Siraha Times
ताजा समाचार

लागूऔषध सेवन गरी सवारी चलाउने ६ चालक पक्राउ, ट्राफिक प्रहरीको सचेतना अभियान तीव्र

  • असोज ७, २०८३
  • ३७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले लागूऔषध सेवनविरुद्धको जाँचसँगै चालक तथा सर्वसाधारणलाई लक्षित सचेतना अभियानलाई तीव्रता दिएको छ।

“लागू पदार्थ सेवन नगरौँ” भन्ने मूल नाराका साथ मंगलबार भगवानपुर गाउँपालिका–१ स्थित भगवानपुर चोकको हुलाकी सडकखण्डमा गरिएको लागूऔषध सेवन (ला.प.से.) परीक्षणका क्रममा ६ जना चालकमा लागूऔषध सेवनको परीक्षण सकारात्मक देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार शंकास्पद १६ जना चालकको परीक्षण गरिएकोमा ६ जनाको परीक्षण सकारात्मक आएको हो। परीक्षणका क्रममा भगवानपुर गाउँपालिका–१ का का.बा.वडा अध्यक्ष इन्द्रप्रसाद यादव, इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनी, स्वास्थ्यकर्मी तथा स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति थियो।

प्रहरीले लागूऔषध सेवन गरी सवारी चलाउनु चालक स्वयं, यात्रु तथा सडकमा हिँड्ने अन्य सर्वसाधारणका लागि समेत गम्भीर जोखिम हुने भन्दै नियमित परीक्षण र सचेतना अभियानलाई निरन्तरता दिने जनाएको छ। यसै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटहरूले “मर्यादित चालक, सुरक्षित यात्रा” भन्ने मूल नाराका साथ विद्यालयका विद्यार्थी, मोटरसाइकल चालक, पैदलयात्री तथा ग्रामीण सडकखण्डका सवारी चालकलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्।

कार्यक्रममार्फत चालकहरूलाई तीव्र गतिमा सवारी नचलाउन, मोटरसाइकलमा क्षमताभन्दा बढी व्यक्ति नबसाउन, अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न तथा हेल्मेटको बेल्टसमेत लगाउन आग्रह गरिएको छ। त्यस्तै, मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी नचलाउन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न तथा आवश्यक कागजात साथमा राख्न चालकहरूलाई सचेत गराइएको छ।

प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका व्यक्तिलाई सवारी नचलाउन दिनसमेत सवारीधनीलाई आग्रह गरेको छ। सवारीसाधनको समयानुकूल मर्मतसम्भार, सुरक्षित पार्किङ, ट्राफिक संकेतको जानकारी तथा सडकमा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानीबारे समेत सर्वसाधारणलाई जानकारी गराइएको छ। दुर्घटना भएको सूचना प्राप्त भए तत्काल घाइतेको उद्धारमा सहयोग गर्न तथा नजिकको प्रहरी युनिट वा १००/१०३ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

सवारी दुर्घटना बढिरहेको अवस्थामा लागूऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको परीक्षण, ग्रामीण सडकमा लक्षित निगरानी र चालक–सर्वसाधारण केन्द्रित सचेतना अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले एकसाथ अघि बढाउनु सकारात्मक र समयसापेक्ष पहलका रूपमा लिइएको छ। ट्राफिक नियम पालना, जिम्मेवार चालक व्यवहार र तत्काल उद्धारसम्बन्धी जनचेतनाले सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने भएकाले प्रहरीको अभियानमा चालक, यात्रु, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदाय सबैको सहकार्य आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस

ठाडीमा सशस्त्र प्रहर ...

कुलानन्द यादव लहान असोज ६ । सिरहाको ठाडी सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइएको सामान भन्सार प्रक ...

सुखीपुरमा सामाजिक सु ...

ओम प्रकाश यादव लहान असोज ६ । सुखीपुर नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्ति ...

मिसन–८४ : निर्णय गर् ...

रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१