रहमुल, लहान, २ कार्तिक। सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीस्थित ऐतिहासिक दुर्गाभगवती मन्दिरमा ५७औँ नवरात्रि उत्सव धार्मिक श्रद्धा, परम्परा र सांस्कृतिक उत्साहका साथ भव्य रूपमा मनाइँदै छ। स्थानीय युवाहरू, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न जातजाति र समुदायका बासिन्दाको सामूहिक सहभागितामा उत्सवले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूप लिएको छ।
विसं २०२७ मा तत्कालीन समाजसेवी तथा बुद्धिजीवीहरू उग्रनारायण झा, राघवेन्द्र भट्ट, बैजनाथ दास, देवनाथ दास, कमलनारायण चौधरी, लक्ष्मी यादव, बेबीलाल साह, जुगेश्वर पासवान, रघुनाथ खंगलगायतको पहल र मेहनतबाट सुरु भएको दुर्गापूजा आज ५७औँ वर्षसम्म आइपुगेको हो। मन्दिरप्रति आस्था राख्ने नेपाल तथा भारतका विभिन्न गाउँका भक्तजनको सहभागिताले यसको धार्मिक महत्त्व थप बढाएको स्थानीय तथा जे.एस. मुरारका क्याम्पसका प्राध्यापक कन्हैयालाल कर्णले बताए। मन्दिर स्थापनाकालका प्रथम जजमान सुखैर झा र प्रथम पुरोहित सप्तरीको बेल्हीका अनुरुद्ध झा रहेको बताइएको छ।
यस वर्ष असारमा आयोजित सर्वपक्षीय भेलाबाट स्थानीय युवा पंकज कर्णको नेतृत्वमा १५ सदस्यीय मूल पूजा समिति गठन गरिएको थियो। समितिले स्थानीय युवा, बुद्धिजीवी, समाजसेवी तथा नागरिकको सहयोगमा धार्मिक विधि र परम्पराअनुसार नवरात्रि उत्सव सञ्चालन गरिरहेको अध्यक्ष कर्णले जानकारी दिए। दुर्गापूजालाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी सामाजिक सद्भाव, सामूहिक एकता र सांस्कृतिक पहिचानको साझा उत्सवका रूपमा अघि बढाइएको छ। स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्थाको सक्रिय सहभागिताले पनि कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको स्थानीयवासीले बताएका छन्।
हिन्दू धर्ममा दशमी अर्थात् विजयादशमीलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइन्छ। नवरात्रिका नौ दिनसम्म दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा–आराधना गरी दसौँ दिन देवीको आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस पर्वले शक्ति, साहस, सद्भाव र सकारात्मकताको सन्देश दिन्छ। ठाडीमा पनि नवरात्रि उत्सवका अवसरमा पूजापाठ सँगै सांस्कृतिक कार्यक्रम, नाचगान तथा झाँकीको आयोजना हुँदै आएको छ। स्थानीयवासीका अनुसार विगतमा ठाडी र लौकहामा लाग्ने दसैँ मेलामा आसपासका धेरै गाउँ बाट मानिसहरू सहभागी हुने गर्थे। भक्तजन तथा यात्रुहरूको चहलपहलका कारण मेला यस क्षेत्रको प्रमुख आकर्षणका रूपमा परिचित थियो। स्थानीय समुदायले आपसी सहयोगमा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको लामो इतिहास छ।
यस वर्ष पनि परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ठाडीका युवाहरूको सहयोगमा पंकज कर्ण नेतृत्वको समितिले विगत चार दिनदेखि पारिवारिक तथा सामाजिक चारखुट्टे नाचसहितका सांस्कृतिक कार्यक्रम सञ्चालन गरिरहेको छ। यसले भक्तजन र स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्नुका साथै पुरानो सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग गरेको छ।
पूजा समिति अध्यक्ष कर्णका अनुसार दशमीको अन्तिम दिन नेपाली सांगीतिक क्षेत्रमा सक्रिय कलाकार जागेश्वर मण्डल र कमेडियन फेकुवासहितको कलाकार टोलीले प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ। उत्सवमा नेपाल–भारत सीमावर्ती क्षेत्रका भक्तजनको आवागमन सहज बनाउन समेत समितिले आग्रह गरेको छ। भारतीय पक्षको सीमा प्रवेशसम्बन्धी झन्झटिलो इन्ट्री प्रणालीका कारण सर्वसाधारणलाई परेको असहजताप्रति गम्भीर हुनुपर्ने अध्यक्ष कर्णले बताए। नवरात्रि तथा दुर्गापूजा समापन सम्म दुवै देशका सुरक्षा निकायले भक्तजनको आवागमनलाई सहज र व्यवस्थित बनाउन सहयोग गर्न समितिले अपिल गरेको छ।
समग्रमा, ठाडीको दुर्गाभगवती मन्दिरमा मनाइँदै आएको ५७औँ नवरात्रि उत्सव धार्मिक आस्था, ऐतिहासिक विरासत, सामाजिक एकता र सांस्कृतिक संरक्षणको महत्त्वपूर्ण उदाहरण बनेको छ। स्थानीय युवाको सक्रियता र सम्पूर्ण समुदायको सामूहिक सहयोगले यस परम्परालाई आगामी पुस्तासम्म निरन्तरता दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved