ताजा समाचार

थारू कल्याणकारिणी सभा कतार,महिला विभागद्वारा जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

  • असोज २०, २०८३
  • २५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आयोजित ‘जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम–२०२६’ शुक्रबार कतारको सनैयास्थित प्लाजा मलमा रहेको मेसकैफे रेस्टुरेन्टको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ।

Open photo

‘जातीय पहिचानको संरक्षण, प्रवर्द्धन, शैक्षिक, आर्थिक, सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्देश्य प्रवासमा रहेर पनि थारु समुदायको मौलिक भाषा, संस्कृति, धर्म, संस्कार, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।

Open photo

थारु समुदायमा मातृत्व, सन्तानप्रतिको अगाध प्रेम तथा सन्तानको सुख, शान्ति, दीर्घायु र पारिवारिक समृद्धिको कामनासहित मनाइने जितिया पर्वको अवसरमा आयोजित कार्यक्रममा कतारमा रहेका थारु समुदायका सदस्यसँगै विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, इन्जिनियर, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

औपचारिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो कार्यक्रमको अध्यक्षता थाकसा कतार च्याप्टर महिला विभागकी प्रमुख शर्मिला चौधरीले गर्नुभएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारकी महिला विभाग संयोजक रबिना मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नेपाली महिला समाज कतारकी उपाध्यक्ष लिला राई विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी थाकसा कतारका सभापति भगवती प्रसाद चौधरी, संरक्षक इन्जिनियर सियाराम चौधरी, प्रमुख सल्लाहकार हरि बहादुर महतो, विशेष सल्लाहकार श्यामलाल चौधरी, संस्थापक महामन्त्री तथा पूर्व संरक्षक एवं नेपाल इन्जिनियरिङ एसोसिएसन कतार च्याप्टरका अध्यक्ष इन्जिनियर सिताराम चौधरी लगायतको उपस्थिति रहेको थियो। ई. सिताराम चौधरी, प्रेसिडेन्ट, नेपाल इन्जिनियरिङ एसोसिएसन, कतार सेन्टर तथा थारू कल्याणकारिणी सभा, कतार च्याप्टरका संस्थापक महामन्त्री एवं सन् २०२४ सम्मका पूर्व संरक्षकले पनि हिजो आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो।

उहाँले आफ्नो मन्तव्यमा थारू समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो। थारू समुदाय नेपालको महत्वपूर्ण आदिवासी जनजाति समुदायमध्ये एक रहेको उल्लेख गर्दै उहाँले समुदायको ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राख्नुभएको थियो। त्यसैगरी, कतारमा रहेका थारू समुदायका नेपालीहरूबीच आपसी एकता, भाइचारा र सहकार्यलाई थप सुदृढ बनाउँदै सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो। विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनुका साथै नेपाली समाजका विभिन्न समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना कायम राख्नुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका पूर्व अध्यक्ष दिनेश तामाङ,लगायतको पनि सहभागिता रहेको थियो। 

गुन्जा चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान व्यक्त गर्दै रसुवा तथा नुवाकोटमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। प्राकृतिक विपत्तिमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगत आत्माहरूको चिरशान्तिका लागि एक मिनेट मौनधारणसमेत गरिएको थियो। त्यसपछि स्वागत नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रम संयोजक गंगा चौधरी र पूजा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। अतिथिहरूलाई खादा ओढाएर सम्मान गर्नुका साथै दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। जितिया पर्वको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे सृजना चौधरीले प्रकाश पार्नुभएको थियो भने थाकसा कतारका सांस्कृतिक संरक्षक तथा सल्लाहकार अरुण कुमार चौधरीले परम्परागत जितिया कथा वाचन गर्नुभएको थियो। 

कार्यक्रमको मुख्य आकर्षण थारु समुदायको मौलिक कला, संस्कृति र परम्परामा आधारित विविध सांस्कृतिक प्रस्तुति बनेको थियो। ‘एले जितिया’, ‘थारु पावन खेले’, ‘झुम्रा नाच’, ‘गुराँस फुल्दा बनाई रमाइलो’, ‘जिन्गी रे’ तथा ‘थुन्दिया बोलाए सजना’ लगायतका गीतमा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। सुनिता, पूजा, पूर्णिमा, सुस्मिता, एन्जिला, रितु, बिन्दा, हरेराम, सञ्जय, कमल, जीवन, प्रिया, रिमा, समिता, गंगा, विमल, महेन्द्र, मनोज, सिर्जना, अरुण तथा पुलकित लगायतका कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। त्यसैगरी अन्तर्राष्ट्रिय मिथिला कला संस्कृति ग्रुप दोहा, कतारको सहयोगमा मनिष गोस्वामी, सन्तोष विश्वकर्मा, मनोज शर्मा, जितेन्द्र पासवान, राम जनम मंडल, रामानन्द चौधरी,सैलेन्द्र यादव विसेश्वर प्रसाद, वोकिल मंडल लगायतका कलाकारहरूले पनि जोडदार प्रस्तुति दिएका थिए। साथै सन्तोषी चौधरी, उपेन्द्र, बिना, सविन चौधरी, अजय कुमार धनुवार तथा चन्द्र चौधरी लगायतका गायक–गायिकाहरूले सुमधुर गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कलाकारहरूको उत्साहपूर्ण प्रस्तुति, परम्परागत गीत–संगीत तथा नृत्यले कार्यक्रमस्थललाई सांस्कृतिक उत्सवमय बनाएको थियो। प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान र संस्कृतिलाई जीवन्त राख्ने उद्देश्य कार्यक्रमका प्रस्तुतिहरूमा झल्किएको थियो। 

कार्यक्रममा सहभागी विभिन्न सामाजिक अभियन्ता, संघ–संस्थाका प्रतिनिधि तथा अतिथिहरूले जितिया पर्वको शुभकामना व्यक्त गर्दै प्रवासमा थारु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि थाकसा महिला विभागले गर्दै आएको प्रयासको प्रशंसा गरेका थिए। वक्ताहरूले यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कार र परम्परासँग जोड्नुका साथै कतारमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा सभापति तथा महिला विभाग प्रमुख शर्मिला चौधरीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रायोजक, कलाकार, अतिथि, संघ–संस्थाका प्रतिनिधि तथा उपस्थित शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गर्नुभएको थियो। प्रवासको व्यस्त जीवनबीच आयोजना गरिएको जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम–२०२६’ले थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तासम्म सांस्कृतिक विरासत हस्तान्तरण गर्ने तथा नेपाली समुदायबीच सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤