Siraha Times
ताजा समाचार

सिराहा–१ मा कांग्रेसलाई ठूलो झट्का : वरिष्ठ नेता अछमितलाल चौधरी रास्वपा प्रवेश, चुनावी माहोल तातेको

  • फागुन १४, २०८२
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण फेरिएको छ। नेपाली कांग्रेसका दिग्गज वरिष्ठ नेता तथा पूर्व सभापति अछमितलाल चौधरीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि जिल्लाको राजनीति तातेको छ।

लहानमा आयोजित कार्यक्रममा रास्वपा केन्द्रीय सभापति रवि लामिछानेको उपस्थितिमा चौधरीले पार्टी प्रवेश गरेका हुन्। तीन दशकभन्दा बढी समय नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेका चौधरीको यो निर्णयलाई चुनावी रणनीतिमा ठूलो ‘गेम चेन्जर’ का रूपमा हेरिएको छ। चौधरीको रास्वपा प्रवेशसँगै नेपाली कांग्रेस क्षेत्रीय समितिले कडा कदम चाल्दै उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न केन्द्रीय कार्यालयमा सिफारिस गरेको जनाएको छ। क्षेत्रीय समितिका अनुसार चौधरीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध परपञ्च रचेको, अन्य दलसँग समन्वय गरी नकारात्मक गतिविधि गरेको र संगठनलाई कमजोर पार्ने काम गरेको आरोप लगाइएको छ।

रास्वपा प्रवेशका क्रममा चौधरीले भने, “मैले ३० वर्षसम्म पार्टीमा योगदान दिएँ, तर जनताको अपेक्षा अनुसार सुधार र सुशासन देख्न सकिनँ। अब नयाँ विकल्पमार्फत जनताको पक्षमा उभिन चाहन्छु।”उनको यो अभिव्यक्तिलाई कतिपयले ‘आक्रोशको विस्फोट’ भनेका छन् भने केहीले चुनावी रणनीतिक चालका रूपमा व्याख्या गरेका छन्। स्थानीय राजनीतिक विश्लेषकका अनुसार चौधरीको प्रवेशले रास्वपा उम्मेदवार बब्लु गुप्ता लाई प्रत्यक्ष लाभ पुग्ने देखिन्छ। यता नेपाली कांग्रेसका उम्मेदवार राम सुन्दर चौधरी लाई भने चुनावी गणितमा धक्का लाग्ने आँकलन गरिएको छ।

स्थानीय मतदाताहरूबीच चर्चा छ— “कांग्रेसभित्र राम्रो छवि बनाएका नेता चुनावकै मुखमा पार्टी बदल्नुले उनको व्यक्तिगत छविमा असर पर्न सक्छ।” अर्कोतर्फ, रास्वपाका समर्थकहरू भने “साहसी निर्णय” भन्दै स्वागत गरिरहेका छन्। सिराहा–१ मा यसअघि नै प्रतिस्पर्धा कडा हुने संकेत देखिएको थियो। चौधरीको पार्टी परिवर्तनले अब प्रतिस्पर्धा झन् रोचक बनेको छ। गाउँ–गाउँमा छलफल, चोक–चौतारामा बहस र सामाजिक सञ्जालमा तीव्र प्रतिक्रियाले चुनावी तापक्रम उकालो लागेको छ। राजनीतिक विश्लेषकहरू भन्छन् “यदि चौधरीले आफ्नो परम्परागत मत आधार र प्रभाव रास्वपातर्फ मोड्न सके भने परिणाममा ठूलो उलटफेर सम्भव छ।”

तीन दशक लामो राजनीतिक यात्रापछि अछमितलाल चौधरीको यो कदम सिराहा–१ को निर्वाचनमा निर्णायक बन्ने संकेत देखिएको छ। कांग्रेसका लागि यो ठूलो झट्का सावित हुन सक्छ भने रास्वपाका लागि सुनौलो अवसर। अब मतदाताले कस्तो निर्णय दिन्छन्, त्यसले मात्र स्पष्ट पार्नेछ। यो परिवर्तन ‘रणनीतिक मास्टरस्ट्रोक’ हो कि ‘राजनीतिक जोखिम’ त्यो अब समयले बताउने हो।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१