रंजित चौरसिया, वीरगंज २१ माघ । पर्सा जिल्लाको बिन्दवासिनी गाँउपालिकाले दलित तथा विपन्नका लागि आवास निर्माण योजनामा अनियमितता गरेको भन्दै बुधबार दलित महिलाहरुले गाउँपालिका कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । संघीय सरकारबाट प्राप्त एक करोड १० लाखको लागतमा बिन्दवासिनी गाउँपालिकाले दलित तथा विपन्न समुदायका लागि आवास निर्माणका लागि टेण्डर आह्वान गरेर ठेक्का लगाइसकेको छ ।
तर लाभग्राही (विपन्न र दलित) समुदायले भने यसबारेमा आफूहरुलाई कुनै जानकारी नै नगराई आवास निर्माणको प्रक्रिया गाउँपालिकाले सुरु गरिसकेको भन्दै बिरोध जनाएका छन् । बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वाभाठाका दलित महिलाहरुले गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले सूचनाको हक प्रयोग गर्दै विपन्न तथा दलित समुदाय लक्षित आवास निर्माण योजनाका बारेमा गाउँपालिकाले अगाडि बढाएको प्रक्रियाका बारेमा जानकारी माग्दै निवेदन पनि दिएका छन् ।
गाउँपालिका कार्यालयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहलाई निवेदन बुझाएका दलित महिलाहरुले आवास निर्माणका लागि संघीय सरकारबाट प्राप्त अनुदानको बजेटको परिमाण, लाभग्राही छनौट प्रक्रिया र छनौट गरिएका लाभग्राहीको विवरण, निर्माण हुने भनिएको भवनको अन्तिम स्वामित्व कसको हुने लगायतका बारेमा लिखित जानकारी माग गरेका छन् । उनीहरुले भवन निर्माणमा गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले आफ्नो आसेपासे तथा आफ्ना पार्टीका कार्तकर्ताहरुलाई प्राथमिक्तामा राखी छनौट गरेको भन्दै सो प्रक्रिया तत्काल रोक्न समेत माग गरेका छन् ।
भवनका लागि लाभग्राही छनौटमै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वास्तविक लाभग्राहीको सट्टा नक्कली लाभग्राहीलाई समावेश गरेको आरोप पनि दलित महिलाहरुको रहेको छ । यसअघि विपन्न तथा दलितका लागि आवास भवन निर्माण योजनाकै बारेमा वडा नम्बर २ का पूर्व वडाध्यक्ष सन्जय चौहानले पनि गाउँपालिका कार्यालयमा सूचनाको हक प्रयोग गर्दै निवेदन दिएका थिए ।
तर उक्त निवेदनको कुनै सुनुवाई नभएको पूर्व वडाध्यक्ष चौहानले बताए । यसबारेमा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी सँग फोन सम्पर्क गर्दा ठेक्का नलागेको र टेन्डर ईबिडिङ्ग प्रक्रियाबाट भएको बताउदै बाँकी कुरा प्राविधि सँग बुझन भन्दै फोट काटे ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic