रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अस्पताल स्थापना भएको दुई दशक पुग्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन। २०६४ साल जेठ महिनामा शिलान्यास भएको उक्त अस्पताल अहिले खण्डहर बन्दै गएको छ भने स्थानीयवासी र दाता परिवार सरकारप्रति असन्तुष्ट बन्दै गएका छन्।
अस्पताल निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति (जिविस) सिरहाले भारत सरकारको सहयोगमा करिब २ करोड २९ लाख ४४ हजार ७१५ रुपैयाँ लागतमा संरचना निर्माण गरेको थियो। दाता महेन्द्र महतोले १० कट्ठा तथा गेनाई परिवारले १ बिगाहा जग्गा निःशुल्क उपलब्ध गराएका थिए, जसको हालको बजार मूल्य अर्बौंमा पुग्ने अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा तत्कालीन मन्त्री शत्रुधन प्रसाद सिंहको कार्यकालमा अस्पताल सञ्चालनका लागि २ करोड रुपैयाँ, फर्निचरका लागि ३० लाख र मसलन्द (उपकरण) का लागि ३० लाख रुपैयाँ ‘रेड बुक’ मा समावेश गरिएको थियो।
तर हालको सरकारले उक्त बजेट हटाउने तयारी गरिरहेको आरोप दाता परिवारले लगाएको छ। उनीहरूका अनुसार यसमा ‘कमिसनको खेल’ भइरहेको छ। “जनताको स्वास्थ्य खोइ?” स्थानीयवासीहरू भन्छन्, “एउटा सरकारले बजेट छुट्याउने, अर्को सरकार आएपछि रोक्ने — यसरी कहिलेसम्म जनताको स्वास्थ्यसँग खेल्ने?” यही असन्तुष्टिका कारण अहिले स्थानीयस्तरमा आवाज उठ्न थालेको छ।
अस्पताल सञ्चालनमा आएमा सिरहा, सप्तरी, उदयपुर लगायत मधेस प्रदेशका हजारौं नागरिक लाभान्वित हुने विश्वास गरिएको छ। यसले उपचार खर्च घटाउने मात्रै होइन, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, आर्थिक गतिविधि बढाउने तथा छपरारीदेखि पश्चिम कसहासम्मका बजारलाई शहरमा रुपान्तरण गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।
अस्पतालका अध्यक्ष तथा दाता परिवारका सदस्य गंगाराम महतोका अनुसार, “सरकारको कमजोरीका कारण अस्पतालको यो अवस्था आएको हो। मधेस प्रदेशमा प्रसूति तथा बाल रोगसम्बन्धी प्रादेशिक स्तरको सेवा वीरगञ्ज बाहेक अन्यत्र छैन, यस्तो अवस्थामा यहाँको आवश्यकता झन् बढेको छ।” अस्पताल सञ्चालनका क्रममा दाता परिवार र स्थानीय समुदायले करिब ५ लाख ५० हजार रुपैयाँसमेत खर्च गरिसकेका छन्। तर दीर्घकालीन योजना र सरकारी प्रतिबद्धताको अभावमा सबै लगानी जोखिममा परेको उनीहरूको गुनासो छ।
मधेस प्रदेश सरकारले यस अस्पतालप्रति बेवास्ता गरेको भन्दै स्थानीयस्तरमा ‘विभेद’ को आरोपसमेत उठ्न थालेको छ। विकासको पूर्वाधार तयार भइसकेको अवस्थामा पनि सञ्चालनमा ल्याउन नसक्नु सरकारको गम्भीर लापरवाही भएको स्थानीयहरूको ठहर छ। महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अस्पताल केवल एउटा भवन होइन, यो क्षेत्रीय स्वास्थ्य सेवा, विकास र आशाको प्रतीक हो। तर राजनीतिक अस्थिरता, बजेट कटौती र कथित अनियमितताका कारण यो योजना अलपत्र पर्दा जनताले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ। अब सरोकारवालाहरूको ध्यान तत्काल यसतर्फ जान आवश्यक देखिन्छ।
प्रतिक्रिया दिनुहोस
महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र: बजेट कटौती र ‘कमिसन खेल’ को आरोप, स्थानीय आक्रोश बढ्दो
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic