बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट अचेत भएपछि उनलाई आईसीयूमा उपचार हुँदै

  • पुस १०, २०८१
  • ५६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनगढी पुस १०। कैलालीको भजनी नगरपालिकामा एक महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटना बाहिरिएको छ । गाउँलेहरूको एक समूहले पुस ४ गते दिउँसो ३ बजे नै ३० वर्षीय महिलालाई घरबाट तान्दै घिसारेर लगेर मरणासन्न हुने गरी कुटपिट गरेको घटना बाहिरिएको हो । कुटपिटबाट अचेत भएपछि उनलाई त्यही दिन बेलुका ५ बजे आफन्तले भजनी नगरपालिकाको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई धनगढी रिफर गरियो ।

अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ । उनको होस आए पनि मानसिक रूपमा विक्षिप्त बनेकी छन् । उपचारमा संलग्न चिकित्सक विदुरमणि ढकालले कुटपिटले मांसपेशीमा नराम्रोसँग असर परेको बताए । रगतमा इन्फेक्शन पनि हुन सक्ने र मुटुमा असर पुग्न सक्ने भएकाले केही दिन निगरानीमा राखेको डाक्टर ढकालले जानकारी दिए ।

पीडित महिलाकी आमाका अनुसार गाउँकै भलमन्सा लालबहादुर चौधरी र गुरुबाको आदेशमा गाउँलेहरूले उनलाई बोक्सी भन्दै कुटेका हुन् । त्यसअघि पनि उनलाई कुटपिट भएको थियो । उनकी आमाले भनिन्, ‘गाउँलेहरू पुस १ गते राति घरमा आए । राति ८ बजे आएका गाउँलेले घरमै कुटपिट गरेका थिए ।’ पीडितकी आमाका अनुसार गाउँलेहरूले ‘म बोक्सी हुँ, गल्ती गरेँ, माफ गर’ भन्न लगाएका थिए । तर छोरीले ‘म बोक्सी होइन, किन माफी माग्ने’ भनेपछि कुटपिट गरेको उनले सुनाइन् । गाउँलेहरूले लाठी र खुट्टाले निर्घात कुटपिट गरेको उनकी आमाले बताइन् । उनको शरीरभरि नीलडाम रहेको अस्पतालले जनाएको छ । मारिदिने भन्दै कोदालोले हिर्काउँदा उनी बेहोश भएको उनकी आमाले पिरलो सुनाइन् । बेहोस भएपछि बचाउन गएका उनका भाइलाई पनि गाउँले कुटपिट गरेका छन् । यहाँसम्म कि बोक्सीको सन्तानलाई सिध्याउनुपर्छ भन्दै गाउँलेहरूले पीडितका छोरालाई समेत कुटपिट गरेको परिवारको आरोप छ ।

पीडित महिलाका पाँच र दुई वर्षका दुई छोरा छन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् । आर्थिक अवस्था कमजोर भएकाले बोक्सी भन्दै हेप्ने गरेको आफन्तले बताएका छन् । घटना घटेको एक साता बित्नै लाग्दासमेत प्रहरी प्रशासन भने पीडकलाई जोगाउन उद्यत देखिएको छ । प्रहरीले उल्टै पीडककै पक्ष लिएको पीडितको दुखेसो छ । कुटपिटमा संलग्न ६ जना विरुद्ध पीडितका परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनीहरूमध्ये चार जनालाई पक्राउ गरिए पनि दुई जनालाई अझै नियन्त्रणमा लिइएको छैन । इलाका प्रहरी कार्यालय भजनीका प्रमुख तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा लाहनु चौधरी, मनोज चौधरी, रूपा चौधरी र बाबुराम चौधरी पक्राउ परेका छन् । किटानी जाहेरी परेका जयराम चौधरी र करन चौधरीलाई अझै पक्राउ नगरिएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । बोक्सीको आरोप ९कसूर र सजाय ऐन० २०७२ को दफा ११ को उपदफा ९ङ०मा पाँचदेखि आठ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

यसैबिच अधिकारवादी संघ संस्थाहरुले पीडकलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् । थारु कल्याणकारिणी सभा कैलालीका पूर्वसभापति माधव थारुले पीडितको स्वास्थ्य उपचार र समाजमा सम्मानपूर्वक जीवन जिउने अधिकार राज्यले प्रत्याभूत गर्नुपर्ने बताउँछन् । उनले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिए । महिला पुनर्स्थापना केन्द्र (ओरेक) का कैलाली जिल्ला संयोजक गीता चौधरीले पीडित महिलाको स्वास्थ्यमा अझै सुधार हुन नसकेको बताइन् । सामाजिक तिरष्कारले उनी मानसिक रुपमा विक्षिप्त रहेको चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको मौवाहीमा स्व ...

ओम प्रकाश यादव लहान, २६ बैशाख । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१, मौवाहीमा निर्माण ...

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१