रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण उपस्थितिका विषयमा केन्द्रित कोणसभा सम्पन्न भएको छ। नागरिक आवाजको आर्थिक सहयोग तथा अनुपम देशव्यापी महिलावादी अभियान र अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को पहलमा आयोजित कार्यक्रममा कर्जन्हा नगरपालिका तथा सम्बन्धित क्षेत्रका महिला र सीमान्तकृत समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
महिला मानवअधिकार रक्षक सञ्जाल तथा कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मी श्रेष्ठको सहकार्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले महिला र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिताबिना समावेशी, समानतामूलक र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने बताएका थिए। कार्यक्रममा सहभागी महिलाहरूले वर्षौंदेखि महिला अधिकार, समानता र सामाजिक न्यायका लागि आवाज उठाउँदै आएको भए पनि महिलालाई केवल आन्दोलन, अभियान र आवाज उठाउने भूमिकामा मात्र सीमित राख्न नहुने धारणा राखे। उनीहरूले नीति निर्माण, योजना छनोट, बजेट विनियोजनदेखि कार्यान्वयन र अनुगमनसम्मका हरेक निर्णय प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरे।
महिलाहरूले राजनीतिक तथा सामाजिक नेतृत्वमा महिलाको संख्या मात्र बढाएर नपुग्ने भन्दै निर्णय गर्ने तहमा महिलाको वास्तविक पहुँच र भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार महिलालाई नेतृत्वमा ल्याउने वातावरणसँगै क्षमता विकास, अवसर, सम्मान र निर्णय गर्ने अधिकारसमेत सुनिश्चित गरिनुपर्छ। कार्यक्रममा महिलाका अभिव्यक्ति र अभियानहरू सकारात्मक, सम्मानजनक तथा दोषारोपणरहित हुनुपर्नेमा समेत जोड दिइएको थियो। महिला तथा सीमान्तकृत समुदायमाथि हुने विभेद, असमानता र अधिकारबाट वञ्चित गर्ने प्रवृत्तिविरुद्ध तथ्यमा आधारित र जिम्मेवार ढंगले निरन्तर आवाज उठाउने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका थिए।
आगामी २०८४ साललाई महिला नेतृत्व र सहभागिताको दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिँदै अभियानले “मिसन–८४ : महिला नै पहिला” भन्ने सन्देश अघि सारेको छ। अभियानमार्फत महिलालाई नेतृत्वको अग्रपंक्तिमा ल्याउने, निर्णय प्रक्रियामा उनीहरूको उपस्थिति बढाउने तथा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा महिलाको समान सहभागिताका लागि वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। कार्यक्रममा “घर चलाउने महिला देश चलाउन सक्छन्, अवसर दिनुपर्छ” भन्ने सन्देशलाई समेत जोड दिइएको थियो। सहभागीहरूले महिलाको नेतृत्व क्षमतालाई अवसरसँग जोड्दै परिवारदेखि समुदाय र स्थानीय तहदेखि राज्यका निर्णयकारी निकायसम्म महिलाको सहभागिता विस्तार गर्नुपर्ने बताएका थिए।
कोणसभाले समावेशी समाज निर्माणका लागि महिला, दलित, सीमान्तकृत तथा पछाडि पारिएका समुदायको आवाजलाई निर्णय प्रक्रियासँग जोड्नुपर्ने आवश्यकता औँल्याएको छ। सहभागीहरूले अधिकारका लागि आवाज उठाउने चरणबाट अघि बढेर अब निर्णय गर्ने तहमा महिलाको प्रभावकारी उपस्थिति स्थापित गर्नुपर्नेमा साझा धारणा बनाएका छन्। समावेशी र समानतामूलक समाज सबैका लागि अपरिहार्य छ। घर चलाउने महिला देश चलाउन सक्छन्, अवसर दिनुपर्छ। महिला सहभागिता केवल उपस्थितिमा होइन, निर्णय प्रक्रियामा अर्थपूर्ण हुनुपर्छ मुख्य सन्देश:का साथ महिला अधिकारकर्मीहरु अगाडी बढिरहेको मेचीकाली संयुक्त बुहारी अवाज सिरहा संयोजक रीता महतोले बताएकी छिन।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic