Siraha Times
ताजा समाचार

कमला सिँचाइ नहर नजिक किशोरी हत्या प्रकरणको खुलासा, अभियुक्त पक्राउ

  • पुस २२, २०८२
  • ५९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २२ पुस । सिरहाको कर्जन्हा नगरपालिका–२, स्कुल टोलस्थित कमला सिँचाइ नहर नजिक झाडीमा १७ वर्षीया किशोरी अविना वैध मृत अवस्थामा फेला परेको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिति २०८२/०८/२२ गते दिउँसो करिब १४:४५ बजे अविना वैधको शव फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरी उपरीक्षक (प्र.उ.) अनन्त राम शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै मधेश प्रदेश प्रहरी कार्यालयबाट डग स्निफिङ टोली समेत परिचालन गरिएको थियो। घटनास्थलको मुचुल्का पश्चात शवलाई वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टमका लागि पठाइएको थियो।

प्रहरी अनुसन्धानका क्रममा धनुषा जिल्ला, क्षिरेश्वर नगरपालिका–३ निवासी अन्दाजी ४५ वर्षीय राम बालक चौधरी शंकास्पद देखिएपछि थप अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानबाट मिति २०८२/०८/२१ गते साँझ पोर्ताहा स्थित एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा राम बालक चौधरीले मृतक अविनासँग पटक–पटक फोन सम्पर्क गरेको र राति करिब २०:३० बजे दुवैबीच फोनमा कुराकानी भएको तथ्य खुल्न आएको छ।

त्यसै राति करिब २१:१५ बजे अविना आफ्नै डेरा कोठाबाट निस्किएर राम बालक चौधरीसँग भेट्न गएको र दुवै जना कमला नदी किनार हुँदै विद्यालय अगाडि रहेको पोखरी नजिकको खाली स्थानमा पुगेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार सो स्थानमा उनीहरूबीच सहमतिमै शारीरिक सम्पर्क भएको थियो। तर, वैवाहिक प्रस्ताव तथा अन्य व्यक्तिसँगको सम्बन्धलाई लिएर विवाद चर्किँदा राम बालक चौधरी आवेगमा आएर अविनाको घाँटी थिची ढुंगाले प्रहार गरी बेहोस बनाएको बयान खुलेको छ।

घटनापछि अविनाको मृत्यु भएको थाहा पाएपछि अभियुक्तले शवलाई नजिकैको झाडीमा लगेर ढुंगाले अनुहार किची पहिचान लुकाउने प्रयास गरेको र त्यसपछि नहर हुँदै फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उक्त घटनामा संलग्न अभियुक्त राम बालक चौधरीलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। प्रहरीले घटना सँग सम्बन्धित सबै पक्षको सूक्ष्म अनुसन्धान भइरहेको र दोषीलाई कानुन अनुसार कडा कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१