लहान, भदौ १२ । सुखिपुर नगरपालिकाका नगर प्रमुख रामअवतार यादवमाथि गम्भीर भ्रष्टाचार, अनियमितता र दुरुपयोग गरेको आरोप लगाउँदै पाँच दलीय मोर्चाले नगरसभाको बैठक बहिष्कार गरेको छ। उक्त पाँच दलीय मोर्चाले बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाभित्र भइरहेको बेथिति, अनियमितता र जनविरोधी गतिविधि सार्वजनिक गर्दै विरोध गरेको हो ।
सुखिपुरको उद्योग वाणिज्य संघको सभा हलमा पत्रकार सम्मेलन गरी बिरोध जनाएका हुन बिरोध कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी र जनता समाजवादी पार्टीले संयुक्त रुपमा नगरसभाको बहिष्कार घोषणा गरेका हुन् । उनीहरुले नगर प्रमुख यादवको नेतृत्वमा सुखिपुर नगरपालिका भित्र बजेट दुरुपयोग, योजनामा मनपरी, नातावादका आधारमा विकास निर्माणका ठेक्का वितरण, अनावश्यक खर्च र जनताले पाउने सेवा सुविधामा ठुलो कटौती भएको आरोप लगाएका छन् ।
संयुक्त मोर्चाका नेताहरुले नगर प्रमुख यादवले कानूनी प्रावधान र नियमावली उल्लंघन गर्दै कार्यपालिका र नगरसभा दुबैलाई निष्प्रभावी बनाएको दाबी गरे । नगरपालिकाको योजना तर्जुमा गर्दा जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय नागरिकलाई उपेक्षा गरिएको, योजनामा पारदर्शिता नदेखिएको र सम्पूर्ण काममा ठेकेदार र दलालको हालीमुहाली मात्र देखिएको उनीहरुको आरोप छ। कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सुखिपुर नगर समिति सभापति मिथुन कुमार यादवले भने, “नगर प्रमुख यादवले नगरपालिकालाई आफ्नो व्यक्तिगत जागिर बनाएका छन्। विकासभन्दा बढी भ्रष्टाचारलाई प्राथमिकता दिइएको छ। यस्तो अवस्थामा हामी मौन बस्दैनौं।”
त्यस्तै जसपा नेपालका प्रत्यासी उमेदवार नेता जीबछ यादवले नगरपालिकामा भएका कामकाज जनप्रतिनिधिको सहमतिबिना गरिँदा पारदर्शिताको खडेरी देखिएको बताए। उनका अनुसार नगर प्रमुखले कार्यपालिका बैठकलाई औपचारिकतामा मात्र सीमित बनाएका छन् र बजेट खर्चमा गम्भीर अनियमितता भएको प्रमाण पनि सार्वजनिक भएको छ। संयुक्त मोर्चाले सार्वजनिक गरेको विज्ञप्तिमा नगर प्रमुख यादवले गत आर्थिक वर्षमा मात्र करिब करोडौ बराबरको बजेट अनियमित ढंगले प्रयोग गरेको छ सार्वजनिक खरिद ऐन र लेखा परीक्षणको कानूनी प्रावधान उल्लंघन गरेको तथा नागरिकस्तरमा असन्तोष फैलाएको उल्लेख गरिएको छ।
“सुखिपुर नगरपालिका अहिले जनताको होइन, केही व्यक्तिको हातमा परेको छ। योजना छनोटदेखि कार्यान्वयनसम्म सबैतिर कमिशनको खेल देखिन्छ।” जसपाका नेताहरुले समेत नगरपालिकाको गतिविधि प्रति आक्रोश व्यक्त गरे । सामूहिक विज्ञप्तिमार्फत पाँच दलीय मोर्चाले नगरसभाको बहिष्कार गर्नुको कारण जनतालाई बुझाउँदै भनेका छन्– “नगर प्रमुख यादवले जनप्रतिनिधि र सरोकारवालाको सल्लाह बेवास्ता गर्दै मनपरी शासन चलाएका छन्। भ्रष्टाचार र अनियमितताले चरम सीमा नाघेकाले हामी नगरसभामा सहभागी हुन सक्दैनौं।”
संयुक्त मोर्चाले नगर प्रमुख यादवलाई तत्काल भ्रष्टाचारको छानबिन गर्न, दुरुपयोग भएको बजेट फिर्ता गर्न र भविष्यमा पारदर्शी शासन प्रणाली सुनिश्चित गर्न आग्रह गरेको छ। स्थानीय नागरिकहरुले पनि नगर प्रमुखमाथि लगाइएका आरोपप्रति गम्भीर चासो व्यक्त गरेका छन् । उनीहरुले पत्रकार सम्मेलनमा पाँच दलीय मोर्चाको निर्णयलाई समर्थन जनाउँदै जनताको पैसा सही ठाउँमा प्रयोग गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic