ओम प्रकाश यादव लहान, असार ३२ । सिरहाको विभिन्न स्थानहरूमा वृक्षारोपण तथा नर्सरी कार्यको अनुगमन गरिएको छ। बन डिभिजन कार्यालय लहानको समन्वयमा असार ३१ गते सम्पन्न उक्त अनुगमन टोलीमा डिभिजन प्रमुख सैलेन्द्र मिश्राको नेतृत्वमा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, जनमत पार्टीका जिल्ला संयोजक विनोद यादव, कोशाध्यक्ष, विभिन्न पत्रकार तथा बन डिभिजनका कर्मचारीहरूको सहभागिता रहेको थियो।
अनुगमन टोलीले सिरहाको हुलाकी सडकको किनारामा रोपिएका आँपलगायतका विभिन्न प्रजातिका रुखहरूको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा दर्जनौं रुख खडेरीका कारण सुकिसकेको अवस्थामा फेला परेपछि टोलीले गम्भीर चासो व्यक्त गरेको छ। बन डिभिजन प्रमुख मिश्राले खडेरी र हेरचाहको अभावले रुखहरू मर्नु दुःखद भएको बताउँदै वृक्षारोपणमा संलग्न नर्सरी सञ्चालक, अधिकृत र अन्य सम्बन्धित निकायलाई सुकाएका रुख फेर्न तथा मर्मतसंभारमा ध्यान दिन कडा चेतावनी दिएका छन्।
मिश्राका अनुसार बसबिटा क्षेत्रको कमला नहर पेटिकालगायतका ठाउँहरूमा ११ सय बढी विभिन्न जातका बिरुवा लगाइएको छ। धनगढीमाई नगरपालिका–१० स्थित चन्द्र प्रकाश रायद्वारा सञ्चालित नर्सरीमा बन डिभिजन कार्यालयको बजेटमा ६२ हजार बिरुवा उत्पादन गरिएको छ। तीमध्ये टाँकी, गोलमोहर, अर्जुन, टिक, बकाइन, वरो, अमला, इम्ली, बैर, जामुन, गमहाईर र नीम प्रजातिका रुखहरू स्थानीयवासीलाई निःशुल्क वितरण गरिने नर्सरी सञ्चालक रायले जानकारी गराए।
यस्तै, बन्दिपुरस्थित नर्सरीमा अधिकृत रामकेवल यादवको नेतृत्वमा २ वर्षे योजनाअन्तर्गत २१ लाख ८६ हजार बजेटमा ९९ हजार ५ सय बिरुवा उत्पादन गरिएको छ। यी बिरुवाहरू पनि निःशुल्क वितरण गरिने योजना रहेको छ। जनमत पार्टीका जिल्ला संयोजक विनोद यादवले वृक्षारोपण अभियान जलवायु सन्तुलन, जमिनमा पानीको पुनर्भरण तथा प्राकृतिक स्रोत संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उहाँले सिरहामा पछिल्लो समय जङ्गल फडानी र अतिक्रमण बढ्दै गएकाले त्यसले खडेरीको समस्या निम्त्याएको उल्लेख गर्दै वृक्षारोपण अभियानले वातावरण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। यसै क्रममा मिर्चैयास्थित हिल पार्कमा सामुदायिक बन समूहको सहकार्यमा ३५ लाख भौतिक पूर्वाधार तथा ३५ लाख भूजलाधार बजेटमार्फत गेट, मन्दिर, बाटो र तारजाल निर्माण कार्य सम्पन्न गरिएको जानकारी अनुगमन टोलीलाई गराइएको छ।
बन्दिपुरको उत्तराहिनी क्षेत्रमा निर्माणाधीन उत्तराहिनी चिल्ड्रेन पार्कसम्बन्धी प्रगतिबारे पनि टोलीले जानकारी लिएको छ। पार्कमा वातावरण मन्त्रालयबाट ४४ लाख बजेट तथा स्थानीय श्रमदानबाट ३० लाख बराबरको लगानीमा कम्पाउन्ड, ग्रिल, चौतारा, कुर्सी, गोलमोहरका रुखलगायत संरचना निर्माण कार्य भइरहेको छ। पार्क निर्माण समितिका अध्यक्ष निलबहादुर राउतका अनुसार, पार्कको उद्देश्य साउन तथा वर्षैभरि पर्यटन प्रवर्द्धन गर्नुका साथै वातावरण संरक्षण गर्नु हो।
अनुगमन टोलीका सहभागीहरूले वृक्षारोपण अभियान र नर्सरी व्यवस्थापनले सिरहाको वातावरण संरक्षण, जलवायु सुधार तथा स्थानीय विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। सहभागीहरूको धारणा अनुसार यस्तो प्रयासले सिरहा जिल्लालाई हरियालीयुक्त बनाउनेतर्फ सशक्त सन्देश प्रवाह भएको छ। डिभिजन प्रमुख मिश्राले अभियान अझ प्रभावकारी बनाउन नियमित अनुगमन, आवश्यक परेमा पुनः रोपाइँ तथा हरित विकास रणनीतिअनुसार कार्यक्रमहरू सञ्चालन गरिने जानकारी गराएका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic