Siraha Times
ताजा समाचार

सुनचाँदी व्यवसायीले गरे दुई दिन व्यापार बन्द, प्रशासनलाई बुझाए पसलको साँचो

  • जेठ २९, २०८२
  • १३२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ २९ । सुनचाँदी व्यवसायी महासंघले आफ्ना विभिन्न मागहरूसहित सरकारलाई दबाब दिन दुई दिनका लागि सम्पूर्ण सुनचाँदी पसलहरु बन्द गरेका छन्। बिहीबार र शुक्रबार (जेठ २९ र ३० गते) सिरहा, लहान, गोलबजार लगायतका स्थानहरूमा सबै सुनचाँदी पसल पूर्ण रूपमा बन्द गरिएको छ। महासंघका केन्द्रीय सदस्य विकास सारदाका अनुसार सुनचाँदी व्यवसायीहरूका तर्फबाट उठाइएका प्रमुख मागहरूमा सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, बहुमूल्य हिरा तथा रत्नमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाइनुपर्ने, सुनको भन्सार दर ६ प्रतिशतमै सीमित गरिनुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा कार्यान्वयन योग्य निर्देशिका निर्माण गरिनुपर्ने रहेका छन्।

"हामीले सिरहा जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) विश्वप्रकाश अर्यालमार्फत आफ्ना मागहरू सरकारसम्म पुर्याएका छौं," सारदाले बताए। “यदि यी मागहरू समयमा सम्बोधन भएनन् भने हामी थप संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुनेछौं,” उनले चेतावनी दिए। व्यवसायीहरूले आन्दोलनलाई थप जिम्मेवार र व्यवस्थित बनाउँदै आफ्ना पसलका साँचाहरू समेत जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्। यस कार्यद्वारा व्यवसायीहरूले प्रशासनलाई आफ्ना आन्दोलनको गम्भीरता देखाएका छन्।

सुनचाँदी व्यवसायी महासंघले आन्दोलनको अर्को चरणमा पुग्नुअघि सरकारसँग वार्ता गर्नका लागि द्वार खुला राखेको जनाएको छ। तर, मागहरू सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलन अझ चर्किने चेतावनी पनि दिइएको छ। स्थानीय बजारमा दुई दिन पसल बन्द हुँदा उपभोक्ताहरू समेत प्रभावित भएका छन्। विवाह–व्रतबन्ध लगायतका पारिवारिक कार्यक्रमका लागि गहना किन्न चाहनेहरू पसल बन्द हुँदा निराश हुनुपरेको छ। सरकारले हालसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। व्यवसायीहरू भने समस्याको समाधान खोज्न सरकारसँग तत्काल वार्ता हुनुपर्ने माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१