शियाराम यादव,लहान मंसिर-१३ । रोजगारीको सिलसिलामा भारतको सुरतमा काम गर्दै आएका सिरहा नगरपालिका–१८, लक्ष्मैया निवासी पुरन यादव दुर्घटनामा परी गम्भीर घाइते भएपछि उनको उपचारका लागि यादव सेवा समाज कतारले ४६ हजार आर्थिक सहयोग गरेको छ। विगत १० वर्षदेखि भारतको सुरतमा काम गर्दै आएका यादव घर फर्किने क्रममा रेल चढ्ने बेला दुर्घटनामा परेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बायाँ खुट्टा काट्नुपरेको थियो।
दुर्घटनापछि उनी करिब दुई महिना अस्पतालमा बसेर उपचार गराउन बाध्य भएका थिए। लामो समय अस्पतालमा बसेर उपचार गराए पनि उनको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन। हाल पनि उनको उपचार प्रक्रिया जारी रहेको छ। यादवको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेको छ। परिवारमा रोजगारी गरी आम्दानी गर्ने उनी एक्लो व्यक्ति भएकाले दुर्घटनापछि परिवार थप आर्थिक संकटमा परेको छ। लामो समयदेखि वैदेशिक रोजगारीमा रहेर परिवारको जीविकोपार्जन गर्दै आएका यादव आफैँ दुर्घटनामा परेपछि परिवारको दैनिकीसमेत प्रभावित बनेको छ। उपचारमा लाग्ने खर्च जुटाउन परिवारलाई कठिनाइ भइरहेको अवस्थामा सहयोगको आवश्यकता महसुस गरिएको हो।
यही अवस्थालाई मध्यनजर गर्दै यादव सेवा समाज कतारले मानवीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत पुरन यादवको उपचारका लागि आर्थिक सहयोग गरेको हो। समाजका अध्यक्ष शिवनाथ यादवको विशेष पहलमा सहयोग रकम संकलन तथा हस्तान्तरण गरिएको जनाइएको छ। आर्थिक सहयोग हस्तान्तरणका लागि यादव सेवा समाज कतारका महासचिव शियाराम यादव र सदस्य सञ्जय यादव पुरन यादवको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए। उक्त सहयोग हस्तान्तरण कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसीका सदस्य शिवकुमार महतो तथा सिरहा नगरपालिका–१८ का वडाध्यक्ष शैलेन्द्र यादवको रोहवरमा सम्पन्न भएको हो।
पीडित यादवको कठिन परिस्थितिमा संस्थाले देखाएको सहयोग र सद्भावप्रति परिवारले आभार व्यक्त गरेको छ। अप्ठ्यारो अवस्थामा रहेका व्यक्तिलाई सहयोग गर्नु सामाजिक संस्था तथा विदेशमा रहेका नेपालीहरूको मानवीय दायित्व भएको उल्लेख गर्दै यादव सेवा समाज कतारले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको छ। विदेशमा रहेर पनि आफ्नो गाउँठाउँका दुःख, पीडा र समस्यामा साथ दिँदै आएको यादव सेवा समाज कतारको यस सहयोगले पुरन यादवको उपचारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
लहान प्रादेशिक अस्पतालको सेवा व्यवस्थापनमाथि प्रश्न : बिरामीले घण्टौँ लाइन बस्दा पनि सहज उपचार पाउन कठिन, सुधारको माग
भोरकटैयामा दुई दिवसीय कार्तिक पूर्णिमा मेला महोत्सव सम्पन्न, कुस्ती दंगल र सामा–चकेवाका सांस्कृतिक प्रस्तुतिले थप्यो रौनक
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved