प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएपछि खडक नगरपालिकाले विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक निर्णयहरू गरेको छ। बुधबार नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक नगर प्रमुख तथा समितिका संयोजक जय प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा सम्भावित विपद्को समयमा जनधनको क्षति न्यूनीकरण, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने, आवश्यक सामग्रीको व्यवस्थापन तथा स्रोत–साधनको परिचालनका विषयमा विस्तृत छलफल भएको थियो।
बैठकमा नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार ठाकुर, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रतिनिधि, सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि, सामाजिक विकास समितिका संयोजक, पूर्वाधार विकास समितिका संयोजक कलामुद्दीन, आर्थिक विकास समितिका संयोजक विजय कुमार साह, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राकेश कुमार साह, वडा अध्यक्ष राजेन्द्र चौधरी, जाकिर हुसेन, अमित कुमार चौधरी, प्रमोद कुमार चौधरी स्वास्थ्य शाखा प्रमुख जीव नारायण चौधरी तथा कृष्ण प्रताप साह लगायतको सहभागिता रहेको थियो।
बैठकले नगरभित्र विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री तत्काल खरिद गर्ने निर्णय गरेको छ। विपद्का बेला प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तिरपाल, चामल, दाल, खानेपानीलगायतका अत्यावश्यक खाद्यान्न तथा गैरखाद्य सामग्री पर्याप्त मात्रामा मौज्दात राख्ने निर्णय गरिएको छ। आवश्यक परेको अवस्थामा ती सामग्री प्रभावित परिवारसम्म छिटो र पारदर्शी रूपमा वितरण गरिने नगरपालिकाले जनाएको छ। त्यसैगरी, वर्षाका कारण क्षतिग्रस्त हुने सडकहरूको तत्काल मर्मत सम्भार गर्ने, अवरुद्ध सडक खुलाउन जेसीबी (JCB) लगायतका भारी उपकरण तयारी अवस्थामा राख्ने तथा आवश्यकता अनुसार तत्काल परिचालन गर्ने निर्णय गरिएको छ। विपद्का बेला एम्बुलेन्स, सुरक्षाकर्मी तथा राहत सामग्री सहज रूपमा प्रभावित क्षेत्रमा पुग्न सकून् भन्ने उद्देश्यले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बैठकमा उल्लेख गरिएको थियो।
बैठकले नगरपालिकाका सबै वडामा आगलागी नियन्त्रणका लागि फायर एक्स्टिङ्गुइशर (Fire Extinguisher) उपलब्ध गराउने निर्णय पनि गरेको छ। आगलागीको प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न वडास्तरमा उपकरणको व्यवस्था गरिने र यसको प्रयोगसम्बन्धी आवश्यक अभिमुखीकरणसमेत सञ्चालन गरिने जनाइएको छ। यसैगरी, बाढी, डुबान, चट्याङ, आगलागी तथा अन्य विपद्का जोखिमबारे नागरिकलाई समयमै जानकारी गराउन पूर्वसूचना प्रणाली, जनचेतनामूलक कार्यक्रम तथा सावधानीसम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकले जोड दिएको छ। प्रत्येक वडामा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र स्थानीय समुदायबीच समन्वय बढाएर विपद्को समयमा छिटो उद्धार तथा राहत कार्य सञ्चालन गर्ने रणनीति तय गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख जय प्रकाश चौधरीले विपद् आउनुअघि गरिने तयारी नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गरे। उनले कुनै पनि विपद्को अवस्थामा नगरवासीलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक स्रोत–साधन, जनशक्ति तथा राहत सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित शाखा तथा समितिलाई निर्देशन दिएका छन्।
उपप्रमुख रिता कुमारी चौधरीले विपद् व्यवस्थापनमा स्थानीय तह, सुरक्षानिकाय र समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार ठाकुरले बैठकबाट भएका निर्णय कार्यान्वयनका लागि सम्बन्धित शाखाहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिइने जानकारी दिए।
बैठकमा सहभागी जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले विपद्को समयमा उद्धार, खोज तथा राहत वितरणमा नगरपालिकासँग पूर्ण समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
खडक नगरपालिका वर्षायाममा हुन सक्ने प्राकृतिक विपद्लाई मध्यनजर गर्दै पूर्वतयारीलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यका साथ राहत सामग्री व्यवस्थापन, सडक मर्मत, उपकरण परिचालन, जनचेतना अभिवृद्धि तथा सरोकारवाला निकायबीच समन्वयलाई थप सुदृढ बनाउने निष्कर्षसहित बैठक सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic