दुर्गाप्रसाद खनाल कार्तिक २९, लमाही दाङ। कपिलवस्तु - लुम्बिनी साहित्य सङ्गम, लुम्बिनी प्रदेश नेपालको तेस्रो वार्षिक कार्यक्रमअन्तर्गत ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर कपिलवस्तुको तौलिहवामा बहुभाषिक काव्य गोष्ठी तथा कार्यपत्र प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका केन्द्रीय अध्यक्ष भावना खनालको अध्यक्षता तथा पशुपति प्रताप पुस्तकालयका अध्यक्ष राजेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब ७० जना साहित्यकार तथा स्रष्टाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली, हिन्दी, अवधि, मैथिली, भोजपुरीलगायत विभिन्न भाषामा साहित्यिक रचनाहरू वाचन गरिएको थियो। त्यसैगरी स्याङ्जा, पाल्पा र अर्घाखाँचीमा प्रचलित रोइला तथा ख्यालीजस्ता मौलिक लोकभाकाहरू पनि प्रस्तुत गरिएका थिए।
विभिन्न भाषिक तथा सांस्कृतिक विविधताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. कृष्णराज डिसीले स्वागत मन्तव्य राख्नुका साथै महाकवि देवकोटाको साहित्यिक योगदान र व्यक्तित्वका विषयमा लिखित कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय गायकहरूले गीत, गजल, चारु तथा लोकगीत प्रस्तुत गरेका थिए। त्यसैगरी बालबालिकाद्वारा बालकविता वाचन र नृत्य प्रस्तुत गरिएको थियो। साहित्यिक सिर्जना, लोकसंस्कृति, सङ्गीत र बालप्रतिभाको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
कार्यक्रमकै अवसरमा विभिन्न साहित्यकारद्वारा लिखित करिब दुई दर्जन साहित्यिक पुस्तक पशुपति प्रताप पुस्तकालयलाई प्रदान गरिएको थियो। साहित्यिक कृतिहरू पुस्तकालयलाई हस्तान्तरण गरिनुले साहित्य संरक्षण र पठन संस्कृतिको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। लुम्बिनी साहित्य सङ्गमको आयोजना तथा श्री पशुपति प्रताप पुस्तकालय र सिर्जनशील नारी साहित्य समाज, तौलिहवाको सहकार्य एवं सहयोगमा आयोजित उक्त कार्यक्रम बिहान ११ः३० बजे सुरु भई अपराह्न ४ः३४ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका महासचिव तेजप्रसाद खनालले गरेका थिए।
कार्यक्रममा आगामी दिनमा लुम्बिनी प्रदेशका प्रत्येक जिल्लामा यस्ता साहित्यिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने संस्थाले प्रतिबद्धता जनाएको छ। साथै, कार्यक्रममा वाचन गरिएका विभिन्न स्रष्टाका रचनाहरू सङ्कलन गरी संस्थाको मुखपत्रमा प्रकाशन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ। बहुभाषिक साहित्य, मौलिक लोकसंस्कृति र सिर्जनात्मक प्रतिभालाई एउटै मञ्चमा जोड्दै सम्पन्न कार्यक्रमले लुम्बिनी प्रदेशको साहित्यिक एकता, भाषा संरक्षण तथा सांस्कृतिक विविधताको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved