लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पेस्तोल लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा एक थान कटुवा पेस्तोल बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्ने व्यक्ति सोही स्थानका अन्दाजी १८ वर्षीय मोहम्मद अफरोज राईन हुन्।
प्रहरीका अनुसार साउन २० गते राति करिब ९ः१५ बजे इलाका प्रहरी कार्यालय लहानमा मोहम्मद अफरोज राईनले आफ्नै घरमा कटुवा पेस्तोल लुकाएर राखेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। त्यसलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली राति ९ः२० बजे घटनास्थल पुगेको थियो। प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी रीतपूर्वक घरको खानतलासी गर्दा घरभित्र लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला पारेको थियो। उक्त पेस्तोल बरामद गरी इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। अनुसन्धानका क्रममा मोहम्मद अफरोज राईन काठमाडौं महानगरपालिका–३२ स्थित तीनकुनेमा रहेको ‘२०२० ब्वाइज होस्टेल’मा बस्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ।
त्यसपछि इलाका प्रहरी कार्यालय लहानले काठमाडौं प्रहरी वृत्त बानेश्वरसँग समन्वय गरेको थियो। समन्वयपछि काठमाडौंमा रहेका राईनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। हाल उनलाई थप अनुसन्धानका लागि सिरहा ल्याउने प्रक्रिया जारी रहेको छ। प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै अवैध हातहतियारको ओसारपसार तथा प्रयोगलाई नियन्त्रण गर्न प्रहरीले निगरानीलाई थप कडा बनाएको बताए। प्रहरीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
‘घर–घरको शान’ अभियान अन्तर्गत लहान–२ मा स्वच्छता प्रवद्र्धनका लागि सडक नाटक तथा स्वच्छता र्याली सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic