शियाराम यादव,मंसिर-२ सिरहाको लहान नगरपालिका–२३, बथनाहाका रामसागर यादवको मलेसियामा असामयिक निधन भएपछि उहाँको परिवारलाई मलेसियामा कार्यरत लहान–२३ का युवाहरूले ५७ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्। रोजगारीको सिलसिलामा करिब दुई महिनाअघि मलेसिया पुग्नुभएका यादवको निधन भएको १० दिनपछि शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको थियो। उहाँ लहान नगरपालिकाका पूर्व नगर प्रहरीसमेत हुनुहुन्थ्यो।
परिवारको लालनपालन तथा जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा जानुभएका यादवको निधनले परिवार शोकमा डुबेको छ। यादवको परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि मलेसियाको इको सप कम्पनीमा कार्यरत जितेन्द्र कुमार शाहको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानमा कम्पनीको डिस्प्ले टिममा कार्यरत नेपाली युवाहरूले स्वेच्छाले सहयोग गरेका थिए। कुल २५ जना सहयोगीबाट संकलित १ हजार ४ सय ७५ मलेसियन रिंगेट (करिब ५७ हजार ४ सय ५५ रुपैयाँ) मृतकको परिवारलाई हस्तान्तरण गरिएको छ।
उक्त रकम परिवारको घरखर्च तथा काजक्रियामा सहयोग पुगोस् भन्ने उद्देश्यले उपलब्ध गराइएको जनाइएको छ। सुखदेव शाहको नेतृत्वमा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा डीपीएस स्कुलका सहसञ्चालक तथा निर्देशक अमन यादव, दिनेश यादव,पत्रकार शियाराम यादव , कमल यादवलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
सहयोग अभियानका पहलकर्ता जितेन्द्र कुमार शाहले दुःखको घडीमा मानवीय भावनाका साथ आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेर पनि आफ्नै गाउँका दुःखमा परेका परिवारलाई सहयोग गर्ने लहान–२३ का युवाहरूको यस मानवीय कार्यले सामाजिक एकता, सद्भाव र आपसी सहयोगको सकारात्मक सन्देश दिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved