Siraha Times
ताजा समाचार

मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न तीनै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड

  • पुस ४, २०८२
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । मिडिया काउन्सिल मधेस प्रदेशद्वारा हिजो पुष ३ गते लहानको सम्राट होटलमा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठी कार्यक्रममा सहभागी वक्ताहरूले सञ्चार क्षेत्रले भोग्दै आएका समस्या समाधानमा राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका हुन् ।

गोष्ठीका प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य जीवछी यादवले लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र र उत्तरदायी मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारको सुरक्षादेखि पेशागत अधिकारसम्म राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको मेरुदण्ड मिडिया हो । स्वतन्त्र, सक्षम र जिम्मेवार मिडिया बिना सुशासन सम्भव हुँदैन । आज सञ्चार माध्यमहरू आर्थिक संकट, सुरक्षा चुनौती र नीतिगत अस्पष्टताबाट गुज्रिरहेका छन् । यस्ता समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले गम्भीर भएर ठोस नीति र कार्यक्रम ल्याउनुपर्छ ।”

कार्यक्रममा मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्गाले सञ्चार माध्यमहरू आर्थिक, प्रविधिगत र नीतिगत चुनौतीमा रहेको बताउनुभयो । उहाँले बदलिँदो प्रविधि र डिजिटल युगसँगै सञ्चार माध्यमलाई सशक्त बनाउन सरकारी नीति तथा कार्यक्रममार्फत सहयोग र संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो । “सञ्चार माध्यमलाई सबल बनाइएन भने सूचनाको अधिकार र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ,” उहाँले जोड दिनुभयो ।

त्यसैगरी, मधेस प्रदेश मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेशकुमार यादवले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन काउन्सिलले आमसञ्चार प्राधिकरणलगायत विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यको नीति लिएको जानकारी दिनुभयो । उहाँले पत्रकारिता पेशामा देखिएका चुनौती समाधान गर्न संवाद, सहकार्य र नियमनलाई सन्तुलित रूपमा अघि बढाइने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका उपाध्यक्ष अम्बिका दाहालले पत्रकारितामा इमान्दारिता र उत्तरदायित्व अनिवार्य रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारहरूलाई आचारसंहिताको पूर्ण पालना गर्दै सत्य, तथ्य र जनहितमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव र सप्तरी शाखाका अध्यक्ष श्रवण देवले स्थानीय सञ्चार माध्यमहरू टिकाइराख्न विज्ञापन नीतिमा सुधार, पत्रकारको क्षमता अभिवृद्धि तथा सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उनीहरूले स्थानीय तहले स्थानीय सञ्चार माध्यमलाई प्रोत्साहन गर्ने नीति नल्याएसम्म ग्रामीण भेगका मिडिया संकटमा पर्ने चेतावनीसमेत दिए ।

गोष्ठी कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सञ्चार क्षेत्रका चुनौतीबारे गम्भीर छलफल गर्दै मिडियाको स्वतन्त्रता, सुरक्षा र दिगोपनाका लागि साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१