ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सिरहाको बरियारपट्टी गाउँपालिका–स्थित नर्गी चौकमा बृहत् दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।

विश्व हिन्दु परिषद् नेपाल, जिल्ला कार्यसमिति सिरहाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो। साथै, शोकसन्तप्त तथा पीडित परिवारजनलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम विश्व हिन्दु परिषद् नेपाल सिरहा जिल्ला कार्यसमितिका अध्यक्ष शिवदेव साहको अध्यक्षता तथा नेतृत्वमा सम्पन्न भएको हो। श्रद्धाञ्जली कार्यक्रममा परिषद्का ज्ञानेन्द्र विक्रम यादव, पवन यादव, शिवराम यादव, शियाशरण महतो, रामबाबु यादव, मनोज यादव लगायत स्थानीय महिला तथा पुरुषहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। उनीहरूले प्राकृतिक विपद्मा परेका नागरिकको तत्काल उद्धार, राहत वितरण तथा दीर्घकालीन पुनःस्थापनाका लागि राज्य तथा सम्बन्धित सबै निकायले गम्भीर र प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको उल्लेख गर्दै अहिले समग्र देश नै दुःख र पीडामा रहेको बताएका थिए। यस्तो कठिन र दुःखद घडीमा पीडित परिवारहरू एक्ला नभएको र सम्पूर्ण नेपाली जनता उनीहरूको साथमा रहेको सन्देश दिन दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको उनीहरूले बताएका छन्।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्र, संघसंस्था तथा नागरिक समाज एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका थिए। साथै, भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि राज्यले पूर्वतयारी, जोखिम व्यवस्थापन तथा प्रभावकारी उद्धार प्रणालीलाई थप मजबुत बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।दुःखको यस घडीमा भोटेकोशी बाढीपहिरोमा ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडितहरूको शीघ्र उद्धार, राहत र पुनःस्थापनाको कामना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
राष्ट्रिय कृषक समूह महासंघ नेपालको १६औँ स्थापना दिवस : जलवायुजन्य विपत्तिको क्षतिपूर्ति दिलाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल
भोटेकोशी बाढीपहिरो पीडितको सम्झनामा सिरहाको नर्गी चौकमा बृहत् दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic