विद्यालयको होस्टलमा छात्रको शंकास्पद मृत्यु : परिवारको हत्या आरोप, विद्यालयको आत्महत्या दाबी

  • चैत ११, २०८२
  • ३३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत ११ । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीय धर्मेन्द्र कुमार साहको मृत्यु शंकास्पद भएको भन्दै परिवारले गम्भीर आरोप लगाएका छन्। बुधबार खडक नगरपालिका–९ लालपट्टीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले बालकको हत्या गरिएको दाबी गरेको हो भने विद्यालय प्रशासनले भने आत्महत्या भएको बताएको छ।

मृतकका बुवा तिलाई साहका अनुसार छोरालाई अध्ययनका लागि होस्टलमा राखिएको थियो। “अचानक अस्पतालबाट मृत्यु भएको खबर आउँदा म झस्किएँ, विश्वास नै लागेन,” उनले भने, “विद्यालयमै कर्तव्य गरी हत्या गरेर अस्पताल लगिएको हो।” उनका अनुसार घटना चैत ७ गते बिहान करिब १० बजेतिरको हो। सोही समयमा विद्यालयकी शिक्षिका सोभा चौधरीले फोन गरेर धर्मेन्द्रले मोबाइल चलाइरहेको भन्दै अभिभावकलाई विद्यालय बोलाएकी थिइन्।

“मोबाइल चलाउन निषेध छ भन्दै फोन आयो, मैले मोबाइल नियन्त्रणमा लिएको छु, छिटो स्कुल आउनुस् भनियो,” तिलाई साहले भने, “म घरायसी काममा व्यस्त थिएँ, केहीबेरमै फेरि फोन आयो—द्वारिका अस्पताल आउनुस् भनियो। त्यहाँ पुग्दा त छोराको मृत्यु भइसकेको थियो।” अस्पताल पुगेपछि विद्यालयका लेखापाल धिरेन्द्र चौधरीले धर्मेन्द्र कक्षा कोठामै झुन्डिएको अवस्थामा भेटिएको र उपचारका लागि अस्पताल लगिएको जानकारी दिएको परिवारले जनाएको छ। तर, बुवाले उक्त विवरणमा गम्भीर शंका व्यक्त गर्दै घटनास्थलमै हत्या गरिएको दाबी गरेका छन्।

मृतककी आमा ममता साहले पनि छोरामाथि कुटपिट गरेर हत्या गरिएको आरोप लगाएकी छन्। उनका अनुसार मोबाइल खोसेपछि शिक्षिका सोभाले कुटपिट गरेको र घटना लुकाउन गालामा गम्छा बाँधेर अस्पताल लगिएको नाटक गरिएको हो। “फोन आएपछि मैले फेरि सम्पर्क गर्न खोज्दा लागेन, पछि अरू कर्मचारीसँग बुझ्दा छोरा सुरक्षित रहेको भनियो,” उनले भनिन्, “तर केही बेरमै यस्तो दुःखद खबर आयो, हामी स्तब्ध भयौं।”

उनले आर्थिक अभावका बीच गहना बेचेर छोरालाई पढाउन होस्टलमा राखेको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेकी छन्। “हाम्रो छोराको हत्या भएको हो, हामी न्याय चाहन्छौं,” उनले भावुक हुँदै भनिन्। यता विद्यालयकी फाउन्डर सोभा चौधरीले आफूमाथि लगाइएका आरोप निराधार रहेको बताएकी छन्। उनका अनुसार धर्मेन्द्र आफ्नै कक्षा कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए। विद्यालयका लेखापाल धिरेन्द्र चौधरीले अन्य विद्यार्थीबाट जानकारी पाएपछि तत्काल कक्षा कोठामा पुगेर बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताए।

विद्यालयका पाले भोला मण्डलका अनुसार ढोका बन्द रहेको अवस्थामा विद्यार्थीले जानकारी दिएपछि ढोका फुटाएर गम्छाको पासो खोलेर बालकलाई बाहिर निकालिएको थियो। “हामीले बचाउन सकिन्छ भन्ने आशमा तुरुन्त अस्पताल पुर्याायौं,” उनले भने, “तर चिकित्सकले मृत घोषणा गरे।” घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ। सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले घटना शंकास्पद रहेको स्वीकार गर्दै शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा गरिएको जानकारी दिए। “रिपोर्ट नआएसम्म यकिन केही भन्न सकिँदैन, अनुसन्धान जारी छ,” उनले भने।

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी निरीक्षक संजीव बोगटीले घटना चैत ७ गते भएको पुष्टि गर्दै बालकलाई अस्पताल पुर्यापएपछि मात्रै प्रहरीलाई जानकारी दिइएको बताए। प्रारम्भिक अनुसन्धानका क्रममा विद्यालयका फाउन्डर समेत रहेका लेखापाल चौधरी, पाले मण्डलसहित चार जनालाई नियन्त्रणमा लिइए पनि २४ घण्टाभित्रै रिहा गरिएको थियो।

धर्मेन्द्र साह परिवारका जेठा छोरा थिए भने उनका कान्छा भाइ पनि सोही विद्यालयको होस्टलमा अध्ययनरत रहेका छन्। घटनापछि स्थानीयस्तरमा त्रास र आक्रोश फैलिएको छ। परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै न्यायको लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ। घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ। त्यसबेलासम्म यो घटनाले स्थानीय समुदाय, अभिभावक र शिक्षा क्षेत्रमै गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहाको गोलबजारबाट १ ...

ओम प्रकाश यादव लहान, चैत १० । सिरहाको गोलबजार नगरपालिकामा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधार ...

सुखी र खुशी जीवनको न ...

ओम प्रकाश यादव लहान चैत १० । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका मा पूर्ण सरसफाइ प्रवर्द्धन गर्ने उद ...

दलित समुदाय लक्षित “ ...

ओम प्रकाश यादव लहान, चैत १०। दलित जनकल्याण युवा क्लब लहानको आयोजनामा सञ्चालन भइरहेको “द विकन&r ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१