Siraha Times
ताजा समाचार

जलवायु परिवर्तनविरुद्ध किसानको अभियान : भगवानपुरमा जनचेतनामूलक र्‍याली तथा अन्तरक्रिया सम्पन्न

  • भदौ २४, २०८३
  • ३३० पटक पढिएको
  • रहमुल
alt

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ्यास न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको भगवानपुरमा जनचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल मधेस प्रदेशको आयोजनामा तथा केयर नेपालको सहयोगमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनले कृषि उत्पादनमा पारिरहेको असर, वातावरणमैत्री कृषि अभ्यासको आवश्यकता, जैविक तथा पर्यावरणीय खेतीको प्रवर्द्धन र दिगो कृषि प्रणालीका विषयमा किसान तथा स्थानीय समुदायलाई सचेत गराइएको थियो।

कार्यक्रमअन्तर्गत भगवानपुर गाउँपालिका–१ स्थित भगवानपुर आधारभूत विद्यालयबाट विभिन्न सचेतनामूलक नारासहित र्‍याली निकालिएको थियो। महासंघमा आबद्ध कृषक, कर्मचारी, महिला किसान तथा स्थानीय नागरिकको सहभागितामा निकालिएको र्‍याली भगवानपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा ‘कच्चा गोबर नफालौँ, कम्पोष्ट मल बनाऔँ’, ‘खुला गोबर खुल्ला रोग व्यवस्थापन गरौँ’, ‘रौदाबाट बचौँ, जलवायुमैत्री खेती गरौँ’, ‘पराली जलाएर माटो नमारौँ, आफ्नै भविष्यको बाटो खोलौँ’ लगायतका नारामार्फत वातावरण संरक्षण, फोहोर व्यवस्थापन र दिगो कृषि अभ्यासबारे सन्देश प्रवाह गरिएको थियो। कोणसभामा वक्ताहरूले जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिन थालेको भन्दै किसानले परम्परागत तथा हानिकारक अभ्यासमा सुधार गर्दै वातावरणमैत्री प्रविधि र स्थानीय स्रोतमा आधारित कृषि प्रणाली अपनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा वक्ताहरूले भगवानपुरमा राष्ट्रिय कृषक समूह महासंघले सञ्चालन गर्दै आएका किसानमुखी तथा कृषि केन्द्रित कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका थिए। महासंघसँग आबद्ध महिला किसानहरू कृषि क्षेत्रमा सक्रिय रूपमा अगाडि बढिरहेको, किसान आफैँ प्राविधिक ज्ञान हासिल गरी उत्पादनमा प्रयोग गर्न थालेको तथा रासायनिक विषादीको विकल्पका रूपमा जैविक विधि अपनाउने क्रम बढेको उनीहरूको भनाइ थियो।

कम लागतमा उत्पादन बढाउने उद्देश्यले स्थानीयस्तरमै उपलब्ध स्रोत–साधनको सदुपयोग गर्न किसानहरू अग्रसर भएको बताइएको छ। घर तथा खेतबारी वरिपरि खेर जाने झारपात, पराल, सोत्तर, गोबरलगायत कुहिने तथा सड्ने जैविक पदार्थलाई उपयोग गरी कम्पोष्ट तथा भर्मिकम्पोष्ट मल उत्पादन गर्ने अभ्यास बढ्दै गएको वक्ताहरूले उल्लेख गरे।

फोहोरका रूपमा फालिने वस्तुलाई कृषि उत्पादनका लागि उपयोगी स्रोतमा परिणत गर्दै ‘फोहोरबाट मोहर’ बनाउने अभियानमा महिला किसानहरूको भूमिका उल्लेखनीय रहेको कार्यक्रममा चर्चा गरिएको थियो। सोही अवसरमा राष्ट्रिय कृषक समूह महासंघ, नेपालको १६औँ स्थापना दिवस पनि मनाइएको छ। यस वर्ष महासंघले ‘किसान अभियान–साना किसानको सम्मान’ भन्ने मूल भावनाका साथ स्थापना दिवस मनाएको हो। महासंघले २०६६ सालदेखि सेवा केन्द्रस्तरबाट आफ्नो अभियान सुरु गरेको थियो। २०६८ सालमा कृषक समूह, पशु सेवा समूह तथा कृषि सहकारीहरूको छाता संगठनका रूपमा महासंघको औपचारिक स्थापना भएको हो। हाल महासंघमा ७० जिल्लाका ११ हजार ५० भन्दा बढी कृषक समूह, पशु सेवा समूह तथा कृषि सहकारीहरू आबद्ध रहेको जनाइएको छ।

महासंघले सेवा प्रदायक निकायमा साना किसानको पहुँच अभिवृद्धि गर्दै दिगो तथा आत्मनिर्भर उत्पादन वृद्धि र राष्ट्रिय उत्पादकत्वमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। सार्वजनिक निकाय, संघ–संस्था, कृषक, कृषक समूह तथा कृषि सहकारीबीचको साझेदारीलाई सुदृढ गर्दै ग्रामीण जीविकोपार्जन र अर्थतन्त्र विकासमा योगदान पुर्‍याउने तथा ग्रामीण गरिबी न्यूनीकरणमा भूमिका खेल्ने उद्देश्यका साथ महासंघ अघि बढिरहेको छ। स्थापनाकालदेखि नै अधिकारमुखी अवधारणालाई आत्मसात् गर्दै भूमिहीन, सीमान्तकृत, साना तथा महिला किसानका अधिकारका लागि संगठन निर्माण, क्षमता विकास, सवाल पहिचान, नीति पैरवी तथा सरकारका विभिन्न तहसँग समन्वय र सहकार्य गर्दै आएको महासंघले जनाएको छ।

१६ वर्षको यात्रामा महासंघका १६ महत्वपूर्ण पाइला महासंघले आफ्नो स्थापनादेखिको यात्रालाई १६ वटा महत्वपूर्ण चरण अर्थात् ‘पाइला’ का रूपमा प्रस्तुत गरेको छ। पाइला एक– महासंघ स्थापनाको वर्ष, २०६८ : भदौ २३ गते तत्कालीन मध्यमाञ्चल क्षेत्रीय कृषि विकास निर्देशनालय, हरिहरभवनमा १२ जिल्लाका १५ जना किसानको सहभागितामा किसान अधिकारप्रति समर्पित अभियानको औपचारिक सुरुवात भएको थियो। पाइला दुई– क्षमता विकास वर्ष, २०६९ : अडान, धारणा तथा सवाल उठान, सहकार्यको खोजी, क्षमता विकास र रणनीतिक योजना तयारीमा जोड दिइयो।

पाइला तीन– खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताका लागि अभियान वर्ष, २०७० : ‘स्वाभिमानी किसान, समृद्ध महासंघ’ भन्ने दूरदृष्टिका साथ २०७०–७५ को रणनीतिक योजनामा आधारित यात्रा सुरु गरियो। पाइला चार– संगठन सवलीकरण वर्ष, २०७१ : महासंघ २५ जिल्लामा विस्तार भयो। प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न हुनुका साथै बाँझो जमिन उपयोग, बाँदरबाट किसानलाई भएको क्षति तथा ग्रामीण महिला दिवसजस्ता विषयमा अभियान अघि बढाइयो। पाइला पाँच– संस्थागत क्षमता विकास वर्ष, २०७२ : प्रमाण संकलन तथा प्रमाणमा आधारित पैरवी गर्दै संविधानमा किसानका सवाल स्थापित गर्न पहल गरियो। पाइला छ– संस्थागत सवलीकरण अभ्यास वर्ष, २०७३ : सहकार्य र सञ्जालीकरण विस्तार गर्दै बाँदरबाट किसानलाई भएको क्षतिको क्षतिपूर्तिको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

पाइला सात– संगठन विस्तार अभियान वर्ष, २०७४ : महासंघ ४८ जिल्लामा विस्तार भयो। स्थानीय सरकार सञ्चालन ऐनमार्फत कृषिको स्थानीयकरणका लागि पहल गरियो। पाइला आठ– सवालमा आधारित पैरवी वर्ष, २०७५ : खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन जारी हुनुका साथै सशर्त कृषि बजेट, कृषि संरचनाको स्थानीयकरण तथा महासंघको तहगत संरचना पुनर्संरचनाका लागि पहल गरियो। पाइला नौ– दोस्रो पञ्चवर्षीय योजना शुभारम्भ वर्ष, २०७६ : ‘स्वावलम्बी, मर्यादित र सम्मानित किसान महासंघको सरोकार, सेवामा पहुँच र नीतिगत तहमा प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने दूरदृष्टिका साथ २०७६–८० को रणनीतिक योजना कार्यान्वयनमा लगियो। दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो।

पाइला दस– स्थानीय कृषि नीति निर्माणमा सहजीकरण वर्ष, २०७७ : कृषि नमुना विकास तथा विस्तार, पुनर्लाभ तथा जीविकोपार्जन लक्षित गतिविधि र कोदो बहस शृंखलाजस्ता अभियान सञ्चालन गरिए। पाइला एघार– नीति विश्लेषण, प्रमाण संकलन तथा सवालमा आधारित पैरवी वर्ष, २०७८ : स्थापनाको दशकमा चिन्तन–मनन गर्दै भावी कार्यदिशा तयार गरियो। पहिलो साना किसान राष्ट्रिय सम्मेलन तथा खाद्य प्रणालीको स्थानीयकरण अभियान अघि बढाइयो।

पाइला बाह्र– पैरवी वर्ष, २०७९ : वर्गीकरणसहित किसान परिचयपत्र वितरणका लागि स्थानीय सरकारलाई सहजीकरण, उत्पादनमा आधारित पोषण, पर्यावरणीय कृषि प्रवर्द्धन तथा हरित उद्यमशीलतामा जोड दिइयो। पाइला तेह्र– तेस्रो रणनीतिक योजना तर्जुमा तथा अधिवेशन वर्ष, २०८० : महासंघ ६६ जिल्लामा विस्तार भयो। २०८०–८५ का लागि तेस्रो पञ्चवर्षीय रणनीतिक योजना अन्तिम रूप दिइयो। तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न हुनुका साथै बाँदरबाट भएको क्षतिको क्षतिपूर्ति व्यवस्थाका लागि लामो समयदेखि गरिएको पैरवीअनुसार कार्यविधि संशोधनमा पहल सफल भयो।

पाइला चौध– तेस्रो पञ्चवर्षीय योजना कार्यान्वयन तथा संगठन सवलीकरण वर्ष, २०८१ : ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने दूरदृष्टिका साथ रणनीतिक योजना कार्यान्वयनमा ल्याइयो। महिला किसान मञ्चसहित विभिन्न ११ वटा विभाग परिचालन, किसान लेखपढ शिविर तथा सवाल केन्द्रित अभियान अघि बढाइयो।

पाइला पन्ध्र– नीतिगत प्रतिनिधित्व, संगठन सवलीकरण तथा किसान अभियान वर्ष, २०८२/८३ : तहगत सरकारका सम्बन्धित समितिमा संस्थागत प्रतिनिधित्वका लागि पहल, महासंघका विभाग तथा तहगत समितिको सक्रियता, संगठन सवलीकरण तथा दिगो कृषि र किसान अधिकारका लागि अभियान सञ्चालनमा जोड दिइयो। पाइला सोह्र– पर्यावरणीय कृषि तथा साना किसान सशक्तीकरण वर्ष, २०८३/८४ : यस वर्ष रासायनिक मल तथा विषादीमाथिको बढ्दो निर्भरता घटाउने, उत्थानशील कृषि अभ्यासलाई तहगत सरकारको नीतिमा मूलप्रवाहीकरण गर्ने, पर्यावरणीय खेतीको विस्तार गर्ने र जलवायु परिवर्तनका कारण कृषिमा परेको असर न्यूनीकरण गर्न किसानलाई ज्ञान तथा उत्थानशील अभ्यासमा सहभागी गराउने लक्ष्य लिइएको छ।

त्यसैगरी कृषक पाठशालालाई स्थानीय तहसम्म विस्तार गर्ने तथा कृषक समूहलाई उत्पादनदेखि बजारसम्म जोड्न सहजीकरण गर्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको महासंघले जनाएको छ। दिगो कृषि र किसान अधिकारका लागि निरन्तर अभियान कार्यक्रमका सहभागीहरूले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सरकार, किसान, नागरिक समाज तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कृषि क्षेत्रमा बढ्दो रासायनिक मल तथा विषादीको निर्भरता घटाउँदै स्थानीय स्रोतमा आधारित, कम लागत र वातावरणमैत्री कृषि प्रणाली विस्तार गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

महासंघले किसान अधिकारको प्राप्ति तथा समग्र कृषि विकासका लागि आफूलाई थप परिपक्व, संगठित र संस्थागत बनाउँदै सरोकारवालासँगको सहकार्यलाई अझ मजबुत र विश्वसनीय बनाउने प्रतिबद्धता जनाएको छ। भगवानपुरमा सम्पन्न र्‍याली तथा अन्तरक्रिया कार्यक्रमले जलवायु परिवर्तनका चुनौतीबीच किसानलाई वातावरणमैत्री कृषि अभ्यासतर्फ उन्मुख गराउन र स्थानीयस्तरमा दिगो कृषि अभियानलाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्झनामा सप्तरीको खडक ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१