Siraha Times
ताजा समाचार

अध्यक्षकै टोलको सडक बेहाल: नाला अभाव, अतिक्रमण र स्थानीय विवादले महेशाबारीका बासिन्दा सास्तीमा

  • असार २०, २०८३
  • ६५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हिलो, पानी जम्ने समस्या र साँघुरोपनका कारण स्थानीयका लागि दैनिक सास्तीको विषय बनेको छ। विडम्बना के छ भने यो सडक गाउँपालिका अध्यक्ष केदारनाथ यादवको आफ्नै टोलमा पर्छ। स्थानीय सरकार गठनसँगै "आफ्नो गाउँ आफैं बनाऔँ" भन्ने उद्देश्यका साथ विकासको प्राथमिकतामा राखिएको यही क्षेत्रमा अहिले सडकको दयनीय अवस्था देखिएको छ।

स्थलगत अवलोकनका क्रममा सडकका विभिन्न स्थानमा पानी जमेको, सडक हिलाम्मे भएको तथा आवतजावत नै कठिन बनेको देखियो। स्थानीयवासीका अनुसार वर्षायाममा समस्या झन् विकराल बन्छ। दुर्गन्धयुक्त पानीका कारण वातावरण अस्वस्थ बन्दै गएको छ भने बालबालिका, वृद्ध तथा बिरामीलाई आवतजावत गर्न निकै कठिनाइ भइरहेको छ। स्थानीयवासी तथा जनप्रतिनिधिसँगको कुराकानीका आधारमा सडक समस्याका पछाडि धेरै कारण जिम्मेवार रहेको देखिन्छ। सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरिनु, सडक क्षेत्र साँघुरो बनाइनु, स्थानीयबीचको व्यक्तिगत विवाद, दलगत विभाजन तथा नालाको उचित व्यवस्थापन नहुनु मुख्य कारणका रूपमा औँल्याइएको छ।

विशेषगरी अध्यक्षको घरदेखि उत्तरतर्फ रहेको क्षेत्रमा दुई परिवारबीचको लामो विवादका कारण सडकको केही भाग अवरुद्धजस्तै बनेको छ। त्यहाँ ठूलो खाल्डो परेको छ भने सडक अत्यन्त साँघुरो भएकाले सवारी साधन सञ्चालनसमेत जोखिमपूर्ण बनेको छ। यस्तै, घुरण रामको घरदेखि रहमतुल्ला मास्टरको घरसम्मको पक्की सडकमा वर्षाको पानी नदीझैँ बगिरहेको दृश्य देखिन्छ। स्थानीयका अनुसार सडक निर्माणपछि उचित निकासको व्यवस्था नगर्दा पानी सडकमै जम्ने गरेको हो। गाउँपालिका अध्यक्ष केदारनाथ यादवले भने सडक समस्यामा गाउँपालिका मात्र दोषी नरहेको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार सडक सुधारका लागि पटक–पटक प्रयास भए पनि स्थानीयस्तरको विवाद, सार्वजनिक जग्गा अतिक्रमण तथा केही व्यक्तिको असहयोगका कारण समस्या समाधान हुन सकेको छैन। स्थलगत अध्ययनका क्रममा स्थानीयवासीहरूले पनि सडकमा पानी थुनिने, नाला बन्द गरिने तथा सडक क्षेत्रमै संरचना निर्माण गरिनु समस्याको प्रमुख कारण रहेको स्वीकार गरेका छन्। यसले सडकको आयु घटाउनुका साथै सर्वसाधारणको जनजीवन प्रत्यक्ष प्रभावित भएको देखिन्छ। यस क्षेत्रमा लामो समयसम्म फोहोर पानी जमिरहेमा डेंगु, झाडापखाला, छालासम्बन्धी रोगलगायत विभिन्न सरुवा रोग फैलिने जोखिम बढ्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

त्यसैले सम्बन्धित निकाय र स्थानीय समुदाय दुवैले तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ। स्थानीय पूर्वाधार विज्ञहरूका अनुसार सडक निर्माण गर्दा नालाको वैज्ञानिक व्यवस्थापन, पानी निकासको उचित योजना तथा मापदण्डअनुसार डिजाइन गरिएको भए अहिलेको अवस्था सिर्जना हुने सम्भावना निकै कम हुने थियो। बिना नाला निर्माण गरिएका पक्की सडकहरू वर्षायाममा छिट्टै क्षतिग्रस्त हुने र मर्मतमा थप सरकारी खर्च लाग्ने जोखिम रहन्छ। विकास केवल सडक ढलान गरेर मात्र पूरा हुँदैन।

त्यसको दिगोपनका लागि प्राविधिक मापदण्डको पालना, सार्वजनिक जग्गाको संरक्षण, स्थानीयको सहयोग र प्रभावकारी अनुगमन पनि उत्तिकै आवश्यक हुन्छ। महेशाबारीको यो सडक त्यसैको एउटा उदाहरण बनेको छ। अब सम्बन्धित निकाय, जनप्रतिनिधि र स्थानीयवासीबीच सहकार्य गरी नाला व्यवस्थापन, अतिक्रमण हटाउने, पानी निकासको दीर्घकालीन समाधान गर्ने तथा सडकलाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ तत्काल पहल नगरे यस क्षेत्रको समस्या अझ जटिल बन्ने देखिन्छ। जनताको करबाट निर्माण भएका सार्वजनिक पूर्वाधारको संरक्षण गर्नु सरकारसँगै नागरिकको पनि साझा दायित्व हो।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१