ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ। पूर्वपश्चिम राजमार्गको दक्षिण किनारमा अवस्थित यो ग्रामीण पालिका अहिले समग्र विकासको नयाँ उचाइमा पुग्न थालेको छ। गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरको दृढ नेतृत्व र जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको समर्पित सेवाभावका कारण पालिका जिल्लामै नमूना स्थानीय तहका रूपमा स्थापित हुँदै गएको छ।
विकासका हरेक सूचकहरूमा सुधार ल्याउने उद्देश्यले अध्यक्ष ठाकुरले पालिकाको प्रशासनिक क्षमता सुदृढ गर्दै भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता दिएका छन्। गाउँपालिकाको प्रशासनिक भवनमा सिसी क्यामेरा जडान, कार्यालय व्यवस्थापनमा प्रविधि प्रयोग, आगन्तुकहरूका लागि अत्याधुनिक गेस्ट रूमको निर्माणजस्ता पहलकदमीहरू अध्यक्ष ठाकुरको कार्यशैलीमा आएको नयापनको उदाहरण बनेका छन्।
विभिन्न मन्त्रालय, निकाय तथा संघसंस्थाका पदाधिकारी र कर्मचारीहरू स्थानीय तहमा निरन्तर रूपमा आउने क्रम बढेसँगै पालिकाले बासको समस्या समाधान गर्न आफ्नै प्रशासनिक भवनमा सुविधा सम्पन्न गेस्ट रूम निर्माण गरी अभिनव अभ्यास सुरु गरेको हो। यसले न केवल बासको समस्या समाधान गरेको छ, बल्कि आगन्तुकहरूसँगको समन्वयमा समेत सहजता ल्याएको छ।
पालिका अध्यक्ष चतुरानन्द ठाकुर र प्रशासकीय अधिकृतको सहकार्य अहिले उदाहरणीय मानिँदैछ। उनीहरूबीचको स्पष्ट कार्यविभाजन र परस्पर सहकार्यले कार्यालय सञ्चालन प्रभावकारी बनेको छ। बिहान ७ बजेदेखि रातको १० बजेसम्म पालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहने गरेको तथ्यले जनसेवाप्रतिको प्रतिबद्धता स्पष्ट पार्दछ।
विकासका अन्य पक्षहरूमा पनि पालिकाले प्रशंसनीय काम गरेको छ। विद्यालय भवन निर्माण, ग्रामीण सडक विस्तार, सामुदायिक खानेपानी योजनाहरूको सफल कार्यान्वयन, साना साना पर्यटन क्षेत्रहरूको पहिचान र प्रवर्द्धन, तथा महिला र युवा लक्षित कार्यक्रमहरू पालिकाको प्राथमिकतामा परेका छन्। यसले गाउँपालिकालाई समावेशी र दिगो विकासको बाटोमा अघि बढाएको छ।
गत आर्थिक वर्षमा मात्रै पालिकाले झन्डै एक दर्जन विद्यालयहरूमा नयाँ कक्षाकोठा निर्माण गरेको, करिब दुई दर्जन कच्ची सडकहरू ग्राभेल गरी सवारी आवागमन सहज बनाएको र करिब ८ वटा खानेपानी योजनाहरू सम्पन्न गरेको तथ्यांकहरूले देखाउँछन्। स्थानीयवासीहरूको धारणा अनुसार, लक्ष्मीपुर पतारी गाउँपालिकाले विकासका थुप्रै अभ्यासहरूमा उदाहरणीय प्रगति गर्दै आएको छ। जनप्रतिनिधिहरूको सक्रियता, प्रशासनको चुस्तता र जनसहभागितामूलक विकासका योजनाले गर्दा यो पालिका अब जिल्ला मात्र होइन, प्रदेशमै नमूना बन्न सक्ने सम्भावना देखिएको छ।
पालिकाका युवाहरू, महिला समूहहरू, कृषकहरू तथा समुदायका अन्य हितग्राहीहरू समेत सहभागी हुने गरी कार्यक्रमहरू सञ्चालन हुनु सकारात्मक संकेत मानिन्छ। विकासमा समावेशीताको अभ्यासले दीर्घकालीन प्रभाव पार्ने निश्चित छ। यसैबीच, अध्यक्ष ठाकुरले भने, “हामी विकासको गतिमा अझ तीव्रता ल्याउँदैछौँ। पारदर्शिता, जवाफदेहिता र जनसहभागिता नै हाम्रो कार्यशैलीको मूल आधार हो।” उनले समग्र विकासका लागि प्रदेश तथा संघीय सरकारसँग सहकार्य गर्दै जाने प्रतिवद्धता पनि जनाएका छन्।
लक्ष्मीपुर पतारी गाउँपालिकाको यस्ता सफल अभ्यासहरू अब अन्य पालिकाहरूका लागि पनि सिक्ने थलो बन्न सक्छ। विकासमा सुधार र सुशासनको समन्वयले मात्र स्थानीय तह समृद्ध बन्न सक्छ भन्ने उदाहरण यो पालिकाले स्पष्ट रूपमा दिएको छ। यसरी, एउटा ग्रामीण भेगको गाउँपालिका समर्पित नेतृत्व, सहकार्य र दूरदर्शिताका माध्यमबाट कसरी रूपान्तरण हुँदैछ भन्ने उज्यालो झलक अहिले लक्ष्मीपुर पतारीमा देखिएको छ। यस्ता अभ्यासले समग्र राष्ट्रिय विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic