Siraha Times
ताजा समाचार

यातायात कलैयाका प्रमुख दासले बिहिवार २७ लाखको लाईसेन्स बेचेको आरोप, अख्तियार मौन !

  • जेठ २३, २०८२
  • १३२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २३ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराले बिहिवार लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा सहभागी परीक्षार्थीहरु सँग व्यापक असुली गरेको समाचार प्राप्त हुन आएको छ । बिहिवार भएको वर्ग A,K,B,C,C1 र मेशिनरीको परीक्षार्थीहरु सँग कार्यालय प्रमुख अविन्दर दासले आफ्ना बिचौलियाहरु मार्फत असुली गराई सेटिङ्गमा रहेका परीक्षार्थीहरुलाई पास गराएको समाचार स्रोतले जनाएको छ । 

विवादस्पद कार्यशैलीका कारण बदनामी कमाएका प्रमुख दासले वीरगंज र गौर कार्यालयमा कार्यरत्त रहंदा उनले भ्रष्टाचारको आरोप खेपेका थिए । यातायात बारामा लिखित दिने सेटिङ्ग भएका परीक्षार्थीहरुलाई ५÷६ वटामा संकेत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि कर्मचारीहरुले नै संकेत चिन्ह लगाई पास गराउने गरेको स्रोतको कथन रहेको छ । सो कार्यालयमा मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार, जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् ।

प्रमुख दासले परिचालन गरेको बिचौलियाहरु कर्मचारीमा सत्यनारायण साह, रघुनन्दन साह, कलाम हुसैन, जिवरमण पौडेल, संतोष सिंह लगायत रहेका छन् भने अन्य बाहिरी व्यक्तिहरुमा भिखारी दास, सिकिन्दर दास लगायत रहेको स्रोतको कथन रहेको छ । प्रमुख अविन्दर दासको दाहिने हातको रुपमा चिनिने सिकिन्दर दास विशेष हर्ताकर्ताको रुपमा रहेको बुझिएको छ । प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै लिने गरेको बताईन्छ ।

२०८१ माघ ९ गते बारामा आएका अविन्दर दासले करिब चार महिनाको अवधिमा आफ्नो बिचौलियाहरु मार्फत लाईसेन्स विक्री गर्दै करोडौं असुलेको आरोप छ भने बिहिवार २२ गते भएको लिखितका परीक्षार्थीहरु सँग करिब २७ लाख असुली उत्तिर्ण गराएको समाचार स्रोतको भनाई रहेको छ । बिहिवार २२ गतेको परीक्षामा २२७ जना उत्तिर्ण भएको परिणाम सार्वजनिक गरिए पनि सो मध्ये ४५ जना आ–आफ्ना योग्यता क्षमताले पास भएका हुन् भने १८२ जना सँग रकम असुलेको भरमा पास गराईएको ती स्रोतको कथन रहेको छ । लिखितमा पास गराईएका परीक्षार्थीहरुलाई ट्राफिक प्रहरीको सहमतिमा २३ गते हुने ट्रायल परीक्षामा जसरी भए पनि पास गराउने योजनामा प्रमुख दास रहेको स्रोत बताउंदछ ।

भ्रष्टाचार गरी असुलिएको सो रकमबाट प्रमुख दासको भागमा २० प्रतिशत, ट्राफिक प्रहरी निरिक्षक दिपक केसीको भागमा २० प्रतिशत, ट्रायल प्रमुख र त्यसमा खटिने कर्मचारीहरुको भागमा २० प्रतिशत, मेकानिकल सुपरभाईजर संतोष सिंहको भागमा १५ प्रतिशत र विविधमा २५ प्रतिशत छुटयाउने गरिएको स्रोतले जनाएको छ । प्रहरी निरीक्षक केसीको भागबाट ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाललाई जाने गरेको छ भने विविधमा छुटयाईएको २५ प्रतिशत रकमबाट जिल्ला प्रशासन कार्यालय बारा, श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका सचिव युवराज अधिकारी, मन्त्री कौशल किशोर राय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख सचिव मदन भुजेल तथा मुख्यमन्त्री सतिश कुमार सिंह समेतलाई हैसियत अनुसारको भाग जाने गरेको कार्यालयमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

कार्यालयमा भईरहेको अनियमित्त असुली र बिहिवार भएको परीक्षामा कति जना उत्तिर्ण र कति अनुत्तिर्णको सन्दर्भमा सूचना अधिकारी जिवरमण पौडेललाई पटक–पटक मोबाईल फोन सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहे पछि कार्यालय प्रमुख अविन्दर दासलाई सम्पर्क गर्दा मलाई बुझनु पर्छ, म यहाँ छैन, जिवरमण सरलाई तपाई सँग कुरा गर्न भनि दिन्छु भन्दै प्रश्नको जवाफ दिनबाट पन्छिन खोजे ।

सूचना अधिकारी जिवरमण पौडेलको फोन नआए पछि पुनः पौडेल र प्रमुख दासमा मोबाईल फोन सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् । यातायात व्यवस्था कार्यालय कलैयामा सुशासनको अनुभुति दिलाउनका लागि भ्रष्टाचार सन्दर्भमा उजागर गरिरहंदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा कलैयाको भ्रष्टाचार रकमबाट कही भाग त जाने गरेको छैन ? भनि सचेत नागरिकहरुले आशंका गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१