधरीले आफूलाई यस विषयमा स्पष्ट जानकारी नभएको बताए। उनले सम्बन्धित निकायमा पत्राचार गरी वास्तविक अवस्था बुझ्ने प्रतिबद्धता जनाउँदै दोहोरो जिम्मेवारी र तलब लिएको पुष्टि भए कानुनी प्रक्रियाअनुसार कारबाही गर्ने वा कर्मचारीलाई एउटै जिम्मेवारीमा सीमित गर्ने स्पष्ट पारे। 

आफ्नो कार्यकालमा सबै योजना सम्पन्न गर्न नसकिएको स्वीकार गर्दै नगर प्रमुख चौधरीले खुट्टी नहर व्यवस्थापन तथा बजार क्षेत्रको पानी निकास व्यवस्थापन र फोहोरमैला व्यवस्थापन परियोजना विवादका कारण अघि बढाउन नसकिएको बताए। उनका अनुसार यी विषय नगरपालिकाका लागि अझै चुनौतीका रूपमा रहेका छन्। आगामी निर्वाचनमा पार्टीले टिकट दिए पुनः उम्मेदवारी दिने सोच रहेको उल्लेख गर्दै निर्वाचित भए अधुरा रहेका यी दुई महत्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउने उनले बताए। नगर प्रमुख चौधरीले नेपाल पत्रकार महासंघ सिरहा शाखाको जिल्ला कार्यालय भवन निर्माणका लागि पनि चालु कार्यकालमै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

नगर प्रमुख चौधरीले आफू कार्यालय समयभित्र मात्र नभई कार्यालय समयबाहिर पनि नागरिकका समस्या समाधानका लागि सक्रिय रहने गरेको बताए। टोलबस्तीमै पुगेर स्थानीयका समस्या पहिचान गर्ने र सम्भव भएसम्म तत्काल समाधानको प्रयास गर्दै आएको उनको भनाइ थियो। पत्रकार सम्मेलनमा तराई खबरका आशानन्द यादव, रेडियो सर्गमका सञ्चालक तथा पत्रकार फिरोज शेख, नयाँ पत्रिकाका पत्रकार मनिलाल विश्वकर्मा, पत्रकार आशिष कुमार साह, दुर्गा खनाल तथा नेपाल पत्रकार महासंघ सिरहाका पूर्वअध्यक्ष दिनेश्वरप्रसाद गुप्तासहित अन्य पत्रकारहरूले विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए।

नगर प्रमुख चौधरीले सार्वजनिक गरेका १०१ वटा कामको विवरणले लहान नगरपालिकामा भएका विकास निर्माण तथा सामाजिक कार्यक्रमबारे बहस र मूल्याङ्कनको अवसर सिर्जना गरेको छ। उनले पत्रकारहरूलाई कुनै पूर्वाग्रह नराखी स्थलगत रूपमा कामको अवस्था हेर्न र जनतासमक्ष वास्तविकता प्रस्तुत गर्न आग्रह गरेका छन्। नगरपालिकाले सार्वजनिक गरेका उपलब्धिको वास्तविक प्रभाव, योजनाको गुणस्तर, सम्पन्न भएका कामको दिगोपना र अधुरा योजनाको अवस्थाबारे अब स्थलगत अनुगमन तथा नागरिकको प्रतिक्रियाले थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

श्री माध्यमिक विद्या ...

‎निराजन यादव ‎गढवा, दाङ । दाङको गढवा गाउँपालिका–२ पचहियास्थित श्री माध्यमिक विद्यालयमा ...

ओम कोचिंगका प्रधानाध ...

प्रिन्स मिश्र कपिलवस्तु /जनकपुरधाम ओम कोचिंग सेंटर जनकपुरका प्रधानाध्यापक अभय सिंहले हिन्दु धर्मावलम ...

तौलिहवामा लुम्बिनी स ...

दुर्गाप्रसाद खनाल कार्तिक २९, लमाही दाङ। कपिलवस्तु - लुम्बिनी साहित्य सङ्गम, लुम्बिनी प्रदेश नेपालको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤