रविलाई कांग्रेसको प्रस्ताव : काठमाडौं २ बाट सांसद उठाउने, जितेपछि मन्त्री

  • असार ६, २०७९
  • ६२४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । सक्रिय पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजनाबारे औपचारिक घोषणा गर्दैछन् । उनले काठमाडौंबाट प्रतिनिधिसभा चुनाव लड्ने निश्चित भए पनि कसरी लड्ने भन्ने निधो भइसकेको छैन ।

अहिले क्रियाशील पार्टीमा लाग्ने, नयाँ पार्टी खोल्ने वा स्वतन्त्र निर्वाचन लड्ने तीन विकल्प रविसँग छन् । निकटस्थहरुसँग रविले असार ७ गतेको कार्यक्रमबाटै आफ्नो राजनीतिक यात्राको प्रारुप सार्वजनिक गर्ने बताउँदै आएका छन् । यसबीचमा उनले विभिन्न दलका नेता, पेशाकर्मी, सामाजिक अभियन्तालगायतसँग छलफल गरिरहेका छन् ।

रविले आफूलाई धेरै पार्टीहरुले अफर गरिरहेको बताएका छन् । खासगरी नेपाली कांग्रेस र राप्रपाका नेताहरुसँग उनी सघन संवादमा रहेको बुझिएको छ ।

कांग्रेसको यस्तो प्रस्ताव

नेपाली कांग्रेसका केही नेताहरुले रविसँग विभिन्न चरणमा छलफल गरेका छन् । रविले वचन नदिए पनि कांग्रेसले उनलाई ‘सांसद हुँदै मन्त्री बनाउनेसम्म’ को प्रस्ताव गरेको स्रोतले बतायो ।

विश्वस्त स्रोतका अनुसार कांग्रेसले रविको सार्वजनिक व्यक्तित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धताका आधारमा यस्तो प्रस्ताव गरेको हो । ‘सार्वजनिक जीवनमा महत्वपूर्ण काम गरेका र समाजमा छवि निर्माण गरेका व्यक्तित्वहरुलाई मूलधारको पार्टीले महत्व दिनुपर्छ । त्यसैले कांग्रेसको शीर्ष तहमै छलफल गरेर हामीले उहाँसँग प्रारम्भिक छलफल गरेका छौं’, एक कांग्रेस नेताले भने ।

ती नेताका अनुसार रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ । रविले ‘काम गर्ने भूमिका’ खोजेको निष्कर्षसहित मन्त्री नै बनाउनेसम्मको प्रतिबद्धता जनाउन कांग्रेसका केही शीर्ष नेता सकारात्मक देखिन्छन् ।

‘काठमाडौंको २ नम्बर क्षेत्रमा सांसदको उम्मेदवार बनाउने र जितेपछि मन्त्री बनाउने प्रस्ताव कांग्रेसका केही नेताहरुले राख्नुभएको छ । अहिले नै उहाँले कुनै प्रतिक्रिया दिनुभएको छैन’, रवि निकट स्रोतले भन्यो ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । यसपटक नेपाल रौतहटबाट निर्वाचन लड्ने सम्भावना छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट दीपक कुइँकेल र प्रतिमा गौतमले प्रतिस्पर्धा गरेका थिए । रविको मतदाता नामावली भने काठमाडौं ३ मा रहेको छ । यही कारण उनी सोही क्षेत्रबाट निर्वाचन लड्न इच्छुक छन् । ‘निर्वाचन क्षेत्र जहाँ पनि हुनसक्छ । डडेल्धुरा, काभ्रे, काठमाडौं जहाँ पनि । उहाँको इच्छा चैं काठमाडौं ३ हो’, रवि निकट स्रोतको भनाइ छ ।

कांग्रेसले भने पाँचदलीय गठबन्धनमै सहमति गराएर माधव नेपाललाई रौतहट छाड्ने गरी नेपालको क्षेत्रमा रविलाई उम्मेदवार बनाउँदा उपयुक्त हुने आँकलन गरेको छ ।‘काठमाडौं २ धेरै कारणले उपयुक्त देखिन्छ । तर, मुख्य कुरा सहयात्राको हो । उहाँ तयार हुँदा अन्य विषयमा पनि कुरा हुनसक्छ’, कांग्रेस नेताको भनाइ छ ।

महानगरको परिणामले कांग्रेस सोच्न बाध्य

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भए । जनतामाझ परिचित अनुहारले स्वतन्त्र वा अन्य पार्टीबाट निर्वाचन लडेमा काठमाडौंका सबै क्षेत्रमा पार्टीलाई असर पर्ने आँकलन कांग्रेस नेताहरुले गरेका छन् । यही कारण उनीहरु एउटा क्षेत्रमा रविलाई उम्मेदवार बनाएर भए पनि अन्य क्षेत्रमा समेत कांग्रेसको मत जोगाउने रणनीतिमा लागेका हुन् ।

‘कांग्रेसले वाम गठबन्धनविरुद्ध लड्दा पनि काठमाडौंमा चारवटा क्षेत्र जितेको हो । अहिले दसै क्षेत्रमा कांग्रेस बलियो छ । तर, कुनै एक क्षेत्रमा देखिने माहोलले सबैतिरको नतिजा नबिगारोस् भन्नेमा सचेत हुनैपर्छ’, रविसँग संवाद गरेका कांग्रेस नेता भन्छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको महत्व बुझेका व्यक्तिले लोकतान्त्रिक पार्टीप्रति नै आस्था राख्नु स्वाभाविक हुने ती नेताको भनाइ छ ।

के गर्लान् रविले ?

असार ७ गते नै सबै कुरा स्पष्ट पार्ने सार्वजनिक गरेका रविले आफ्नो आगामी यात्राको मोडालिटीबारे संकेतसम्म गरेका छैनन् । आफ्नो राजनीतिक अभियानमा स्वयंसेवकका रुपमा सहयोग गर्न चाहनेलाई आवेदन दिन उनले आह्वान गरेका छन् ।

स्थानीय निर्वाचन सकिएलगत्तै सक्रिय राजनीतिमा होमिने निर्णयका पछाडि आसन्न संसदीय निर्वाचन लड्ने रविको चाहना पनि मुख्य कारक हो । यद्यपि संसदमा पुग्नमात्रै राजनीतिमा आएको सन्देश दिन रवि चाहँदैनन् । त्यसैले निकटस्थहरुसँगको छलफलमा उनले आफू काम गरेर देखाउने ठाउँसम्म पुग्नुपर्ने बताउने गरेका छन् । ग्यालेक्सी टेलिभिजनबाट बिदाइ हुने क्रममा पनि उनले प्रश्न सोध्ने ठाउँमा नभएर उत्तर दिने ठाउँमा जान चाहेको बताएका थिए ।

‘उहाँका सामु स्वतन्त्र लड्ने, दल खोल्ने वा अहिले क्रियाशील दलमा आवद्ध हुने विकल्पहरु छन् । उहाँ पफर्मेन्स दिने ठाउँसम्मै पुग्न चाहनुहुन्छ । त्यसका लागि छलफल, परामर्श र योजना निर्माणको क्रम जारी छ’, रविको अभियानमा संलग्नले भने ।

 

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१