Siraha Times
ताजा समाचार

अस्पतालको गम्भीर लापर्बाहीः लहानमा किशोरीको शव अर्कै परिवारले अन्त्येष्टि गरेपछि चर्कियो विवाद

  • माघ १३, २०८२
  • ७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, माघ १३ । रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा परीक्षणका लागि राखिएको एक किशोरीको शव अर्कै परिवारलाई हस्तान्तरण भई अन्त्येष्टि गरिएको घटना सार्वजनिक भएपछि ठूलो विवाद उत्पन्न भएको छ। अस्पताल प्रशासनको गम्भीर लापर्बाहीका कारण मृतक परिवारले आफ्नी छोरीको अन्तिम संस्कार गर्नसमेत नपाएको भन्दै आक्रोश फैलिएको हो।

गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया गोलबजार निवासी निशा बानियाँको शव अस्पतालबाटै अर्को परिवारलाई दिइएको पुष्टि भएको छ। शनिबार आत्महत्या गरेकी बानियाँको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको थियो। तर सोही समयमा सप्तरीकी अर्की समान उमेरकी किशोरीको शवसँग मिलान नमिलाई वितरण गर्दा यस्तो गम्भीर गल्ती भएको खुलेको हो।

रोजगारीका सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका बानियाँका आमाबुवा छोरीको अन्तिम संस्कारका लागि नेपाल फर्किएका थिए। अस्पताल पुगेको बिहान छोरीको शव नै फेला नपर्दा उनीहरू स्तब्ध बने। अस्पताल प्रशासनसँग गरिएको जाँचबुझका क्रममा शव राख्दा आवश्यक ‘कोडिङ’ नगरिएको कारण यस्तो त्रुटि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले स्वीकार गरेका छन्। “यो अस्पताल प्रशासनको गम्भीर लापर्बाही हो। घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गरिनेछ,” डा. झाले भने।

घटनापछि आक्रोशित परिवारजन र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गरेका छन्। साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरिएको थियो। प्रदर्शनकारीहरूले मृतक परिवारलाई न्याय दिलाउन र दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।

पीडित बुबा पूर्णबहादुर बानियाँ भावविह्वल हुँदै भन्छन्, “छोरीको मुख हेर्न पनि पाइएन। अस्पतालको गल्तीले हाम्रो जीवन नै अन्धकार भयो।” घटनाले अस्पताल व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ भने पीडित परिवारले निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१