ताजा समाचार

सिरहामा बढ्दो लागूऔषध कारोबारले निम्त्याएको चिन्ता, एकैपटक १ हजार किलोभन्दा बढी गाँजा बरामद

  • असोज १६, २०८३
  • ३०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १६ असोज । सिरहामा पछिल्लो समय ठूलो परिमाणमा लागूऔषध बरामद हुने घटना बढ्दै गएपछि यसको कारोबार, ओसारपसार र नियन्त्रणको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकनजिक गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले २६ बोरा गाँजा बरामद गरेको छ। बरामद गाँजाको तौल १ हजार १०२ दशमलव ६५५ किलो रहेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा बोलेरो गाडी र अपाचे मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

प्रहरी टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा छाडेर फरार भएको बताइएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यो घटना पछिल्ला दिनमा सिरहाका विभिन्न क्षेत्रमा देखिएको लागूऔषध कारोबारको प्रवृत्तिसँग जोडिएको छ। विगतमा सामान्यतया थोरै परिमाणमा लागूऔषधसहित एक–दुई जना पक्राउ पर्ने घटना सुनिने गरे पनि अहिले ठूलो परिमाणमा लागूऔषध र त्यसको ओसारपसारमा ठूला सवारीसाधन प्रयोग भएको देखिन थालेको छ। यसले सिरहामा लागूऔषधको नेटवर्क कति व्यापक छ भन्नेबारे थप अनुसन्धान आवश्यक देखाएको छ। ठूलो परिमाणमा लागूऔषध बरामद हुनु एकातर्फ प्रहरीको सक्रियताको संकेत भए पनि अर्कोतर्फ यति ठूलो परिमाणमा लागूऔषध जिल्लाभित्र प्रवेश गर्ने अवस्था कसरी बनिरहेको छ भन्ने प्रश्न पनि उठेको छ।

लागूऔषधको कारोबारसँगै यसको प्रयोगमा किशोरकिशोरी तथा युवायुवती फस्ने क्रम बढिरहेको भन्दै अभिभावक र स्थानीय समुदायमा चिन्ता बढेको छ। लागूऔषधको दुव्र्यसनले व्यक्तिगत स्वास्थ्य र भविष्यमा मात्र असर नपारी परिवार तथा सामाजिक वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने गरेको छ। स्थानीय स्तरमा लागूऔषधको प्रभावसँग जोडिएका झै–झगडा, समूहगत विवाद तथा अन्य सामाजिक विकृतिका घटनाले पनि समुदायलाई थप चिन्तित बनाएको देखिन्छ। कतिपय स्थानमा लागूऔषधमा फसेका युवाहरूबीच हुने विवाद र ग्याङ फाइटजस्ता घटनाले शान्ति सुरक्षामा समेत चुनौती थपिरहेको स्थानीयको गुनासो छ।

लागूऔषधसम्बन्धी मुद्दा बढ्दै जाँदा प्रहरी कार्यालय, थुनुवा कक्ष तथा अदालतमा समेत कामको चाप बढेको देखिन्छ। लागूऔषधसँग सम्बन्धित घटनाको अनुसन्धान, पक्राउ, मुद्दा दर्ता तथा अदालती प्रक्रियामा राज्यका विभिन्न संयन्त्र लामो समयसम्म व्यस्त हुनुपर्ने अवस्था सिर्जना भएको छ। समुदायस्तरमा समेत प्रहरी कार्यालयमा दैनिकजसो विभिन्न विवाद तथा घटनासम्बन्धी छलफलका लागि मानिसहरूको भीड लाग्ने गरेको देखिन्छ। यसले लागूऔषधको समस्या केवल प्रहरीको जिम्मेवारीमा सीमित नभई सामाजिक समस्या बन्दै गएको संकेत गर्छ।

लागूऔषध नियन्त्रणका लागि पक्राउ र बरामद मात्र पर्याप्त नहुने सरोकारवालाहरूको बुझाइ छ। कारोबारको स्रोत, ओसारपसारको मार्ग, संलग्न समूह तथा आर्थिक सञ्जालसम्म पुगेर अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ। त्यससँगै विद्यालय तथा समुदायमा लागूऔषधविरुद्ध सचेतना, जोखिममा रहेका किशोर–युवाको पहिचान, परिवारको निगरानी, पुनःस्थापना तथा उपचारका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ। अभिभावक, शिक्षक, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र राजनीतिक नेतृत्वबीच समन्वय नहुने हो भने समस्या थप जटिल बन्न सक्ने चिन्ता बढेको छ।

सिरहामा एकैपटक एक हजार एक सय किलोभन्दा बढी गाँजा बरामद हुनु सामान्य घटनाका रूपमा मात्र हेर्न नहुने स्थानीयको भनाइ छ। ठूलो परिमाणमा लागूऔषध ओसारपसार हुन थालेको अवस्थालाई गम्भीरतापूर्वक विश्लेषण गरी यसको जरोसम्म पुग्ने अनुसन्धान र दीर्घकालीन नियन्त्रण रणनीति आवश्यक देखिएको छ। सरकार र सम्बन्धित निकायले समयमै प्रभावकारी कदम नचाले लागूऔषधको समस्या आगामी दिनमा अझ गम्भीर सामाजिक चुनौती बन्न सक्ने चिन्ता बढेको छ।

प्रतिक्रिया दिनुहोस

रासायनिक विषादीको अव ...

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी त ...

नरहामा निःशुल्क आँखा ...

रहमुल, लहान, १६ असोज । सिरहाको नरहा गाउँपालिका–३ मा समाजसेवी रामउदगार यादवको निवासमा सञ्चालन ग ...

लहान कांग्रेसको नगर ...

ओम प्रकाश यादव, लहान असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लहान नगरपालिका नगर सभापति पद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤