ताजा समाचार

शौचालय प्रयोगसँगै फेरियो मुसहर बस्तीको पहिचान, सरसफाइमा आफैँ जुटे स्थानीय

  • मंसिर ३, २०८३
  • २८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, मंसिर २। सिरहाको लहान नगरपालिका–१७ बलानशेरस्थित मुसहर बस्तीमा सामुदायिक शौचालयको प्रयोगसँगै सरसफाइ र स्वच्छ वातावरणमा उल्लेखनीय सुधार आएको छ। कुनै समय शौचालयको अभावमा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य ३६ घरधुरीका मुसहर समुदाय अहिले सामुदायिक शौचालय प्रयोग गर्दै स्वच्छ र मर्यादित जीवनयापनतर्फ अग्रसर भएका छन्। बस्तीमा आएको परिवर्तनले स्थानीयको स्वास्थ्य र सरसफाइमा मात्र नभई सामाजिक प्रतिष्ठा तथा आत्मसम्मानमा समेत सकारात्मक प्रभाव पारेको छ।

विगतमा बस्तीमा प्रवेश गर्नेबित्तिकै दुर्गन्धका कारण नाक थुन्नुपर्ने अवस्था रहेको स्थानीयवासी बताउँछन्। शौचालयको अभावमा खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यताले उनीहरूलाई सामाजिक रूपमा समेत अप्ठ्यारो महसुस गराउने गरेको थियो। स्थानीय चन्देश्वर सदायका अनुसार पहिले बस्तीको अवस्था निकै दयनीय थियो। सरसफाइको अभावमा बाहिरबाट आउने मानिससमेत बस्तीमा आउन हिचकिचाउने गरेका थिए।

‘पहिले हाम्रो टोलमा पस्नेबित्तिकै नाक थुन्नुपर्ने अवस्था थियो। आफूलाई पनि लाज लाग्थ्यो। बाहिरबाट आउने मानिससमेत टोलमा आउन हिचकिचाउँथे,’ सदायले भने, ‘अहिले शौचालय प्रयोग गर्न थालेपछि टोल सफा भएको छ। बाहिरबाट आउने मानिस पनि निर्धक्क आउन सक्छन्। हामीलाई पनि खुलेर कुरा गर्न र आफ्नो काम गर्न सहज भएको छ।’ शौचालयको सुविधा नहुँदा स्थानीयवासी खोला, खुला स्थान, अरूको खेतबारी तथा आँप बगैँचामा दिसापिसाब गर्न बाध्य थिए। यस क्रममा खेतधनीको गाली खानुपर्ने तथा कतिपय अवस्थामा कुटपिटसमेत सहनुपर्ने अवस्था रहेको सदायले बताए।

‘पहिले अरूको खेत र आँप बगैँचामा दिसा गर्दा गाली खानुपर्थ्यो। अहिले गाउँमै शौचालय बनेपछि त्यो बाध्यता हटेको छ। यसले हाम्रो इज्जत बढाएको छ,’ उनले भने। वाटर एड, लहान नगरपालिका र दलित जनकल्याण युवा क्लबको साझेदारीमा निर्माण गरिएको महिला तथा बालबालिकामैत्री सुविधासम्पन्न सामुदायिक शौचालयले बस्तीको सरसफाइमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। परियोजनाअन्तर्गत बस्तीमा १० वटा शौचालय निर्माण गरिएका छन्। शौचालय निर्माण भएपछि लामो समयदेखि भोग्दै आएको खुला दिसापिसाबको समस्या कम हुँदै गएको स्थानीयको भनाइ छ।

शौचालय निर्माण गर्नु मात्र परियोजनाको उद्देश्य नभई त्यसको नियमित प्रयोग र व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ। स्थानीय बासिन्दाले शौचालय प्रयोग गर्ने बानी विकास गर्नुका साथै घरआँगन र टोलको सरसफाइमा पनि ध्यान दिन थालेका छन्। शौचालय प्रयोगलाई व्यवस्थित बनाउन चप्पलको व्यवस्था गरिएको छ भने सरसफाइ र व्यवस्थापनको जिम्मेवारीसमेत स्थानीयले आफैँले लिँदै आएका छन्।

यस अभियानको अर्को महत्वपूर्ण पक्ष सामुदायिक सहभागिता र आर्थिक व्यवस्थापन हो। निर्माण गरिएका शौचालयको दिगो सञ्चालन तथा मर्मतसम्भारका लागि बस्तीका ३६ वटै घरधुरीले मासिक एक सय रुपैयाँका दरले बचत गर्दै आएका छन्। यसरी संकलन गरिएको रकम शौचालय भरिएपछि सफा गर्ने, नियमित सरसफाइ गर्ने तथा ब्रस, हार्पिक, चप्पललगायत आवश्यक सामग्री खरिद गर्न प्रयोग गरिन्छ। स्थानीयस्तरमै आर्थिक स्रोत जुटाएर शौचालयको व्यवस्थापन गर्ने अभ्यासले समुदायमा अपनत्व र जिम्मेवारीबोधसमेत बढाएको छ। बाह्य सहयोगबाट निर्माण भएका संरचनालाई दीर्घकालसम्म सञ्चालन गर्न स्थानीय आफैँ सक्रिय हुन थालेका छन्।

मुसहर बस्तीमा आएको यो परिवर्तनले सरसफाइसम्बन्धी पूर्वाधार निर्माणसँगै त्यसको नियमित प्रयोग र सामुदायिक व्यवस्थापन कति महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ। शौचालय निर्माण भएपछि खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यता हट्दै जानु, बस्तीको वातावरण सफा हुनु र स्थानीयले सामाजिक अप्ठ्यारोबाट मुक्ति महसुस गर्नु यसका महत्वपूर्ण उपलब्धि हुन्।

स्वच्छता केवल शौचालय निर्माणमा सीमित हुँदैन, यसको नियमित प्रयोग, सरसफाइ र संरक्षणसँग पनि जोडिएको हुन्छ। लहान–१७ बलानशेरको मुसहर बस्तीमा देखिएको परिवर्तनले स्थानीय समुदायको सक्रिय सहभागिता र सम्बन्धित निकायको सहकार्यबाट वर्षौंदेखि कायम सरसफाइको समस्या समाधानतर्फ अघि बढ्न सकिने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानका मेयर चौधरीद्व ...

ओम प्रकाश यादव लहान, १ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले आफ्नो कार्यकाल ...

श्री माध्यमिक विद्या ...

‎निराजन यादव ‎गढवा, दाङ । दाङको गढवा गाउँपालिका–२ पचहियास्थित श्री माध्यमिक विद्यालयमा ...

ओम कोचिंगका प्रधानाध ...

प्रिन्स मिश्र कपिलवस्तु /जनकपुरधाम ओम कोचिंग सेंटर जनकपुरका प्रधानाध्यापक अभय सिंहले हिन्दु धर्मावलम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤