ओम प्रकाश यादव लहान, असार ११। सप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ५२ करोड रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्दै आफ्नो १३औँ गाउँसभा सम्पन्न गरेको छ। गाउँपालिकाको सभा हलमा बुधबार आयोजित गाउँसभाले विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको कार्यदिशा तय गरेको हो।
गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा सम्पन्न सभामा गाउँपालिका उपाध्यक्ष रेनु यादव प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, वडा नं. १ का अध्यक्ष रामकुमार यादव, वडा नं. ३ का अध्यक्ष राजकिसोर यादव तथा वडा नं. ५ का वडा सदस्य उपेन्द्र यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी कार्यपालिका सदस्य सञ्जीव कुमार शर्मा, सन्तोष कुमार साह, महिला सदस्यहरू सरस्वती कुमारी यादव, अमला देवी यादव, अम्बिका दास, वडा सदस्यहरू उमेश पासवान, देवु रामलगायत जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष खेमचन्द्र यादवले आफ्नो नेतृत्वको स्थानीय सरकारले आर्थिक वर्ष २०७९/०८० देखि नै निरन्तर रूपमा समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आएको बताए। उनले आर्थिक वर्ष २०७९/०८०, २०८०/०८१, २०८१/०८२, २०८२/०८३ र आगामी २०८३/०८४ सम्मका सबै बजेट तथा कार्यक्रम असार १० गतेभित्रै गाउँसभाबाट पारित गरिएको उल्लेख गर्दै यसलाई स्थानीय सरकारको कार्यक्षमता, पारदर्शिता र विकासप्रतिको प्रतिबद्धताको उदाहरणको रूपमा व्याख्या गरे।
उनले भने, “स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो। विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउन हामीले योजनाबद्ध रूपमा काम गरिरहेका छौँ। आगामी वर्ष पनि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ।”
अध्यक्ष यादवले गाउँसभालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण गाउँसभा सदस्य, कर्मचारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा बलान बिहुलवासीप्रति आभार व्यक्त गरे। उनले जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीचको सहकार्यले गाउँपालिकालाई विकासको मार्गमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
गाउँसभामा प्रस्तुत बजेट तथा नीति कार्यक्रममाथि सदस्यहरूले विभिन्न सुझाव र धारणा राखेका थिए। कृषि उत्पादन वृद्धि, युवामुखी रोजगार कार्यक्रम, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, सडक तथा पूर्वाधार विकास, खानेपानी तथा सामाजिक सुरक्षा सम्बन्धी योजनाहरूलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव सहभागीहरूले दिएका थिए।
विस्तृत छलफल र सुझाव संकलनपछि आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित करिब ५२ करोड रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरिएको घोषणा गरिएको थियो। गाउँपालिकाले उक्त बजेटलाई विकास निर्माण, सेवा प्रवाह सुधार, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रमहरूमा केन्द्रित गर्ने जनाएको छ।
कार्यक्रममा बिओपी बेल्ही तथा रामनगरका इन्चार्ज, प्रहरी चौकी बेल्ही र मल्हनियाका प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी, नगर प्रहरी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
गाउँसभाको स्वागत मन्तव्य कार्यपालिका सदस्य सञ्जीव कुमार शर्माले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन तथा समग्र व्यवस्थापनबारे जिन्सी शाखा प्रमुख सुरेन्द्र कुमार यादवले जानकारी गराएका थिए। उनले गाउँपालिकाले हालसम्म सञ्चालन गरेका विकास निर्माण, प्रशासनिक सुधार तथा सेवा प्रवाहसम्बन्धी गतिविधिहरूबारे पनि संक्षिप्त विवरण प्रस्तुत गरेका थिए।
गाउँपालिकाका जनप्रतिनिधिहरूले समयमै बजेट तथा नीति कार्यक्रम पारित हुनु प्रभावकारी स्थानीय शासन, योजनाबद्ध विकास र जनउत्तरदायी प्रशासनको संकेत भएको बताएका छन्। गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले आगामी वर्ष गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic