ओम प्रकाश यादव लहान माघ ७ । श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय, रघुनाथपुर लहान–३ मा आज माघ ७ गते खेलकुद सामग्री हस्तान्तरण, ब्याडमिन्टन कोर्ट उद्घाटन तथा वडा कार्यालय लहान–३ बाट उपलब्ध गराइएको खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष महेश कुशवाहाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा न.३ का वडा अध्यक्ष रामदयाल महतो प्रमुख अतिथिका रूपमा उपस्थित थियो भने अतिथिमा वि.व्य.स. सदस्यहरू रहेको थियो । कार्यक्रममा वडा कार्यालय लहान–३ को सहयोगमा विद्यालयलाई विभिन्न प्रकारका खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो । यसका साथै विद्यालय परिसरमै निर्माण गरिएको ब्याडमिन्टन कोर्टको औपचारिक उद्घाटन पनि गरिएको छ ।
संयोजक श्यामसुन्दर महतोका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष रामदयाल महतोले शिक्षा सँगसँगै खेलकुदलाई पनि समान महत्व दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, सहकार्य र आत्मविश्वास विकास गर्न सहयोग पुर्याउने बताउँदै वडा कार्यालयबाट सम्भव हुने सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयमा खेलकुद पूर्वाधार विकासले विद्यार्थीलाई स्वस्थ र प्रतिस्पर्धी बनाउन मद्दत गर्ने उहाँको भनाइ थियो । अध्यक्ष महेश कुशवाहाले विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा स्थानीय समुदायको सहकार्यमा विद्यालयलाई शैक्षिक मात्र नभई खेलकुद, सांस्कृतिक र नैतिक विकासको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले विद्यालयमा आवश्यक पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा र सह–पाठ्यक्रम गतिविधिमा जोड दिँदै खेलकुद सामग्री प्राप्त हुनु विद्यालयका लागि उपलब्धि भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका संयोजक श्यामसुन्दर महतोले कार्यक्रमको उद्देश्य र उपलब्धिबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता संरचना र सामग्री आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार ब्याडमिन्टन कोर्ट उद्घाटनपछि विद्यार्थीहरू नियमित अभ्यासमा सहभागी हुनेछन्, जसले विद्यालयस्तरदेखि नै खेलकुद प्रतिभा पहिचान र विकासमा टेवा पुर्याउनेछ ।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, वडा प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले विद्यालयमा खेलकुद वातावरण सिर्जना हुनु सकारात्मक पहल भएको प्रतिक्रिया दिएका थिए । अन्त्यमा कार्यक्रम सफल रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक पक्षले धन्यवाद ज्ञापन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic