Siraha Times
ताजा समाचार

लहान तरकारी बजारमा पानीको समस्या समाधान, नगरप्रमुख चौधरीद्वारा दुईवटा धारा जडान

  • असार ३०, २०८२
  • १६७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाल बिहारी यादव लहान, अषाढ ३० । लहान नगरपालिका–१ मा अवस्थित तरकारी बजार क्षेत्रमा व्यापारीहरू र सेवाग्राहीलाई परेको पानी अभाव अन्त्य गर्न लहान नगरप्रमुख महेश प्रसाद चौधरीले दुईवटा नयाँ पानी धारा जडान गराएका छन्। सोमबार असार २९ गते स्थानीय समाजसेवीहरूको अगुवाइमा उक्त धारा जडान गरिएको हो।

सिंगराही मटिअर्वा कम्प्लेक्स भवनको पूर्वपट्टि एकवटा र सोही भवनको उत्तरपश्चिमपट्टि अर्को गरी दुई स्थानमा पानी धारा राखिएको छ। यी धाराबाट तरकारी बजारका व्यापारीहरू, सेवाग्राही तथा नजिकै रहेको हनुमान मन्दिर परिसरका सरसफाइ तथा पूजाआजा कार्यमा संलग्न व्यक्तिहरू लाभान्वित हुनेछन्।

स्थानीय समाजसेवी विश्वम्भर दासका अनुसार, लामो समयदेखि पानी अभावका कारण व्यापारी र स्थानीयवासीहरूलाई दैनिक कार्य सञ्चालनमा समस्या हुँदै आएको थियो। “तरकारी बजारमा पानी नभएकाले सरसफाइ गर्न, मन्दिरमा पूजाआजा गर्न कठिन भइरहेको थियो। हामीले नगरप्रमुख महेश चौधरीलाई आग्रह गरेका थियौं। उहाँले तुरुन्तै हाम्रो कुरा सुन्नुभयो र पानीको धारा जडान गरिदिनुभयो,” दासले बताए।

धारा जडान कार्य समाजसेवी दासकै पहलमा अर्का समाजसेवी सन्तोष थापाको सहयोगमा सम्पन्न भएको हो। स्थानीय हरिदत्त दासले धाराको प्रयोगबाट धेरै व्यक्तिहरू लाभान्वित हुने आशा व्यक्त गरे। “पानीकै कारण यहाँ सधैं समस्या थियो। अहिले समस्या समाधान भएपछि सबै खुशी भएका छन्,” उनले बताए। समर्सियल बोर्डिङ स्कुलबाट तानिएको पानी कम्प्लेक्स भवनमाथि रहेको ट्यांकीमा भण्डारण गरी सोही ट्यांकीबाट नयाँ धारामा पानी प्रवाह गरिने व्यवस्था गरिएको छ। समाजसेवी दासका अनुसार, ट्यांकी सफा गरेर आवश्यक औषधि हाल्ने व्यवस्था समेत गरिएको छ, जसले गर्दा पानी पिउन योग्य हुनेछ।

नगरप्रमुख चौधरीले लहान बजार क्षेत्रलाई व्यवस्थित बनाउन विभिन्न योजना अघि बढाइरहेका छन्। “तरकारी बजारमा पानीको समस्या समाधान गर्नु हाम्रो दायित्व हो। व्यापारी, स्थानीय तथा मन्दिरका भक्तजनलाई सजिलो होस् भन्ने उद्देश्यले यो कार्य गरिएको हो,” मेयर चौधरीले बताए। स्थानीय बासिन्दा तथा व्यवसायीहरू नगरप्रमुख चौधरी र समाजसेवीहरूको यो काम प्रति आभार व्यक्त गर्दै लहान नगरपालिकाको ध्यान अरु समस्यातर्फ समेत जानुपर्ने सुझाव दिएका छन्। तरकारी बजार क्षेत्र स्वच्छ र व्यवस्थित होस् भन्ने सबैको चाहना रहेको उनीहरू बताउँछन्।

यस कार्यसँगै लहान बजार क्षेत्रलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन स्थानीय तह र समाजसेवीहरूको सहकार्यमा आगामी दिनहरूमा थप योजना कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१