ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । मिडिया काउन्सिल मधेस प्रदेशद्वारा हिजो पुष ३ गते लहानको सम्राट होटलमा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठी कार्यक्रममा सहभागी वक्ताहरूले सञ्चार क्षेत्रले भोग्दै आएका समस्या समाधानमा राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका हुन् ।
गोष्ठीका प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य जीवछी यादवले लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र र उत्तरदायी मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारको सुरक्षादेखि पेशागत अधिकारसम्म राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको मेरुदण्ड मिडिया हो । स्वतन्त्र, सक्षम र जिम्मेवार मिडिया बिना सुशासन सम्भव हुँदैन । आज सञ्चार माध्यमहरू आर्थिक संकट, सुरक्षा चुनौती र नीतिगत अस्पष्टताबाट गुज्रिरहेका छन् । यस्ता समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले गम्भीर भएर ठोस नीति र कार्यक्रम ल्याउनुपर्छ ।”
कार्यक्रममा मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्गाले सञ्चार माध्यमहरू आर्थिक, प्रविधिगत र नीतिगत चुनौतीमा रहेको बताउनुभयो । उहाँले बदलिँदो प्रविधि र डिजिटल युगसँगै सञ्चार माध्यमलाई सशक्त बनाउन सरकारी नीति तथा कार्यक्रममार्फत सहयोग र संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो । “सञ्चार माध्यमलाई सबल बनाइएन भने सूचनाको अधिकार र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ,” उहाँले जोड दिनुभयो ।
त्यसैगरी, मधेस प्रदेश मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेशकुमार यादवले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन काउन्सिलले आमसञ्चार प्राधिकरणलगायत विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यको नीति लिएको जानकारी दिनुभयो । उहाँले पत्रकारिता पेशामा देखिएका चुनौती समाधान गर्न संवाद, सहकार्य र नियमनलाई सन्तुलित रूपमा अघि बढाइने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका उपाध्यक्ष अम्बिका दाहालले पत्रकारितामा इमान्दारिता र उत्तरदायित्व अनिवार्य रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारहरूलाई आचारसंहिताको पूर्ण पालना गर्दै सत्य, तथ्य र जनहितमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव र सप्तरी शाखाका अध्यक्ष श्रवण देवले स्थानीय सञ्चार माध्यमहरू टिकाइराख्न विज्ञापन नीतिमा सुधार, पत्रकारको क्षमता अभिवृद्धि तथा सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उनीहरूले स्थानीय तहले स्थानीय सञ्चार माध्यमलाई प्रोत्साहन गर्ने नीति नल्याएसम्म ग्रामीण भेगका मिडिया संकटमा पर्ने चेतावनीसमेत दिए ।
गोष्ठी कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सञ्चार क्षेत्रका चुनौतीबारे गम्भीर छलफल गर्दै मिडियाको स्वतन्त्रता, सुरक्षा र दिगोपनाका लागि साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic