Siraha Times
ताजा समाचार

सिरहामा सहकारी विवाद चर्कियो: बचत रकम फिर्ता नहुँदा पीडित महिलाहरूको गुनासो, तीन दिनभित्र समाधान नगरे आन्दोलनको चेतावनी

  • वैशाख १६, २०८३
  • ३९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ठगी सम्बन्धी गम्भीर आरोप सार्वजनिक भएको छ। नवराजपुर गाउँपालिका–३ का युवा नेता सुरेश यादवले उक्त सहकारीले ग्रामीण भेगका सर्वसाधारण महिलाहरूलाई वर्षौं देखि बचत रकम जम्मा गर्न लगाएर अहिले निकासा दिन आनाकानी गरिरहेको बताएका छन्।

यादवका अनुसार पीडित महिलाहरूको ठूलो समूह आफ्ना समस्या लिएर उनीसमक्ष पुगेपछि आफू स्वयं उनीहरू सँगै सहकारीको शाखा कार्यालय पुगेका थिए। “स्थलगत रूपमा बुझ्दा बचतकर्ताहरूको रकम फिर्ता गर्न संस्थाले आलटाल गरिरहेको स्पष्ट देखियो,” उनले भने। उनले थप जानकारी दिँदै सहकारी व्यवस्थापनलाई तीन दिनभित्र समस्या समाधान गर्न समय दिइएको बताए। “तोकिएको समय भित्र बचतकर्ताको रकम फिर्ता नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छौं,” यादवले स्पष्ट पारे।

उक्त सहकारीको लहान शाखामा पनि यस्तै समस्या देखिएको स्थानीयहरूले बताएका छन्। बचत फिर्ता लिन महिलाहरू दैनिकजसो कार्यालय धाउने गरेको जनाइएको छ। यसैबीच, सखुवानन्कारकट्टी गाउँपालिका–४ र ५ का महेशबारी–खैरबोना क्षेत्रका करिब दुई दर्जन महिलाले आफ्नो बचत फिर्ता नपाएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिसकेको स्रोतले जनाएको छ। स्थानीय समुदायमा सहकारीले समूहमा आबद्ध गराएर सहुलियत ऋणको प्रलोभन देखाई पहिले बचत संकलन गर्ने र पछि रकम फिर्ता गर्ने बेलामा ढिलाइ गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो व्यापक रूपमा सुनिन थालेको छ।

यसले सर्वसाधारण नागरिक, विशेषगरी आर्थिक रूपमा कमजोर वर्ग, थप मारमा परेको देखिन्छ। यस्तो अवस्थामा बचतकर्ताको रकम किन रोकिएको हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ। सम्भावित आर्थिक अनियमितता वा व्यवस्थापन कमजोरी बारे सम्बन्धित निकायले तत्काल छानबिन गरी समाधान निकाल्नु पर्ने माग स्थानीय स्तरबाट उठ्न थालेको छ।

समयमै सरोकारवाला निकायको ध्यान नपुगेमा समस्या झनै जटिल बन्ने र ठूलो सामाजिक तथा आर्थिक संकट निम्तिने जोखिम देखिएकोले पीडितहरूले छिटोभन्दा छिटो न्याय पाउनु पर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१