Siraha Times
ताजा समाचार

धनगडीमाई १३ मा कालोपत्रे सडक निर्माण तीव्र गतिमा : ६.६ किलोमिटरको सडक २० करोडको लागतमा निर्माणाधीन

  • जेठ २१, २०८२
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान,जेठ २१ । धनगडीमाई नगरपालिका–१३ को ढुंगाना टोलदेखि सर्रे अम्वाससम्मको सडक कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। करीब २० करोड रुपैयाँको लागतमा निर्माण भइरहेको यो सडक डिभिजन सडक कार्यालय लहानको आयोजनामा निर्माणाधीन छ। कुल ६.६ किलोमिटर लम्बाइको उक्त सडक निर्माण कार्यले ती क्षेत्रका स्थानीयवासीको दैनन्दिन जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

सडक निर्माणमा साह निर्माण सेवा, मकालु कन्ट्रक्सन, र जय भवानी कन्ट्रक्सन गरी तीन वटा निर्माण कम्पनीको संलग्नता रहेको छ। तीमध्ये साह निर्माण सेवाको भूमिकालाई सबैभन्दा महत्त्वपूर्ण रहेको साइड इन्जिनियर टेकनाथ महतोले जानकारी दिए। उनका अनुसार हालसम्म १ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा काम तीव्र गतिमा अगाडि बढिरहेको छ।

डिभिजन सडक कार्यालयका अनुसार निर्माणाधीन सडकको सोल्डर दुवैतर्फ डेढ–डेढ मिटर चौडाइको हुनेछ भने मुख्य पिच भाग ७ मिटरको हुनेछ। सडकको मोटाइ ४ सेन्टिमिटर तोकिएको छ। कालोपत्रेमा भिजि–३० ग्रेडको अलकत्रा प्रयोग गरिएको छ, जसले सडकको मजबुती र दीर्घायुक्ता सुनिश्चित गर्ने विश्वास लिइएको छ।

यो सडक निर्माण कार्य पोर साल (गत वर्ष) नै सम्पन्न गर्ने योजना रहेको थियो। तर बजेट अभाव तथा स्थानीयवासीले निर्माण सामग्रीमा गुणस्तरको गुनासो उठाएका कारण केही समयका लागि काम रोकिएको थियो। इन्जिनियर महतोका अनुसार निर्माण सामग्रीको परीक्षणका क्रममा ती गुनासोहरूमा कुनै पनि किसिमको सत्यता नदेखिएको पुष्टि भएपछि पुनः निर्माण कार्य सुरु गरिएको हो।

सडक निर्माणको पुनः थालनीसँगै स्थानीयवासी खुसी भएका छन्। वडा नं. १३ का वडाध्यक्ष सुर्यमान तामाङका अनुसार यो सडक निर्माणका लागि धेरै पटक पहल गर्नु परेको थियो। उनले भने, "हामीले सडकका लागि निरन्तर दबाब दिँदै आएका थियौं। अब निर्माण कार्य सुरु भएको देख्दा हामी मात्र होइन, सम्पूर्ण स्थानीयवासी हर्षित भएका छौं।"

ठेक्कामा तोकिएको म्याद अनुसार चैत्र मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समयमै कार्य सम्पन्न हुन नसकेकोले म्याद भदौ महिनासम्मका लागि थप गरिएको छ। सम्झौता अनुसार सो अवधिसम्ममा सम्पूर्ण सडक निर्माण तथा रंगरोगन कार्य सम्पन्न गरी स्थानीय सरकारलाई जिम्मा दिने तयारी भइरहेको इन्जिनियर महतोले जानकारी दिए।

यो आयोजनाबाट धनगडीमाई क्षेत्रको यातायात सहज मात्र हुने छैन, ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। स्थानीयको अनुसार सडक बनेपछि यहाँका कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज हुनेछ भने विद्यार्थी, बिरामी तथा अन्य दैनिक यात्रुहरूलाई पनि राहत पुग्नेछ।

हाल निर्माण कार्यमा तीव्रता दिइएको छ र डिभिजन सडक कार्यालयको अनुगमनमा गुणस्तरीय कार्य भइरहेको जनाइएको छ। विस्तृत इष्टिमेट तथा प्राविधिक विवरणबारे सडक कार्यालयले नै औपचारिक जानकारी दिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१