कार्तिक पूर्णिमा स्नान गर्दै भूत मेला

  • मंसिर ११, २०८०
  • ६२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर ११। सिराहा र धनुषा जिल्लाको सिमानाको रूपमा रहेको कमला नदीको दुवै किनारामा कार्तिक पूर्णिमा स्नानको लागि ठूलो मेला लाग्ने गर्दछ । प्रत्येक वर्ष दशैको समयमा तान्त्रिक विधा सिकेपछि उक्त कार्यलाई पूरा गर्नका लागि यस ठाउँमा स्नान गर्ने परम्परा रहेको छ , जसलाई कमला स्नान भनिन्छ । यस दिन सिकारु धामी झाँक्रिहरुका लागि सिद्धि प्राप्तिको दिन हो भने कुनै व्यक्तिमा भूत प्रेत छ भने त्यसलाई पनि हटाउने दिनको रूपमा परिचित यस मेलामा ठूलो भीड लाग्ने गर्दछ । जो दशैंमा नयाँ नयाँ धामी बनेका हुन्छन्, तिनलाई आजैका दिन कमला स्नान गराई पूर्णता दिइन्छ । कमला स्नान जानु अगाडि धामीहरुले कारणीको घरमा झाइल , मृदङ लिएर भगैत र झुमैर गाएर कारणीलाई स्नानको लागि तयार गरिन्छ ।

जानु अगाडि गाउँको डीहिबारलाई पूजा गरेर हातमा दियालो सहितको बल्दै गरेको ढकना लिएर देउता खेल्दै स्नानको लागि प्रस्थान गर्ने चलन रहेको पाईन्छ । " जय कमला , जय बीस, गोरैयाके आसन दोलैई क्षई " भन्दै आफ्ना आफ्ना कुल देउताको नाम लिदै अगाडि बढ्ने चलन रहेको पाईन्छ । स्नानको अघिल्लो दिनसम्म धनुषा र सिरहाका गाउँ-गाउँबाट भगताहरु ‘घरको कुलदेवता’ खेल्दै कमला घाटतर्फ गइरहेको मनोरम दृश्य देख्न सकिन्छ रातको समयमा कमलामै बास बसेर बिहान स्नान र पूजापाठपछि दहीच्यूरा खाएर घर फर्किने चलन रहेको यस मेलामा बिहानी पख कमला स्नानको लागि ठूलो भीड लाग्ने गर्दछ । कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । कमला नदीलाई गंगा सरह मानिन्छ । त्यसैले, यो नदीमा कात्तिक पूर्णिमा स्नान गर्छन् ।

नवभगताहरु भने सिद्धि प्राप्तिका लागि कात्तिक पूर्णिमाको दिन कमला स्नान गर्छन् । स्नानको लागि जाँदा पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी झाँक्रीहरू माटोले बनेको ढकनामा बलिरहेको आगो हातमा राखेर बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउँदै स्नानको लागि प्रस्थान गर्दछन् । भक्तजनहरुले आ -आफना इष्ट देवताको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोल पिपही जस्ता बाजागाजाका साथ कमला नदीमा पुगेका हुन्छन । तान्त्रिक विद्यासिद्धीका लागि आजको दिनलाई शुभ मान्ने गरेको छ र त्यो सिद्धिका लागि गंगा नदी र कमला नदीमा त्यसको मेला नै लाग्ने गरेको छ ।

कमला नदीमा स्नान गरिए कमलेश्वरी देवी र गंगा नदीमा स्नान गरे गंगा देवीले तान्त्रिक विद्या सिद्ध बनाई दिने तथा घरका देवी (घरदेवता) शुद्धि हुने विश्वास गरिन्छ । कमला तथा गंगा स्नान गरेर घर फर्किने बेला नदी किनारमा धामी झाँकीसहित अन्य भक्तजनहरु दही च्युरा खाने चलन रहेको छ । साथै घर फर्किने बेला भक्तजनहरु गंगा र कमलाबाट पानी (जल) लिएर पनि आउने गरेका छन् । त्यो पानीले घरपरिवार तथा घरका अन्य सदस्यलाई पनि चोखो बनाइने चलन छ । आजभोलि स्नानको लागि सवारी साधन गइरहेको ठूलो जमात सडकमा देख्न सकिन्छ । सिरहाको बनिनिया घाट , चटरी घाट र बन्दीपुर घाटमा ठूलो भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१