ओम प्रकाश यादव लहान, १७ माघ । सिरहाको लहान नगरपालिका–१४ गुदीगाउँ बस्तीपुरका विष्णु देव यादव मिटरव्याजीको फन्दामा फस्दा आफ्नो घरजग्गा गुमाउन बाध्य भएका छन् । स्थानीय विष्णुदेव यादवले २०७१ सालमा लहान प्राविधिक शिक्षालयका शिक्षक सुर्यदेव यादवसँग ४ लाख २० हजार रुपैयाँ ऋण लिएका थिए । ऋण वापत विष्णु देव यादवले सुर्यदेव यादवकी पत्निको नाममा आफ्नो एक कट्ठा घरघडेरी नामसारी गरिदिएका थिए ।
विष्णु देव यादवले ऋण लिएको दुई वर्षमै साँवा रकम फिर्ता गरेका थिए । जब उनले व्याज बुझाउन गए, तब मिटरव्याजी शिक्षक सुर्यदेव यादवले घरजग्गा खाली गर्न दबाब दिए । पटक–पटक व्याज बुझाउने प्रयास गर्दा पनि जग्गा फिर्ता गराउन नसकेपछि विष्णु देव यादवले सम्बन्धित निकायमा उजुरी दिएका थिए । तर, प्रशासन मौन बसेपछि उनी संघर्ष गर्न बाध्य भएको बताउँछन् ।
"मैले ऋण लिएको दुई वर्षमै साँवा रकम फिर्ता गरिसकेको हुँ, व्याज बुझाउन जाँदा पनि जग्गा फिर्ता दिन मान्नुभएन । अहिले कानुनी प्रक्रिया चलिरहेको छ तर सम्बन्धित निकायहरू मौन छन्," पीडित विष्णु देव यादवले बताए । विष्णुदेव यादवका अनुसार ४ लाख २० हजार रुपैयाँ ऋण लिएबापत सुर्यदेव यादवले उनको ४० लाख भन्दा बढी मूल्य पर्ने घरजग्गा कब्जा गरेका छन् । पीडित विष्णु देव यादवकी पत्नी दुखनी यादवले आँसु झार्दै भनिन्, "अब वालबच्चा लिएर कहाँ जाने ? ऋणमाथि ऋण छ, व्याजमाथि व्याज तिरेर पनि घरजग्गा फिर्ता पाइएन ।"
यस घटना सम्बन्धी बुधबार लहानमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा मिटरव्याजविरुद्ध संघर्ष समिति, सिरहाका अध्यक्ष श्याम विकले पीडितलाई न्याय नदिए आफूहरू आन्दोलनमा जाने चेतावनी दिए । "शिक्षक सुर्यदेव यादवले तत्काल जग्गा फिर्ता गरेनन् भने लहान प्राविधिक शिक्षालयकै अगाडि धर्ना दिन्छौं । मिटरव्याजीविरुद्ध कडा कारबाहीको माग गर्छौं," उनले भने । विवादित घरजग्गामाथि हाल हाइटेन्सन लाइन गएको छ । सो लाइनका कारण उक्त जग्गाका लागि सरकारबाट मुअब्जा प्रदान गरिनेछ । तर, शिक्षक सुर्यदेव यादवले आफूलाई मुअब्जा दिलाउन वडा कार्यालयमा सिफारिस गराउन खोज्दा विष्णु यादवले त्यसमा रोक लगाएका छन् ।
विष्णु देव यादवको परिवार अहिले घरविहीन हुने डरले त्रासमा छ । "हाम्रो लागि बस्ने यही एउटा घरजग्गा हो, यही पनि खोसियो भने हामी कहाँ जाने ?" पीडित यादवले भने । पीडित पक्षले राज्यका सम्बन्धित निकायलाई शीघ्र हस्तक्षेप गरी आफ्नो घरजग्गा फिर्ता गराउन आग्रह गरेका छन् । साथै, मिटरव्याजी प्रवृत्ति विरुद्ध कडा कानुनी कारबाही हुनुपर्ने माग राख्दै संघर्ष समितिले चाँडो न्याय नपाए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic