लहान असार १० । बलान बिहुल गाउँपालिकाको १२औं गाउँसभा सोमबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त गाउँसभामा अध्यक्ष खेमचन्द्र यादवले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रुपैयाँ ५४ करोड ३८ लाख २८ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। अध्यक्ष यादवका अनुसार यस वर्षको बजेटले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ। "हामी कृषिमा आत्मनिर्भरता, शिक्षामा गुणस्तर र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौँ," अध्यक्ष यादवले आफ्नो सम्बोधनमा भन्नुभयो। कृषि क्षेत्रमा यान्त्रिककरण, सिँचाइ, मल–बिउको सहज आपूर्ति, सहकारीमार्फत व्यवसायिक खेती प्रोत्साहन, र आधुनिक कृषि तालिमका कार्यक्रम समावेश गरिएका छन्।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार, शिक्षक अभाव समाधान, डिजिटल शिक्षालाई प्रोत्साहन र छात्रवृत्तिमा वृद्धि गरिनेछ। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, निःशुल्क औषधि तथा परीक्षण सेवा विस्तार, महिला तथा बालबालिकाको पोषण कार्यक्रमलाई प्राथमिकता दिइएको छ। अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको बजेट अनुसार: आन्तरिक स्रोतबाट ६ करोड २५ लाख सङ्घीय सरकारबाट ३२ करोड ५० लाख प्रदेश सरकारबाट १० करोड ७५ लाख अन्य परियोजनाबाट ५ करोड ८८ लाख २८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। कुल बजेटमध्ये पूँजीगत खर्चतर्फ ठूलो अंश छुट्याइएको छ।

विकास निर्माण, पूर्वाधार विस्तार, कृषिआधारित उद्यम तथा सामाजिक सुरक्षा कार्यक्रमहरूप्रति बजेट केन्द्रित हुने बताइएको छ। गाउँसभामा सहभागी भएका विभिन्न वडाका वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य, विपक्षी दलका प्रतिनिधिहरूले पनि बजेटको स्वागत गर्दै शिक्षा र स्वास्थ्यमा अझ बढी लगानीको माग गरेका थिए। कतिपयले बजेट यथार्थपरक भएको भए पनि खर्च कार्यान्वयन पक्षमा सुधार आवश्यक रहेको धारणा राखे। गाउँपालिकाले यो आर्थिक वर्षभित्र स्थानीय सडक स्तरोन्नति, नारी तथा किशोरी सशक्तिकरण, डिजिटल पालिका प्रणालीको कार्यान्वयन, र स्वच्छ खानेपानी पहुँच सुनिश्चित गर्ने स्पष्ट योजना अघि सारेको छ। गाउँसभा समापन गर्दै अध्यक्ष यादवले पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई आधार मानेर विकासको गति अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो।
प्रतिक्रिया दिनुहोस
भगवानपुर सबस्टेसन बाट विद्युत् आपूर्तिमा बारम्बार अवरोध, कमसल उपकरण र हस्तान्तरण नहुँदा स्थानीय आक्रोशित
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic