रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरूको सहभागितामा आयोजित "विद्यालय सुधार योजना (SIP) निर्माण तथा अद्यावधिक कार्यशाला गोष्ठी" आज एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको गाउँपालिका अध्यक्ष सचिवालयले जानकारी दिएको छ ।
उक्त गोष्ठी नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यशालाको आयोजना गाउँपालिका अन्तर्गत रहेको जनता नमूना प्रा.धा.मा.वि. सोनबर्षामा गरिएको थियो।
कार्यक्रमको उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै स्थानीय आवश्यकता, स्रोत साधन, भौतिक पूर्वाधार, सिकाइको वातावरण, र शिक्षक क्षमता विकासमा केन्द्रित रहेर विद्यालय सुधार योजना निर्माण तथा त्यसको अद्यावधिक प्रक्रिया सुनिश्चित गर्नु रहेको थियो।
गोष्ठीमा सहभागी शिक्षक–शिक्षिकाहरूले आ-आफ्नो विद्यालयको वर्तमान अवस्था, चुनौती र सुधारका उपायहरूबारे समूहगत छलफल तथा प्रस्तुति गरेका थिए। गाउँपालिका शिक्षा शाखाले SIP को महत्व, तर्जुमा प्रक्रिया र कार्यान्वयन रणनीति सम्बन्धमा प्राविधिक मार्गदर्शन प्रदान गरेको थियो।
कार्यक्रमको समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले विद्यालय सुधार योजनालाई व्यवहारमा उतार्न सम्पूर्ण विद्यालय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै योजना तर्जुमा तथा कार्यान्वयनमा पारदर्शिता, समावेशिता र गुणस्तरको मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नवराजपुर गाउँपालिकालाई शिक्षा क्षेत्रको उदाहरणीय नमुना बनाउन स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षा शाखा प्रमुख तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। गोष्ठीले विद्यालय सुधार योजनालाई व्यवहारिक बनाउँदै गुणस्तरीय शिक्षाको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic