Siraha Times
ताजा समाचार

लहान नगरपालिकाले खुट्टी नहर विवाद समाधानका लागि वार्ताको आह्वान

  • फागुन १०, २०८१
  • ६५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स फाल्गुन १० , लहान, सिरहा – लहान नगरपालिकाले खुट्टी नहर विवादलाई वार्तामार्फत समाधान गर्न खुट्टी नहर संयुक्त संघर्ष समितिलाई वार्तामा बस्न औपचारिक आह्वान गरेको छ। नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाले कानुनी प्रक्रिया तथा विकास निर्माण कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनरत पक्षलाई छलफलमा आउन आग्रह गरेको छ।

लहान नगरपालिकाले ८.५ करोड लागतमा खुट्टी नहर क्षेत्रलाई व्यवस्थित गर्दै सिंचाइ प्रणालीलाई असर नगरी नहरमा ४ फिटको ह्युम पाइप राखेर त्यसको माथिल्लो भागमा पैदलमार्ग, विश्रामस्थल, खुला व्यायाम स्थल, सार्वजनिक शौचालय तथा भोजनालय निर्माण गर्ने योजना अघि बढाएको थियो। तर, संघर्ष समितिले उक्त आयोजनाले सिंचाइ प्रणालीमा अवरोध पुग्ने दाबी गर्दै आन्दोलन सुरु गरेको थियो।

संघर्ष समितिले उच्च अदालत जनकपुर राजविराज इजलासमा परियोजना रोक्न निषेधाज्ञासहित मुद्दा दायर गरेपछि अदालतले २०८१/०९/०४ मा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको निर्णय गरेको छ। अदालतको आदेश अनुसार, नगरपालिकाको विकास निर्माण कार्य रोक्ने कुनै कानुनी अवरोध छैन, तर नहरको सिंचाइ प्रणालीलाई असर नगर्ने गरी आयोजना अघि बढाउनु पर्ने स्पष्ट गरिएको छ।

नगरपालिकाले न्यायिक प्रक्रियाको सम्मान गर्दै हालसम्म निर्माण कार्य स्थगित गरेको बताउँदै अदालतको आदेशको अपव्याख्या गरेर आन्दोलनलाई निरन्तरता दिनु उचित नहुने जनाएको छ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिबासको निर्देशनलाई पनि सम्मान गर्दै कानुनी दायरामा रहेर योजना अघि बढाइने बताएको छ।

नगर प्रमुख चौधरीले नगरबासीको हित, समृद्धि र विकासका लागि लहान नगरपालिका जहिले पनि तत्पर रहेको भन्दै कुनै पनि विवादको समाधान संवादबाट खोज्नुपर्ने बताए। उनले खुट्टी नहर संघर्ष समितिलाई वार्तामा आउन आग्रह गर्दै वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उच्च अदालतको अन्तिम सुनुवाइ २०८१/११/२१ मा हुने भएकाले त्यसपछि नै मुद्दाको टुंगो लाग्ने विश्वास नगरपालिकाले लिएको छ। अब संघर्ष समितिले वार्तामा सहभागी हुने वा आन्दोलनलाई निरन्तरता दिने भन्ने निर्णय चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हा नगरपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थाम ...

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१