Siraha Times
ताजा समाचार

कटनिया नदीमा पुल निर्माणप्रति स्थानीय असन्तुष्टि: कमसल सामग्री प्रयोगको आरोप, गुणस्तरमाथि प्रश्न

  • वैशाख १६, २०८३
  • ३१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं देखि पुल अभावका कारण वर्षायाममा स्थानीयवासीले भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा सहित हाल दुई स्थानमा पक्की पुल निर्माण कार्य अघि बढेको छ। बरियारपट्टी–पतारी सडकखण्डको बलुवा क्षेत्रमा समेत सोही नदीका कारण देखिएको समस्या समाधान तर्फ काम सुरु हुनु स्थानीयका लागि सुखद खबर मानिएको छ।

तर, निर्माण कार्यसँगै गुणस्तरमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। विशेषगरी स्थानीय युवाहरूले पुल निर्माणमा कमसल सामग्री प्रयोग भइरहेको आरोप लगाएका छन्। उनीहरूको सूचनाको आधारमा स्थलगत रिपोटिङमा पुगेको संचारकर्मी टोलीले दुवै निर्माणस्थलमा निर्माण व्यवसायीका प्रतिनिधि नभेटिँदा यथार्थ बुझ्न कठिन भएको थियो। जिरोमाइल–बरियारपट्टी सडकलाई मुख्य व्यापारिक मार्गको रूपमा लिइन्छ भने बरियारपट्टी–पतारी सडकखण्ड छोटो दूरीको वैकल्पिक मार्गका रूपमा विकास गरिएको छ।

उक्त सडक सलहेश मार्गको रूपमा प्रयोग हुँदै मेदनीपुरमा लोकमार्ग सँग जोड्ने सरकारी योजना रहेको छ। हाल रामपुरसम्म कालोपत्रे भइसकेको छ भने करिब ५ किलोमिटर खण्ड पूरा भएमा यात्रा समय करिब २० मिनेटमा सीमित हुने अपेक्षा गरिएको छ। यो सडकखण्ड केवल यातायातका हिसाबले मात्र नभई धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। बरियारपट्टी हुँदै पतारी पोखरी, हरिदेव सिंह मन्दिर, विद्यापति स्थल, सलहेश फूलबारी, माणिकदह, पकडरियागढ, पञ्चावती राजदेवी मन्दिर ढोडना, हातीदह, ब्रह्मान गोर्छारी हुँदै भगवानपुरको बालासुन्द्री भगवती मन्दिर जोडिने “सलहेश सर्किट” को रूपमा यसलाई विकास गर्ने योजना छ।

तर, यति महत्वपूर्ण योजनाअन्तर्गत निर्माण भइरहेका पुलको गुणस्तरमाथि उठेको प्रश्नले स्थानीय नागरिक समाज र युवाहरूलाई चिन्तित बनाएको छ। “कतै कमला नदीको पुलजस्तै अवस्था दोहोरिने त होइन?” भन्ने आशंका स्थानीय तहमा व्यापक रूपमा उठ्न थालेको छ। सिरहा जिल्ला राजा सलहेशको ऐतिहासिक गाथा सँग जोडिएको क्षेत्र हो। हरेक वर्ष नयाँ वर्षको अवसरमा तथा राजा सलहेश, बुधेस्वर, देउना मालिन, चुहरमल र चन्द्रावती सँग सम्बन्धित परम्परालाई सम्झँदै लाग्ने मेलामा स्वदेशी तथा विदेशी पर्यटकको ठूलो भीड लाग्ने गर्छ।

विशेषगरी भारत बाट पासवान (दुसाद) समुदायका श्रद्धालुहरू उल्लेख्य संख्यामा आउने गरेका छन्। यद्यपि, सडक सञ्जालको दुरुस्ती र आवश्यक पूर्वाधारको अभावले पर्यटन प्रवर्द्धनमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। थाना चौकदेखि किसनपुर, लालपुर, लरकनहा, देविपुर हुँदै दहिपौरीसम्म निर्माण भएको सलहेश मार्ग समेत हाल जीर्ण बन्दै गएको छ भने बीचमा पर्ने गागन नदीमा पुल नहुँदा आवागमनमा समस्या यथावत छ।

स्थानीयवासीहरूका अनुसार सरकारले पूर्वाधार विकासका लागि पहल गर्नु सकारात्मक भए पनि गुणस्तरहीन निर्माणले दीर्घकालीन रूपमा नागरिक र राष्ट्र दुवैलाई नोक्सान पुर्‍याउनेछ। उनीहरूले सम्बन्धित निकायलाई समयमै अनुगमन गरी गुणस्तरीय निर्माण सुनिश्चित गर्न माग गरेका छन्। यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण भई पारदर्शी र गुणस्तरीय निर्माण सुनिश्चित गर्न सके मात्र स्थानीयको विश्वास कायम हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१