सप्तरीमा नाबालिग दलित बालिका बेपत्ता प्रकरण : यौन शोषण आशंका, प्रहरीमाथि दबाब बढ्दै

  • चैत ९, २०८२
  • ११२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ९ चैत ।  सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा एक १४ वर्षीया दलित बालिका एक सातादेखि बेपत्ता भएपछि घटनाले गम्भीर रूप लिएको छ। सात महिनाकी गर्भवती रहेको भनिएकी ती बालिकाको खोजी र न्यायको माग गर्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन् भने स्थानीयस्तरमा आक्रोश समेत बढ्दै गएको छ।

बालिकाकी भाउजूले दिएको उजुरीमा स्थानीय महेश्वर यादव, उनका छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव तथा धर्मदेव यादवलाई आरोपित बनाइएको छ। उनीहरूमाथि बालिकालाई बेपत्ता पार्नुका साथै घटनालाई दबाउने प्रयास गरेको आरोप छ। आफन्तका अनुसार ती बालिका विगत करिब १० वर्षदेखि महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्।

पछिल्लो समय उनी सात महिनाकी गर्भवती रहेको खुलेपछि ३० फागुनयता अचानक सम्पर्कविहीन बनाइएको बताइएको छ। गर्भावस्थाबारे जानकारी बाहिरिएपछि घरधनी पक्षले गोप्य छलफल गरी बालिकालाई अन्यत्र लगिएको, सम्भवतः गर्भपतन गराइएको वा लुकाइएको हुन सक्ने आशंका गरिएको छ।

स्थानीय स्रोतका अनुसार घरधनीले आफ्नै छोरालाई समेत अन्यत्र पठाएको र लामो समयदेखि प्रलोभन वा दबाबमा यौन शोषण भएको हुन सक्ने अनुमान गरिएको छ। एक आफन्तले भने, “घटना सार्वजनिक भएपछि यसलाई दबाउने प्रयास देखिन्छ, तर मुख्य कुरा बालिका कहाँ छिन् भन्ने हो।” घटनाबारे बुझ्न खोज्दा आरोपित महेश्वर यादव घरमा नभेटिएको र उनका आफन्तले पनि अवस्थाबारे अनभिज्ञता जनाएको बताएका छन्।

वडा सदस्यको मोबाइलसमेत बन्द रहेकाले थप शंका उत्पन्न भएको छ। यसैबीच, स्थानीय जनप्रतिनिधिहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। वडाध्यक्ष किरणकुमार पोखरेलले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए भने अर्का वडाध्यक्ष छत्रबहादुर राउतले बालिकाको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। उता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान सुरु गरिएको बताएका छन्।

उनका अनुसार बालिकालाई उनकी दिदीले लगेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ र प्रहरी टोली परिचालन गरी खोजी कार्य जारी छ। बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिने र त्यसपछि यौन शोषण वा जबर्जस्तीका कोणबाट थप अनुसन्धान अघि बढाइने उनले जानकारी दिए। घटनाको उजुरी सुरुमा इलाका प्रहरी कार्यालय कडरबोनामा परेको भए पनि क्षेत्राधिकारका कारण इलाका प्रहरी कार्यालय भेडियामा पठाइएको प्रहरीले जनाएको छ। तर, घटनाको पाँच दिन बितिसक्दा पनि स्पष्ट प्रगति नदेखिएपछि स्थानीय दलित समुदाय आक्रोशित बनेका छन्।

दलित अगुवाहरूको नेतृत्वमा ठूलो संख्यामा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय कडरबोना अगाडि प्रदर्शन गर्दै पूर्व–पश्चिम लोकमार्ग करिब तीन घण्टा अवरुद्ध गरेका थिए। प्रदर्शनकारीहरूले बालिकाको अवस्थाबारे तत्काल सार्वजनिक गर्न, दोषीलाई पक्राउ गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका छन्। मानव अधिकारकर्मीहरूका अनुसार यो घटना केवल बेपत्ता प्रकरण मात्र नभई नाबालिगमाथि सम्भावित यौन शोषण र सामाजिक अन्यायसँग जोडिएको गम्भीर विषय हो।

उनीहरूले राज्यका निकायले संवेदनशीलता र तीव्रताका साथ अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिएका छन्। बालिकाको अवस्था अझै अज्ञात रहेकाले परिवार र स्थानीय समुदाय चिन्तित छन्। घटनाले समाजमा सुरक्षा, न्याय र कमजोर वर्गको संरक्षणबारे गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया दिनुहोस

बरकी पोखरीमा महा विष ...

रहमुल, लहान ९ चैत्र । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित बरकी पोखरी (ठाकुर बाबा पोखरी)को ड ...

रुपनीमा जलवायु उत्था ...

ओम प्रकाश यादव लहान चैत ८ । “सशक्त, समृद्ध, सम्मानित किसानः सबल महासंघ” भन्ने मूल नाराका ...

लहानमा ४० विद्यालय भ ...

ओम प्रकाश यादव लहान, ७ चैत । वाइल्ड'एन नेपालले मधेश प्रदेशभरि ४० वटा आधारभूत विद्यालय भवन निर्माण गर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१