लहान,माघ १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. १ का उम्मेदवार सत्य नारायण यादव ज्यूले लहान नगरपालिका वडा नं. ४ मा स्थानीय जनसमुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।
भेटघाटका क्रममा यादव ज्यूले वडावासीसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यलगायतका ज्वलन्त समस्याबारे धारणा सुन्नुभएको थियो। स्थानीयवासीहरूले दीर्घकालीन विकास योजना, पारदर्शी शासन र जनमुखी कार्यक्रमको आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा उम्मेदवार यादव ज्यूले मधेसको हक–अधिकार, सामाजिक न्याय र समावेशी विकास जसपा नेपालको प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै, निर्वाचित भएमा क्षेत्र नं. १ को समग्र विकासका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहभागी युवाहरूले रोजगारीको अभाव र वैदेशिक पलायनको समस्याबारे चिन्ता व्यक्त गरेका थिए। यस सन्दर्भमा यादव ज्यूले स्थानीय स्तरमै सीपमूलक तालिम, कृषि तथा साना उद्योग प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न पहल गरिने स्पष्ट पार्नुभयो।
लहान वडा नं. ४ मा आयोजित उक्त जनभेटघाट कार्यक्रममा स्थानीय अगुवा, बुद्धिजीवी, युवाहरू तथा पार्टीका कार्यकर्ता–समर्थकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा परिवर्तन र विकासका लागि जसपा नेपाललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic